राष्ट्रिय स्वाधीनताका लागि वृहत मोर्चा जरुरी : वामहरूले के गर्ने ? कहाँबाट सुरु गर्ने ?

6

–रघु घिमिरे

झापा विद्रोहलाई मदन भण्डारी मण्डलीले २०४६ सालदेखि बिधिवत राजतन्त्रभित्रको संसदीय व्यवस्थामा झारेपछि र अहिले नेपाली जनयुद्धलार्ई प्रचण्ड–बाबुराम–वादलहरूले प्रतिक्रियावादमा पतन गराउन सफल भएपछि क्रान्तिका नायकहरू प्रतिक्रान्तिका खलनायक बन्नु स्वाभाविक हो र प्रतिक्रान्तिकारीहरू त्यसै पनि खतरनाक हुन्छन्, त्यसमाथि आफ्नै नेतृत्वमा क्रान्ति वा विद्रोह गरेर त्यही क्रान्तिलाई बीचमै धोका दिएर आएकाहरू थप खतरनाक हुन्छन्, भए !

हाल आएर यही नवप्रतिक्रियावादी तागत राष्ट्रिय स्वाधीनतालाई लोप पार्न र देशलाई अनन्त द्वन्दमा जाक्न उद्दत छ ।

यो छोटो आलेखमा उल्लेखित खतरासँग जुध्न नेपाली वामपन्थीहरूको अलमललाई देखेर नेपाली वामहरूले के गर्ने, कहाँबाट सुरु गर्ने र कसरी गर्ने भन्ने बारेमा बहस उठान गरिएको छ ।

नवप्रतिक्रियावादीको शक्ति र बाह्य तागतको आंकलनः

अहिले नेपालमा इण्डो–अमेरिकन साम्राज्यवादको आड–भरोसामा त्यही नवप्रतिक्रियावादी र पुराना प्रतिक्रियावादीको संयुक्त शक्तिले सम्पूर्ण सामाजिक, आर्थिक, राजनितिक र सांस्कृतिक क्षेत्रलाई कब्जामा राखेर नेपालको अस्तित्व, स्रोतसाधन, सार्वभौमिकता, भूगोल, सामरिक क्षेत्र, लोकतन्त्रलगायत सबै कुरा ध्वस्त गर्न उद्धत छ । सुशासनका अंगहरू अख्तियार, न्यायालय, सुरक्षा, ब्युरोक्रेसी, संसदलगायत सबै उपरी तहमा इण्डो–अमेरिकन साम्राज्यवादको घुसपैठ छ । र, बाहिरी रूपमा हेर्दा यी क्षेत्रमा त्यो नवप्रतिक्रियावादीका प्रतिनिधिले चलाएको भान हुन्छ तर सारमा बाह्य तागतले covert  रूपमा   गरिरहेको छ । यहाँका नवप्रतिक्रियावादीहरूलाई उसले आपसी झगडा गर्न, आन्तरिक भ्रष्टाचार गर्न र सामान्य लुटपाट गर्न छुट दिएको छ । उसको covert mission अन्तर्गत नचल्ने वा बाधा पार्नेलाई लोभ र केही अमूक नेतालाई तर्साइरहेको अवस्था छ । अझ अचम्मको स्थिति यो छ कि यो प्रतिक्रियावादी शक्तिका थुप्रै नेता र बिकाउ मार्का बुद्धिजीवीलाई आफू तिनीहरूको mission मा चलेको छु भन्ने समेत अत्तोपत्तो छैन ।

फेक कम्युनिष्ट वा डुप्लिकेट कम्युनिष्ट भए पनि आम जनतामा उनीहरू नै ‘कम्युनिष्ट’ हुन् भन्ने भ्रम पश्चिमा शक्ति र नक्कली वामहरूले मिडियाको माध्यमबाट पिलाइरहेका छन् र चुनावमा त्यही भ्रमलाई नगदमा भजाएर करिव दुईतिहाइ कानुनी संसदीय तागतसहित देश र जनतालाई कब्जामा लिएर फासीवादतिर लादैछन् ।

