पाल्पाकाे तानसेनमा रहेको कारागारमा कोरोना जोखिम

74

पाल्पा – जिल्लाको सदरमुकाम तानसेनमा रहेको पाल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन्। उनीहरू न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना गर्न पाएका छैनन्। करिव १७५ क्षमता रहेको बन्दी गृहमा २२१ जनालाई राखिएको छ। यहाँको पुरूष सुधार गृहमा आठ वटा कोठा छन्। साँघुरा कोठा भएकाले कम्तीमा ३५ जना एउटा कोठामा बस्दै आएको कारागारका सूचना अधिकारी गणेश कुमार गैरेले जनाए । उनीहरू खाट एक ठाउँ जोडेर सुत्न बाध्य छन्।

‘अहिलेसम्म कोरोनाको संक्रमण छैन,’ सिनियर अहेब समेत रहेका गैरेले भने, ‘जोखिम भने उत्तिकै छ। कारागारमा कोरोना भाइरस फैलिए बचाउन सकिने अवस्था छैन।’

उनका अनुसार चार महिनाअघि प्रतिनिधिमुलक रुपमा स्वाब संकलन गरेर कैदीबन्दीको पिसिआर परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पछिल्लो समयमा भने परीक्षण नै भएको छैन। केहीलाई सामान्य रुघाकोकी र ज्वरो आएको अवस्था छ। मौसमी बिरामी हुनसक्ने भएकाले सामान्य औषधि चलाउदै आएको गैरेले बताए।कोठाभित्रको बसाइ साँघुरो भए पनि कोरोनाबाट सचेत रहेको कारागार प्रमुख भक्तिसरा रानाले बताइन्। अदालतमा हाजिर गराउँदा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर लैजाने गरेको उनको भनाइ छ।

‘मास्क, सेनिटाइजर, ग्लोब्स प्रयोग गरेर लैजान्छांै’ उनले भनिन्, ‘नयाँ कैदीबन्दीलाई १४ दिन छुट्टै क्वारेन्टाइनमा राख्छौं। ती व्यक्तिको स्वास्थ्य अवस्थालाई ख्याल गरेर समूहमा राख्ने गरेका छौं।’ आफन्तसँगको भेटघाटलाई समेत बन्द गरिएको छ। सामान्य बिरामी परे कारागारमा नै चेकजाँच गरेर उपचार गर्दै आएको रानाले सुनाइन्।

बजेट अभावका कारण सरसफाइ र कारागार मर्मतसम्भारमा भने समस्या भएको रानाले गुनासो गरिन्। उनका अनुसार शीर्षक अनुसार बजेट आउने र काम गर्नुपर्ने भएकाले मर्मत सम्भार र सरफाइमा समस्या भएको हो। समयमा उचित सरसरफाइ गर्न नसके विभिन्न रोग फैलिनसक्ने जोखिम छ।

कारागारमा अहिले २७० कैदीबन्दी छन्। जसमध्ये २२१ जना पुरूष र ४९ जना महिला छन्। यस्तै, एक नाबालिकासहित ६ जना आश्रित नाबालक बस्दै आएका छन्। एक जना सुत्केरी, एक गर्भवती महिला रहेको प्रमुख रानाले बताइन्। यहाँका करिब १५ जना कैदीबन्दी दीर्घरोगी छन्। उनीहरू मधुमेह, उच्च रक्तचाप, मानसिक बिरामी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here