फुटको कारण र एकताको आधारबारे केही कुरा !

7

– नारायण शर्मा

अहिले नेकपामा फुटको परम सम्भावना भएको कुरा व्यापक चर्चामा छ । यो फुटको पछाडि एकातिर बाह्य शक्तिकेन्द्रको हात रहेको भन्ने एउटा तर्क तथ्यसङ्गत ढङ्गले नै आइरहेको छ भने अर्कातिर  व्यक्तिगत लाभहानीलाई केन्द्रमा राखेर शीर्ष नेताहरूद्वारा राजनीती गरिएको र राजनीतिलाई जनतामा ढाँटछल गर्ने, भ्रम पार्ने र स्वार्थपूर्तिको माध्यम बनाउने गरिएकोले यसप्रकारको अवस्था आएको सन्दर्भ छ ! पार्टी एकता वा फुटमा बाह्य विगातीय वर्गहरुको चलखेल र पहल केही भएपनी अन्ततः पार्टी र नेताहरुभित्रै रहेका विचार देखि व्यवहारसम्मका विविध कारणहरुले नै प्रधान र निर्णायक भूमिका खेलिरहेका हुन्छन् ! यसरी हेर्दा नेकपाभित्रको वर्तमान वहस, विवाद र विभाजनको यो आन्तरिक घटनाप्रकृयामा कार्य-कारण सम्बन्धको एउटा लामो,  मुख्य र निर्णायक शृङ्खला रहेको हुन्छ ।  यिनै कारण र कमजोरीहरुको शृङ्खलामाथी बाह्य शक्तिकेन्द्रले खेल्छन् र परिणाममा विदेसी शक्तिले पार्टी फुटाएको वा जुटाइदिएको भन्ने पर्दछ । जेहोस्, फुट वा जुटको प्रधान र निर्णायक कारण आन्तरिक भएकाले यहाँ त्यसैमा केन्दृत भएर चर्चा गर्ने प्रयत्न गरिएको छ ।

फुट्को कारण गुट, गुटको कारण झुट, झुटको कारण लुट, लुटको कारण टुट (वैचारिक/सैद्धान्तिक विचलन), टुटको कारण छुट (अध्ययन, अनुसन्धान र अनुभवको कमी ), छुटको कारण सत्ता-सुख अर्थात् सत्तामा पुगेर वा नपुगे पनि पुग्ने लालसा लिएर लोकलज्जा लङ्घन गर्ने लुछाचुँडी गर्दै चरम सुखशयल, मोजमज्जा र भोगविलास गर्ने व्यक्तिगत, पारिवारिक र वंशगत स्वार्थपूर्तिमा शक्ति र बुद्धि केन्दृत गर्नु नै हो ! यद्यपि यसप्रकारको स्वार्थलाई कि त लुकाउने गरिन्छ र गरिएको पनि छ किभने सामूहिकताको आवरण दिने साजिस रचिन्छ र  दुनियाँलाई भ्रमित पारिन्छ र पारिएको छ ! त्यो कथित सामूहिकता नै अघिल्लो चरणमा जाति, क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृती, सभ्यता आदि कुनै एकको नाममा समूह, टिम, गिरोह, झुण्ड अर्थात् गुट हुन्छ र तिनै स्वार्थी समूह वा गुटहरु नै आ-आफ्ना संकीर्ण र क्षुद्र स्वार्थका कारण आपसमा टक्कराउँछन् अनि तीन प्रकारको अवस्था उत्पन्न हुन्छ ! ती हुन् :-

पहिलो, एउटा शक्तिशाली गुटले जित्छ र अर्को कमजोर गुट तत्काललाई हार स्वीकारेर पछि पुनः जित्न सक्ने आशा लिएर सँगै बस्छ र भावनात्मक फुट भएपनी संगठनात्मक एकता केही समयको लागि बँच्दछ, यद्यपि यसप्रकारको विचार, राजनीती र भावना टुटेको एकता जस्लाई सत्तासुखभोगको निकृष्ट स्वार्थले जोडेको हुन्छ, चीरस्थायी हुन सक्तैन ! दोस्रो, दुवै गुटहरु बलाबलको अवस्थामा हुँदा वा कुनै एक शक्तिशाली गुट पनि उदार र नरम हुँदा वा फुटेरभन्दा जुटेर बस्दा नै तुलनात्मक रुपले लुट मच्चाउन र सत्तासुख भोग गर्न सरल, सहज, शीघ्र र सुदीर्घ हुने सम्भावना देखेर विन विनको नाममा तत्काललाई केही लेनदेन गरि सम्झौतामा पुग्छन् र फेरि पनि केही समयसम्म फुट टर्दछ, तथापि यो स्वार्थकेन्दृत सम्झौता-एकताले दीर्घकालसम्म फुट रोक्न सक्तैन ! तेस्रो, शक्तिशाली वा बहुमत पक्षले कमजोर वा अल्पमत पक्षलाई विभिन्न बहाना बनाई आरोपित गर्ने र नसच्चिएको कथित ठहर गर्दै कार्वाही गर्ने तर कमजोर वा अल्पमत पक्षले बहुमतको ज्यादती, मनपरी, स्वैच्छाचारी र तानाशाहीका विरुद्ध  विद्रोह गरेको जनाउँदै फुट्ने हुन्छ ! यसप्रकारको फुट अर्थात् स्वार्थकेन्दृत सोंच, शैली, संस्कार संकृतिका कारण हुने फुट, विभाजन वा छुट्टिने प्रकृया राजनीतिक पार्टीहरुमा मात्र होइन, सामान्यतया अन्य सबै सामूहिक र संगठित क्षेत्रमा पनि पाइन्छ ।

