सत्ताको संवेदनहीनता र विरोधीका विच्छिन्न आन्दोलनहरु !

15

– नारायण शर्मा

सत्ता शक्तिको श्रोत हो, शक्ति अहङ्कारको मूल र स्वार्थपूर्तिको साधन हो ! अहङ्कार अन्धोपनाको कारण हो र स्वार्थान्धता पनि बहिरोपनालगायत सिङ्गो संवेदनाहीनताको जननी हो ! जब सत्ता वा सत्ताका सर्वोच्च शासक सम्पूर्ण रुपले संवेदनाशून्य हुन्छन्, तब तिनका ज्ञानेन्द्रीय र विचारेन्द्रीय पनि निकम्मा हुन्छन् ! तिनका कर्मेन्द्रीयहरु भने खाली अजिङ्गर र कुम्भकर्णझैं खानेपिउने, सुत्नेउठ्ने र दिसापिसाव गर्नेमा मात्र सिमित हुन्छन् । तिनका वरिपरि र पेरिफेरिका आसेपासे र गासेदासेहरु अनि चाकरीवाज, चुक्लीवाल, चम्चा र चाप्लुस आदि चकारहरु अरिङ्गालको काममा मात्र आउँछन् ! सत्ताको यो सोंच, शैली र संस्कार सहितको अहङ्कार र हुङ्कारले गर्दा सत्तेतर शक्ति, सांसद, समूह र सरोकारवालाहरु समेत सत्येतर र शक्तेतर हुँदै गएका छन्, जो एउटा दुखद विडम्बना नै हो । आज देसमा जनता मात्र जागरुक, जिम्मेवार र जवाफदेही भै जम्जमाएर उठ्ने तर जनतालाई सचेत, संगठित र संघर्षरत बनाउने राजनीतिक पार्टी र मोर्चाका नायक-गायक र बाहक-धावकहरु भने आफूहरुभित्र रहेका सुधारवादी, संसदवादी र संशोधनवादी संकीर्णता र स्वार्थान्धताका कारण सत्ताविरोधी आन्दोलन नै अलमल , अन्यौल, अस्तव्यस्त र किंकर्तब्यविमूढ बन्न पुगेको छ ! यहाँसम्म कि सत्ताधारी पार्टीकै एउटा शक्तिशाली कार्यकारी अध्यक्ष र भूपू अध्यक्ष/प्रधानमन्त्री भएकाहरु पनि पार्टीमा अत्यधिक बहुमत हुँदा समेत विधिसम्मत बैठक बस्न र सिन्को भाँच्ने निर्णयसम्म गर्न नसक्ने हुनु लाचारीको विषय पनि भएको छ ।यसैगरी सरकार र सदनको प्रतिपक्षी ठान्ने राष्ट्रिय पार्टी पनि सरकारबाट एकाध नियुक्ती र सदनबाट एकाध सभापती प्राप्तिमै तुहिएर कुहिएको अवस्था पनि हालको नेपालको एक अर्को दुखद विडम्बना हो !

विगत एक-डेढ बर्ष अघिदेखी वर्तमान सत्ताले गरिरहेका राष्ट्रियता, जनतन्त्र, जनजीविका, विकास, समृद्धी र समाजवादविरोधी राष्ट्रघाती, भ्रस्टाचारजन्य? स्वैच्छाचारी, निरङ्कुस र शोषण-दमनकारी कृयाकलापहरुले जनतामा असन्तुष्टि र आक्रोशको मात्रा चुलिएको छ र विद्रोहनिम्ति वातावरण विष्फोटक नै बन्न पुगेको छ ! यस विष्फोटक स्थितिमा सलाई कोरेर आगो लगाउने र पुरानो सत्तालाई ध्वस्तखरानी बनाएर जनतालाई क्रान्तिको अनुभूति गराउने भन्ने दर्जनौं दलहरु र सयौं नेताहरुनै जान-अन्जान रुपमा संसदवादको डरलाग्दो दलदलमा फसेका छन् र सत्ताका विरुद्धमा न सरकारभित्रबाट, न सदनभित्रबाट न त सडकबाट नै कुनै निर्णायक संघर्ष गर्न सकेका छन् ! सत्ताको यही गैरजिम्मेवारिता, संवेदनहीनता र निरङ्कुशताकै कारणले त यसप्रकारको संसदीय व्यवस्था, संसद, संसदीय र सहरिया-शान्तिपूर्ण संघर्ष गर्ने दल/पार्टी र नेताहरु सबैका सबै यसरी निरीह र निकम्मा साबित भएका हुन् !