वाम शक्ति र उसको तागत–

मूलधारको भनिएको वाम तथा कम्युनिष्ट शक्ति ध्वस्त भएर कुहिए पछि आम जनतामा ब्यापक निराशा र क्रोध एकसाथ उर्लेको छ । यद्यपि जनताको त्यो radicalized मनस्थितिलाई प्रतिनिधित्व गर्ने वाम तथा कम्युनिष्ट तागत ३ चिरामा विभक्त छ एकथरि वामहरू संसदभित्र वा संसदकै वरिपरि धूरी बनाइरहेका छन, दोश्रोथरि संसदवादबाट बाहिर छन् तर सामरिक तहमा नक्कली कम्युनिष्टहरूसँग जुध्ने तागत छैन र भौतिक रूपले लड्नका लागि सामरिक तयारी छैन, अलमलमा छन् र तेस्रोथरि चाहिं सामरिक शक्तिको तयारीमा समेत लागि परेको छ, तर उ नवप्रतिक्रियावादी सत्ताको भयानक दमनमा परेको छ । अघिल्ला २ खाले वामहरूलाई छुट्याएर सत्ताले तेस्रो माथि एकल प्रतिसोध साँधी रहेको छ, उसका नेता–कार्यकर्ताहरूको ब्यापक गिरफ्तारी, हत्या र कठोर यातना दिइरहेको अवस्था छ । पार्टीमाथि प्रतिबन्ध लगाएको छ ।

सच्चा वामहरूले संगठनात्मक, सामारिक र संयुक्त मोर्चाका हिसाबले अहिले भरे नै छुट्टा–छुट्टै वा संयुक्त बलले समेत त्यो प्रतिक्रियावादी तागतलाइ पछार्न सक्ने आत्मगत हैसियत राख्दैनन् । यद्यपि देशका बहुसंख्यक जनता र खास गरेर श्रमजीवी जनतामा गहिरो वाम रुझान छ । यो नै बलियो आत्मगत स्थिति हो ।

स्वाधीनता र अस्तित्वको संकट–

इतिहासमा नेपाल अहिले जस्तो स्वाधीनता र अस्तित्वको संकटमा कहिले परेको थिएन । इन्डोअमेरिकी साम्राज्यवादको संयुक्त हमलामा परेको छ, यद्यपि उनीहरूका आफ्नै पोशाक लगाएका सैनिकले परेड खेलिसकेको अवस्था छैन, कालापानीमा एक भारतीय सैनिक अखडा,  नेपाली सुरक्षा क्षेत्रमा तालिम तथा सल्लाहकारलगायत विभिन्न बहानामा पश्चिमा सुरक्षा बलको घुसपैठ भए पनि गल्ली–गल्ली र देशभर ट्यांक र मिसायलको तैनाथी छैन, तर ब्यापक एवं द्रूत गतिमा तयारी हुँदैछ ।

अहिले उनका नेपाली दलालहरूमार्फत् यो तयारी द्रूत गतिमा अगाडि बढाइरहेका छन् र राजनीतिक रूपमा नवप्रतिक्रियावाद, आर्थिक रूपमा निकृष्ट दलाल पूँजीवाद र सामाजिक रूपमा जातीय, धार्मिक र साम्प्रदायिक विभाजन गरेर ती क्षेत्रमा आफ्ना घूसपैठियामार्फत यो कर्तुत परोक्ष रूपमा अगाडि बढाएका छन् । उनीहरूकै आफ्नै पोशाकका सैनिक र प्राविधिकहरू खुलेआम प्रवेश हुनु अगावै उपरोक्त नेपाली दलालहरूलाई यही ठाउँको ठाउँ सिध्याउन सकिएन भने उसकै पोशाक लगाएर आएका सैनिकसँग ठूलो पैमानको लडाइँ नेपाली वाम र देशभक्तहरूले लड्न मुस्किल छ । त्यसकारण तत्काल नै, उनीहरू प्रत्यक्ष पोशाकमा उत्रनु अघि नै दलालबिरुद्ध लड्ने र विस्थापित गर्ने काममा संयुक्त पहल र जोखिम लिनु पर्ने हुन्छ ।

तिनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता खोस्नु पर्नाका दुइटा मुख्य उद्देश्य छन् ।

१– जल, युरेनियम र अन्य खनिज प्राकृतिक स्रोतको दोहन र कब्जा ।

२– तिब्बतमा गडबड मच्चाएर चीनलाई घेर्ने रणनीतिक दाउमा नेपालको विशेष भू–अवस्थिति (strategic geo-politician Location)  को दुरूपयोग । अहिले MCC- IPS  यही उद्देश्य लिएर पसेको छ ।

नेपालमाथि अधिपत्य कायम गर्नका लागि इन्डियन खुफिया एजेन्सीको माइक्रो मेनेजमेन्ट र पश्चिमाको रणनैतिक घुसपैठ व्यापक छ, छताछुल्ल छ । पछिल्लो समयमा आएर दिल्ली, ब्रसेल्स र डिसिको अर्धगोप्य संयोजनमा (semi-covert co-ordinated operation) अपरेसन चलिरहेको छ । खतरनाक  MCC- IPS र लिम्पियाधुरा–लिपुलेक अतिक्रमण काण्ड र प्रधानमन्त्री मण्डलीले नेपालको नक्सामा गरेको भद्दा मजाकले अब उनीहरू कतिसम्म छिरिसके प्रष्ट देखिइसक्यो । कार्यपालिका, प्रतिपक्ष, न्यायपालिका, सुरक्षा अंग, राजनीतिक पार्टी, मिडिया, ब्युरोक्रेसीका निर्णायक स्थानमा तिनकै दलालहरूको बोलवाला हुनुको नतिजा यही हो ।

पेन्टागनले हिन्द–प्रशान्त क्षेत्रमा लडाइँ छेड्ने तयारीको लागि उसको इन्डो–प्यासिफिक कमाण्डका जल, थल, वायु र संयुक्त कमाण्डका जर्नेलहरूलाई कासन गरिसकेको छ । Mcc- IPS को सैनिक छाता मुनि आएका नेपाल जस्ता भुपरिवेष्ठित देशका मिलिटरी फोर्सलाई सहवरण गरेर चीन बिरुद्धको लडाइँमा अमेरिकी सेनाको extended land force  को रूपमा प्रयोग गर्ने रणनीति अख्तियार गरेका छन् । नेपालको कालापानीमा अतिक्रमण गरेर बसेको इन्डियन सैनिक क्याम्पलाइ अब त्यही extended land force को पर्वतीय मूख्यालय (high altitude HQ) को रूपमा रूपान्तरण गर्ने निर्णय इन्डियन–अमेरिकन सहमति भैसकेको र नेपाललाई पनि त्यसमा सहयोग गर्न प्रस्ताव आइसकेको बुझिन्छ । ओली र गोयल बीचको पछिल्लो खुफिया गोप्य वार्ता त्यसैमा केन्द्रित भएको आंकलन गरिएको छ । ओलीको नेतृत्वमा कालापानीको क्षेत्र नेपाललाइ आधिकारिक फिर्ता गरिएको भद्दा नाटक मन्चन गरि कालापानीलाइ अन्तरास्ट्रिय पर्वतीय सैनिक प्रशिक्षण केन्द्र (international mountaineering military academy) को रूपमा राख्ने सरल सूत्र खोजिएको बुझिन्छ ।

यसो गर्दा ओलीले कालापानीको भूमि फिर्ता ल्याएको र त्यहाँ नेपाली सेनाले आफ्नो ब्यारेक राखेको हल्ला पिटाइ उसको राष्ट्रवादी खोल झन् बलियो बनाउन सकिने गेम प्लान बुझ्न गारो छैन ।

के गर्ने, कहाँबाट सुरु गर्ने  ?

