रावण चरित्र भएकाहरुले दशैं भत्ताका नाममा राज्यको दोहन गर्दैछन् !

40

-रिदेन महर्जन

हुनत सांसदहरूले पाएको दशैं भत्ता फिर्ता गर्ने र त्यो रकमलाई कोरोना कोषमा दाखिला गर्ने सरकारले जानकारी गराइसकेको छ । तर पनि यो सरकारी जानकारी जनताका लागि विश्वशनीय भइरहेको छैन । आर्थिक संकटको अवस्था बाटमा गुर्जिरहेका नेपाली जनताका बीचमा आइपुगेको दशैं  पर्व खासै उत्साहजनक देखिएको छैन । जनताले दशैं आ—आफ्नै घरभित्र बसेर मनाउनुपर्ने बाध्यता भइरहेको अवस्थामा सरकारबाट पनि सोही बमोजिमको सूचना सार्वजनिक भइरहेको छ ।

जनतालाई घरभित्र बसेर मनाउनु पर्ने दशैं सांसदहरूलाई भत्ताको व्यवस्थासहित भव्यरूपमा मनाउने व्यवस्था सरकारले गरेको पाउँदा जनताको मन दुख्नु स्वाभाविक हो। गत असोज २६ गते संघीय संसद सचिवालयले सांसदहरूको बैंक खातामा दसैं भत्ता हालिएको खवर सार्वजनिक भयो। सांसदहरूको मात्र नभएर प्रधानमन्त्री र मन्त्रीहरूले पनि दसैं भत्ता लिने निर्णय गरेको समाचार विभिन्न संचार माध्यमहरूमा भाइरलै बन्यो। यस्तो महामारीको बखतमा जनताको दैनिक गुजारा गर्न समेत कठिनाइ भएको समयमा आम नागरिकले प्रश्न गर्लान् भनेर सरकारले सोच्न नसक्नु आश्चर्यजनक हो। सरकार जनताप्रति कति पनि जिम्मेवार छैन भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण देशको अर्थतन्त्र डामाडोल भइरहेको समयमा दशैं भत्ता नबुझ्दा के नै आफ्नो जीवनमा असर पर्ला भनेर सांसदहरूले पनि सोच्नु पर्दथ्यो। सांसदहरूले संसदबाट नेपाली जनता र नेपाल राष्ट्रको के काम गरेका छन् ? यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो। सांसदहरूले गरिरहेका काम भनेको आफ्नो भत्ता बढाउने बाहेक अरु कुनै पनि जनताका लागि उपलब्धीमूलक काम गर्न सकेका छैनन्।

संसदको उपयोग गर्ने भनेर कम्युनिष्टहरू संसदमा प्रवेश गरेका हुन्। तर संसदले नै कम्युनिष्ट सांसदहरूलाई नै प्रयोग गर्ने अवस्था देखिएको छ । इतिहास केलाउने हो भने सांसदहरूले दसैं भत्ता मात्र हैन पजेरो गाडी खरिद गर्ने सुविधा पनि लिएका हुन्।  सुत्केरी भत्ता पनि पुरुष सांसदहरूले लिएको हाम्रो देशको संसदको इतिहास छ । ती विकृतिजन्य इतिहासहरूलाई सच्याएर नयाँ जनपक्षीय परम्परा बसाल्ने की पूरानौ संस्कारलाई दोहा¥याउने ? यो प्रश्न कम्युनिष्ट सांसदहरूका लागि महत्वपूर्ण छ ।

आज भन्दा दुई वर्ष अगाडिसम्म पनि संघीय सांसद र मन्त्रीले दसैं भत्ता लिने परम्परा थिएन । वास्तवमा भन्ने हो भने कम्युनिष्टहरूले धर्मलाई अफिम सम्झिने आधारमा दशैं पर्वको कुनै सरोकार नहुनु पर्ने हो। दशैं दुई देशका राजाहरूको युद्धको परिणाम हो। रामले रावणलाई मारेको खुशीयालीको दिनको रूपमा दशैं पर्व मनाउने चलन छ । नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने नवदुर्गाको पूजा आराधना गरेर दशैं पर्व मनाउने गरिन्छ । चाहे जुनसुकै कारणले दशैं पर्व मनाइएको भए पनि त्यसमा हिन्दु धर्मको संस्कार जोडिएको देखिन्छ । त्यसैले कम्युनिष्ट सांसदहरूलाई यो पर्वको खासै महत्व नहुनु पर्ने हो। जव पर्वको नै महत्व हुँदैन भने त्यो पर्व मनाउनुका लागि व्ययभार राज्यलाई व्यहोर्नु पर्ने आवश्यक्ता किन ?