 स्पष्ट रुपमा यो एउटा दुखद विडम्बना भएको छ कि कुनै निश्चित, निहित र निकृष्ट स्वार्थ अर्थात् मुख्यत: प्रमुख नेताहरुको व्यक्तिगत, पारिवारिक वा वंशगत श्रीसम्पत्ती, सुखसुविधा, ऐशआराम, शानशौकत, मोजमज्जा र भोगविलासको लागि नै ती मुठ्ठीभर जालीझेली नेताहरुले आफ्नो वा अर्को कुनै निश्चित जाति, क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति र सभ्यता आदिको संरक्षण र संबर्द्धन जस्ता नीति र नाराहरुको आवरणमा संगठन र संघर्ष संचालन गर्छन् र सत्ता प्राप्त गर्छन् र अन्ततः आफूलाई एउटा शक्तिशाली साम्राज्यको सम्राट सदर गर्दै आफ्नो निकृष्ट स्वार्थ पूर्ती गर्दछन् !

यसको अर्थ र निष्कर्ष यो हो कि यसप्रकारको सिमित स्वार्थकेन्दृत फुट, विभाजन वा विद्रोह अथवा लेनदेन, सहमति वा सम्झौता हुनु गलत र भ्रामक त हो नै साथै  यसप्रकारका खोटा र कलुषित विचार र व्यवहार, चिन्तन र चरित्र, नीति र नियत, मति र गति, नारा र पाराका कारणले भएका वा हुने एकता वा फुट दुवै त्यत्तिकै निकृष्ट, निन्दनीय, नियन्त्रणजन्य र निषेधयोग्य नै हुन्छन् ।

तसर्थ फुटलाई रोक्ने अर्थात् एकतालाई सफल, सबल, सुदृढ र सार्थक बनाउने हो भने प्रथमतः पार्टी र नेताहरुका विचार-दृष्टिकोण, नीति-निर्णय, योजना-कार्यक्रम र काम-व्यवहार सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र व्यावहारिक हुनुपर्दछ । तत्पश्चात् नेताहरुका नियत साफ हुनु पर्छ, उनीहरुबाट स्वार्थ त्याग हुनुपर्छ, उनीहरुले सत्तालाई सुखसुविधाको स्रोत र स्थल बनाउनु हुँदैन । साथै सत्ताको सिंढी उक्लनु भनेको जनता, क्रान्ती र राष्ट्रको सेवामा समर्पित हुनु हो, पार्टीमा भन्दा पनि बढी  दुखकष्ट र त्यागतपस्या गर्नु हो भन्ने बुझाई र व्यवहार स्पष्ट हुनु पर्दछ भने सत्ता बिना सबै थोक भ्रम हो भन्ने बुझाइमा रहेको यान्तृक र निरपेक्ष सोंचाइलाई ठिक ढङ्गले अर्थात् द्वन्द्ववादी दृष्टिले बुझेर सत्तालिप्सालाई समेतू घटाउनु पर्दछ । यसरी नै, पार्टीकाम र सरकारी कामको मूल्य, मान्यता र महत्व समान हुनुपर्छ, अझ भन्ने हो भने सरकारलाई भन्दा बढी शक्तिशाली, प्रभावकारी र निर्णायक पार्टीलाई बनाउनुपर्छ र पार्टीको निगरानी, नियन्त्रण र हस्तक्षेपमा सरकार सन्चालन हुनुपर्छ भने पार्टी र राज्य दुवैमाथि निगरानी, नियन्त्रण र हस्तक्षेप गर्ने कार्य स्वतन्त्र, सार्वभौम र सक्षम जनताको  एक शक्तिशाली संयन्त्रद्वारा सुझाव, दवाव, खबर्दारी, हस्तक्षेप र निषेध गर्ने विधि, व्यवस्था र अवस्था बन्नु पर्छ !

साथै सर्वत्र स्वच्छता र पारदर्शिता अवलम्बन गरिनुपर्छ, पार्टी र राज्यका नीति निर्माण र कार्यान्वयनको नेतृत्व गर्ने नायक र संयन्त्रहरुका कामव्यवहार, सोंच, शैली, संस्कार र संस्कृतिमा शुद्धीकरण, जनवादीकरण, बैज्ञानिकरण, न्यायीकरण, क्रान्तिकारीकरण, सर्वहाराकरण, समाजवादी-साम्यवादीकरण गरिनु अनिवार्य हुन्छ । अन्यथा विचार र व्यवहारको वेमेल र विभाजनको यो प्रकृया विभिन्न वर्ग र विचारसमूहमा मात्र होइन विश्वमा नै विकृती र  विसङ्गती विस्तार गर्नसम्म मात्र सिमित नभै व्रह्मान्डकै विध्वंस र विसर्जनसम्म नपुग्ला भन्न सकिन्न !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here