माथि छोटकरीमा उल्लेख गरिएको वस्तुगत तथ्यको आलोकमा हेर्दा जनतन्त्रमाथि हमला र जनजीविका माथि यति अत्याचार हुदा हुदै पनि अहिले राष्ट्रिय स्वाधीनताको प्रतिरक्षा प्रमुख चुनौती बनेर गएको छ  । मातृभूमिलाई नवऔपनिवेसिक अवस्थाबाट स्वाधीन बनाएर मात्र जनतन्त्र,लोकतन्त्र र जनजीविका सुधार्न सम्भव हुन्छ ।

त्यसैले के गर्ने भन्ने प्रश्नमा अलमल जरुरी छैन, सपाट उत्तर हो– राष्ट्रिय स्वाधीनताको लडाई लड्ने । यो त्यति सजिलो छैन, तर सम्भव छ । नेपाली जनताको बलमा र अन्तरास्ट्रिय भाइचाराको सहयोगमा यो गर्ने पर्छ ।

केही समयका लागि नेपाली कम्युनिष्टहरूले जनतन्त्र, वैज्ञानिक समाजवाद, साम्यवाद र जनजीविकाका मुद्दाहरूलाई थाँती राखेर नितान्त राष्ट्रिय स्वाधीनताको संघर्षमा शक्ति केन्द्रित गर्न ढिला गर्नु हुन्न । तर कसरी गर्ने भन्ने प्रस्नको धेरै वैकल्पिक उत्तरहरू हुन सक्छन । ती उत्तरहरू मध्यको एउटा उत्तम बिकल्प चाहीं साझा निशानामा संयुक्त प्रहार हो ।

सबै वाम, कम्युनिष्ट, प्रगतिशील र देशभक्त शक्तिहरूले नेपालको स्वाधीनता माथि धावा बोलिरहेका विदेशी दलालहरूमाथि संयुक्त प्रतिधावा बोल्ने हो । जिते मातृभूमिलाई बिदेशी पन्जाबाट मूक्त, हारे हत्कडी त हो ।

यस आलेखमा उल्लेख गरिएका ३ थरि वाम तथा कम्युनिष्ट शक्तिहरूले देशभक्त शक्ति , व्यक्ति समेत संलग्न गरि राष्ट्रिय स्वाधीनताका लागि उच्चस्तरीय संयुक्त मोर्चाको निर्माण गर्नै पर्छ । यो मोर्चामा ती तिनओटै वाम शक्तिका प्रमुख नेतृत्व, व्यक्तित्व र देशभक्त शक्तिका केही मूर्धन्य प्रतिनिधि पात्र रहने गरि बनाउने र क्रमश प्रदेश, जिल्ला र पालिका तहसम्म यो मोर्चाको संगठानिक र शक्ति विन्यास गर्नु पर्छ ।

अघिल्लो साताको प्रधानमन्त्री र गृहमन्त्रीको २१ दलीय मोर्चा प्रतिको धम्कीको भाषाले राम्रो संकेत गरेको छैन । यस्तो देखियो कि मूल नेतृत्व नै सडकमा नउत्रिकन अरु दोस्रो ,तेस्रो तह र कार्यकर्ता सडक बिरोधमा आउँदा व्यापक दमन गर्न थाल्यो, त्यसो गरिरहने हो भने नोक्सान मात्र हुन्छ ।

