आन्दाेलनकाे तयार गर्दै जसपा

179

काठमाडौं-“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलाः उसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने किः १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य !”

जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नोभेम्बर ७ तारिखका दिन आफ्नो ट्वीटरमा लेखेको अंश हो यो । उनले यो विषय आफ्नो ट्वीटर एकाउन्टबाट उठाएपछि सञ्चारमाध्यमहरुका लागि समाचारको स्रोत बन्यो नै धेरैका लागि चासोको विषय पनि बन्यो ।

यो यति महत्वपूर्ण र चासोको विषय बन्यो कि अध्यक्ष भट्टराईले आफ्नो ट्वीटरमा त्यो विषयलाई पीन गरेर राखेका छन् । यसबाट पुष्टि हुन्छ कि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई नेकपाका अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारलाई कति महत्वका साथ हेरिरहेका छन् । त्यति मात्र होइन, त्यसपछि पनि उनले ओली नेतृत्वको सरकारलाई पटक–पटक प्रहार गर्दै आइरहेका छन् । उनले मात्र होइन, उनका पार्टीका अन्य नेता खासगरी अध्यक्ष उपेन्द्र यादवबाट पनि ओली नेतृत्वको सरकारमाथि आक्रमण भएका छन् ।

डा.भट्टराईले नोभेम्बर १८ मा एउटा अर्को ट्वीट लेखे, “नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ हैः १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २. ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।”

ओली सरकारको विकल्प खोज्नुपर्छ भन्ने कुरा एकपटक होइन, दुईपटक होइन उनले पटक पटक उठाएका छन् । अब ओली सरकारकाविरुद्ध सडक संघर्ष गर्ने तयारी पनि उनीहरुले थालिसकेका छन् । समाजिक सञ्जालबाट ओली सरकारको विकल्प खोजेका अध्यक्ष यादव र परिषद्का अध्यक्ष भट्टराईले छठपछि देशैभरि सरकारको विरुद्धमा आन्दोलन गर्ने जनाइसेका छन् ।

जसपाका अनुसार सुरुको चरणमा पार्टीका भातृ संगठनलाई परिचालन गरेर जिल्ला जिल्लामा आन्दोलनको शुरुवात गरिनेछ भने आन्दोलनले पिकअप लिएपछि केन्द्रीय तहले त्यसको नेतृत्व लिएर अगाडि बढ्नेछ ।  जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश २ का प्रदेश सदस्य योगेन्द्र रायले छठपछि ओली सरकारको विरुद्धमा आन्दोलन गर्ने सम्पूर्ण तयारी पुरा भएको बताए ।

यत्रो दिन कोरोनाकै कारण आफूहरुले आन्दोलन नगरेको प्रस्ट पार्दै उनले भने, ‘कोरोना महामारीको बेला आन्दोलन गरियो भने सरकारलाई असहयोग गरेजस्तो हुन्थ्यो र जसपाको उल्टै आलोचना हुन्थ्यो । त्यो सम्झेर जसपा नेपालले केही गरेन तर अब चुप लागेर बसिदैन ।’ उनले छठलगत्तै सरकारको विरुद्धमा आन्दोलन सुरु गर्ने बताए ।

सरकारले कोरोना महामारीबाट प्रभावित जनतालाई राहत दिन नदिएको, भ्रष्टाचारमा लिप्त भएको, संसदलाई बन्धक बनाएको, पार्टीका कार्यकर्ता तथा नेताहरुलाई झुठा मुद्दामा फसाएको र संविधान संशोधन नगरेका कारण जसपा नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको उनले बताए ।

स्रोतका अनुसार आन्दोलन गर्नका लागि केन्द्रबाट पार्टीका भातृ संगठनहरुलाई निर्देशन गइसकेको छ । यही आन्दोलनलाई अगामी निर्वाचनसम्म लगिने योजना जसपा नेपालको रहेको छ । नेकपामा विवाद चलिरहेको छ । त्यसको फाइदा जसपा नेपालले उठाउन चाहेको देखिन्छ । नेकपा विभाजन भयो भने ओली नेतृत्वको सरकार ढल्छ ।

त्यसपछि बन्ने नयाँ सरकारका लागि हुने खेलमा जसपा नेपाल पनि सहभागी हुनेछ । नेकपा विभाजन भयो भने संयुक्त सरकार बन्ने सम्भावना बढेर जान्छ । त्यसबेला काँग्रेस र जसपा नेपालको खोजी हुनेछ । त्यसैको माहोल बनाउनका लािग जसपा आन्दोलनमा जाने तयारीमा लागेको स्रोतले दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here