नेपालमा अहिले न त रामको जस्तो आदर्शवान व्यक्तिहरूको शासन रहेको छ न त नारी शक्तिको सम्मान नै भइरहेको अवस्था छ । दशैं पर्वले लक्षित गरेको रामको विजय वा नारी शक्तिको पूजा त्यसकारण पनि व्यर्थ लाग्छ । नारीहरू बलात्कृत भइरहेका छन्। नारीहरू घरघरमा हिंसाको शिकार भइरहेका छन्। तर नवदुर्गाका नाममा पूजा गर्ने परम्पराबाट हाम्रो नेपाली हिन्दु समाज अलग हुन सकिरहेको छैन । त्यसैगरी शासकीय सवालमा कुरा गर्ने हो भने नेपालको वर्तमान सरकारको कार्यशैली रामको जस्तो नभएर राक्षसको उपमा दिइएको रावणको जस्तो चरित्र देखिन्छ । जनताप्रति उदासिन हुने सवालमा अहिलेको केपी ओली नेतृत्वको सरकार जति आलोचना गर्न लायक सरकार नेपालको इतिहासमा महशुस गर्न सकिदैन । त्यसैले यो दशैं पर्व नेपाली हिन्दु संस्कार अनुसार व्यर्थ लाग्दछ ।

नेपालका सांसदहरूलाई दशैं भत्ता लिनु नैतिक्ताले दिदैनथ्यो। तैपनि उनीहरूले गत बर्षको बजेट भाषणमा कर्मचारीहरूको तलब बढ्यो तर हाम्रो सांसद र मन्त्रीको किन बढाइएन भनेर प्रश्न उठाइएपछि सांसद र मन्त्रीहरूको भत्ताको व्यवस्था गरिएको हुन सक्दछ । ०७६ भदौ ३१ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले सांसद र मन्त्रीको तलब १८ प्रतिशले वृद्धि गर्ने र चाडपर्व भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। जनतालाई करको भार थोपरेर सांसद र मन्त्रीहरूको भत्ता बढाउने कामलाई जनपक्षीय भन्न मिल्दैन । यस्तो काम रावण चरित्र हो।

यो विषयमा पार्टीको आदर्श अनुरूप चल्न चाहने हो भने डबल नेकपाका अर्का अध्यक्ष ।।।प्रचण्ड’ले आन्तरिक सर्कुलर जारी गरेर दशैं भत्ता परम्पराको अन्त्य सक्दथे। तर उनी अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा परे वा के भयो ? अरुले भन्न सकिने विषय पनि भएन । वर्ग संघर्षका नाममा मान्छेका टाउका काटेर राजनीतिको प्रारम्भ गरेका व्यक्ति केपी ओली प्रधानमन्त्री भएको हाम्रो दश वर्षे जनयुद्धको आतंकपूर्ण वातावरणबाट राजनीतिक व्यक्तित्व बनाएका प्रचण्डले कार्यकारी हैसियतमा अध्यक्षता गरेको सत्ताशीन पार्टी डबल नेकपा हिन्दु धर्मको विरोध गर्दा गर्दै हिन्दु धर्म भित्रकै विकृतिहरूको रक्षक बन्नका लागि दशैं भत्ताको व्यवस्था गरेर नांगिएको छ । यस्तो चरित्रलाई रावण चरित्र भन्न सकिन्छ । रावण चरित्र भएकाहरूले दशैं पर्व मनाउनुको पनि कुनै अर्थ रहदैन । –  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here