त्यसैले क. किरण, क. रोहित, क. एमबी, क. सिपी मैनाली, क. कट्टेल, क. रबिन्द्र, क. किराती, क. आहुति र क. विप्लब (हाललाई बिप्लवको चाहि डमी मात्र) र अरु ३–४ जना देशभक्त अगुवाहरू समेत भएर सानो छरितो तर heavy weight १०–१२ नेताले मात्र पहिला सडकमा सांकेतिक बिरोधमा साप्ताहिक–१, १ दिन १, १ घण्टा उत्रिनु पर्छ ता कि सत्ताले दमन गर्दा पनि देशभर र संसारभर आवाज पुग्छ, दलाल मेडियाहरू पनि लेख्न बाध्य हुन्छन्, जनता जागरुक हुन्छन्, देश जुर्मुराउछ , उर्जा प्राप्त हुन्छ । हाल कोभिड माहब्याधिका कारणले पनि ठुलो संख्यामा जनसमूह भेलाको आह्वान बुद्धिमत्तापूर्ण हुदैन । कोभिड पछि ठूला ठूला सडक संघर्षका लागि तयारी हो यो, कोभिड पछि त्यस्ता संघर्ष ठुला शहर हुँदै पालिका तहसम्म लगातार चलाउनु पर्छ ।

यो एउटा परम्परागत चलन चल्तीको वैध संघर्षको तरिका हो । तर संघर्ष चर्किदै जाँदा साम्राज्यवादको उक्साहटमा देशी प्रतिक्रियावादी सत्ताले हिंशाको सहारा लिन्छ । किनकि उसले अहिले नै फासिवादी चरित्र अंगाली रहेको छ । तेती बेला जनतासंग भौतिक तागत भएन भने स्वाधीनताको लडाई जितिन्न, प्रतिरोधी जनतालाई जोगाउन सकिन्न । त्यसैले अहिले क. विप्लवले नेतृत्व गरेको नेकपाले निर्माण गरेको भनिएको जनसेनालाई विप्लवले मात्र एकलौटी आफ्नो पार्टीको सेनाको रूपमा नलिई उदार भावले त्यो शक्तिलाई संयुक्त मोर्चाको साझा भौतिक शक्तिको रूपमा रूपान्तरण गर्नुपर्छ, र संयुक्त मोर्चाले पनि त्यो शक्तिलाई विकास र गुणात्मक बनाउन अहिलेदेखि नै सकारात्मक रूपमा लिनु पर्छ । ५० देखि ७० को दशकमा स्वाधीनताका लडाइँ लडेका राष्ट्रहरूको अनुभवले भौतिक शक्तिबारे यही सिकाउँछ ।

प्रतिक्रिवादी सत्ताका नक्कली कम्युनिष्ट पार्टीका भिजिलान्तेहरूको आक्रमणबाट आन्दोलनलाई जोगाउन  मोर्चामा आवद्ध पार्टी अन्तर्गतका संगठित स्वयंसेवी युवा दस्ताहरूलाई पनि परिचालन गर्नु पर्छ, बिद्यमान सुरक्षा अंग भित्रका भूतपूर्व र बहालवाला देशभक्त व्यक्तित्वसंग बहस र अन्तरक्रिया सुरु गरिनु पर्छ ।

संघर्षको सिधा निशाना चाहिं साम्राज्यवादी तत्वका दलाल नेतृत्व, तिनका संस्था, घुसपैठिया, संयन्त्र, तिनका अखडा र तिनका शक्तिका सबै स्रोतमाथि साधिनु पर्छ । संघर्षका सबै परिकारहरू (वैचारिक, आर्थिक, भौतिक, बौद्धिक, सडक, संसदीय, सांस्कृतिक) आदि सबै मोर्चामा एकसाथ गर्न पर्छ ।

हामी बाहिर रहेका सबैले त्यस्तो प्रकृतिको वृहत मोर्चाको निर्माण र संघर्षको उठानका लागि दह्रो अभियान चलाउन, दवाव  दिन, आवश्यक सहजीकरण गर्न जरुरी छ । मातृभूमिलाई साह्रै समस्या परेको यो अवस्थामा एउटा नागरिक हुनुको कर्तव्य पूरा गर्न सबै नेपालीले योगदान पूरा गर्नैपर्ने अवस्था सृजना भएको छ ।

–जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here