हाम्रो देसमा त अहिले यी दलहरुका आन्दोलनहरु विच्छिन्न मात्र होइन, विचित्रका पनि भएको पाइन्छ ! नेपालमा आज कोही पनि दल र नेता छैन, जस्ले संघर्ष, आन्दोलन, विद्रोह र क्रान्तिको कुरा नगर्ने होस् ! तर ती सबैका आन्दोलनका कुरा कुरैकुरामा सीमित वा बार्गेनिङमा आधारित संघर्षमा वा मात्रात्मक परिवर्तन र प्राप्तिजस्ता झिनामसिना तपसिलका विषयमा मात्र सिमित छन्, कुनै गुणात्मक र निर्णायक आन्दोलनको मुड र मनस्थितिमै छैनन् ! यहाँसम्म कि आफूलाई शान्तिपूर्ण संघर्षको सीमाबाहिर सशस्त्र संघर्षको हिसाबले सोंच्ने र तत्कालै केही गर्ने र देखाइदिने भन्दै हिंडेको विप्लव समूह पनि न शान्तिपूर्ण/सुधारवादी/मात्रात्मक परिवर्तनको आन्दोलन गर्नसक्ने न त क्रान्तिकारी/गुणात्मक/निर्णायक आन्दोलन गर्नसक्ने भएर किंकर्तब्यविमूढको अवस्थामा पुगेको दुखद अवस्था छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय वस्तुगत र आत्मगत अवस्था अनुकूल नभएर आन्दोलन गर्न नसक्नु एउटा कुफरा हो तर यहाँ त वस्तुगत अवस्था अत्यन्तै अनुकूल हुँदा पनि आत्मगत तयारी नगरेर नभएको देखाएर आन्दोलन निर्णायक बनाउन नचाहेको पाइनु विडम्बना भएको छ ! आफूलाई सदाबहार क्रान्तिकारी र मालेमावादी सच्चा कम्युनिस्ट ठान्ने स्थापित हस्तीहरु नै साँच्चिकै खतरा मोलेर आन्दोलन गर्ने मनस्थितिमा नहुनु तर आत्मगत तयारी नपुगेकोले संघर्षलाई निर्णायक बनाउन सकिएन र सकिन्न भन्नू वास्तवमा नेतापंक्तिदेखी कार्यकर्ता- जनतासम्म सबैलाई धोका नै हो ! कुरा, भाषण, वक्तव्य, अपिल, विधान, प्रतिवेदन र लेख-रचनाहरुमा क्रान्तिका चर्का, ठुला र भरमार कुरा गर्ने र इतिहासमा क्रान्तिकारीको रुपमा आफूलाई दर्ज गराउन त खोज्ने तर क्रान्तिका नाममा भूमिगत बन्ने, दुखकष्ट खप्ने, खतरा मोल्ने र त्यागबलिदान गर्न यो वा त्यो बहानामा तयार नहुने रक्तहीन क्रान्तिको यो सोंच क्रान्तिकारी त होइन र हुनैसक्तैन बरु क्रान्तिप्रेमी सोंच भने हो भन्न सकिन्छ ! यसरी व्यवहारमा माखो पनि नमार्ने र कुनै क्षतिबिना नै क्रान्तिकारी बन्न र देखाउन खोज्ने यो चिन्तन र चरित्र अन्ततः, सारत:, व्यवहारत: र परिणामत: छद्म संशोधनवादी अवसरवाद नै हो ! सहर र राजधानीका सुविधासम्पन्न घरहरुमा बसेर, प्राइभेट गाडिमा हुइँकिएर, पाँचतारे होटेलहरुमा आयोजित कार्यक्रमहरुमा भीषण-भाषण ठोकेर, माइतिघर मण्डलामा र शान्तिबाटिकामा सौ-दुई सौ नेता र सोझा कार्यकर्तालाई उफारेर, देसविदेसका अवान्छित व्यक्ती र शक्तिहरुबाट “सहयोग” लिएर वा मेयर, सांसद र मन्त्री लिएर, वर्गीय आन्दोलनको माथी वा समकक्षमा जातीय, क्षेत्रीय, लिंगीय, भाषिक, धार्मिक र सांस्कृतिक आन्दोलनहरुलाई राखेर भावनालाई प्रधान र निर्णायक बनाएर कम्युनिस्ट विद्रोह र क्रान्ति हुने भए आजसम्म भैसक्थ्यो ! कुरा सँधै चर्का र ठुला गर्ने तर संघर्ष चर्काएर ठूला-ठुला गर्नेभन्दा तर्क, वितर्क र कुतर्क गरेर वा कुनै बहानावाजी गरेर दुला-दुला पस्ने यो प्रवृत्ती “धाकधम्की ठुलैठुला, हिंड्न लागे खुट्टै लुला” गर्ने चिन्तन र प्रवृत्तिसित खुबै मेल खान्छ !

अर्को विडम्बना यो पनि छ कि केही आन्दोलनरत राजनीतिक शक्ति र व्यक्तिहरु यतिसम्म संकीर्ण छन् कि संयुक्त आन्दोलनको नामै सुन्न चाहन्नन् र जो चाहन्छन् तिनले फेरि आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पुराउन चाहँदैनन् र यसलाई विस्तार, सुदृढ, व्यापक र सशक्त बनाउन आवस्यक मेहनत नै गर्दैनन् ! यो परिस्थिति र मनस्थितिले उनीहरुले निर्मम आन्दोलन गर्न सक्ने कुरै भएन । सत्ताको यो संवेदनहीनताको अवस्थामा जहाँ आँखाकान फुट्नेगरी उस्लाई बजाएर सुन्ने, गुन्ने र मान्ने गराउन अथवा अठ्ठा जोकर बनाउन जरुरी छ, त्यहाँ सामान्य पार्टी भित्री संघर्ष, संसदभित्रको संघर्ष र सडकको संघर्ष पनि प्रभावकारी र परिणाममुखी हुन-गराउन नखोज्नु-नसक्नु र विल्कुल व्यक्तिगत, विकेन्दृत, विशृङ्खलित, विभाजित र विच्छिन्न हुनु विस्मयपूर्ण बाटो हो ! त्यसैले अब अन्तिम पटक सम्बन्धित सबै संघर्षशील व्यक्ती र शक्तिहरुले आआफ्ना सीमा, समस्या र सोंचहरुलाई सच्चाउने, शुद्धीकरण गर्ने र रुपान्तरित भएर विच्छिन्न आन्दोलनहरुलाई एकीकृत र केन्द्रीकृत गरी निर्णायक र परिणाममुखी बनाउनु अहिलेको ठोस र वस्तुवादी आवश्यकता हो । यतिबेला यत्ती कुरा पनि गर्न नसक्ने हो भने संवेदनाहीन सत्ताले सबै संघर्षरत शक्तिहरुलाई सधैभरिको लागि सुताउने सुनिश्चितजस्तै हुनेछ र त्यतिबेला कि त यही संवेदनाशून्य सत्ताको सेवामा सहर्ष समर्पित हुनुपर्नेछ कि भने पश्चात्तापको भूमरीमा लामोसमयसम्म पिल्सिरहनु पर्ने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here