बुद्ध पार्क क्षेत्रमा स्वचालित नमुना शौचालय सञ्चालनमा

151

काठमाडौंको प्रमुख पर्यटकीयस्थलमध्येकाे एक स्वयम्भूस्थित बुद्ध पार्क क्षेत्रमा स्वचालित नमुना शौचालय सञ्चालनमा आएको छ ।

सुविधाजनक आधुनिक सार्वजनिक शौचालयको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब सबै वडामा सुविधाजनक शौचालय निर्माण गर्ने बताए । मेयर शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरूपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रूपान्तरण गर्ने र व्यावसायिकताबाट सेवामूलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए ।

‘सार्वजनिक शौचालय भएका ठाउँहरू शौचालयभन्दा अन्य व्यापारिक गतिविधि गर्ने ठाउँजस्ता देखिए,’ मेयर शाक्यले भने, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना छ ।’ चार सय वर्गफिट क्षेत्रफलमा निर्माण भएको शौचालय निर्माणमा ५५ लाख रुपैयाँ खर्च भएको छ । शौचालय निर्माणमा महानगरको वडा नं. १५ कार्यालयले पाँच लाख रुपैयाँ अनुदान दिएको छ ।

शौचालय सञ्चालनको बाँकी खर्च एरोसान सस्टेनेबल स्यानिटेसनले गरेको छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्यांकी राखिएको छ । शौचालय महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री छ । शौचालयका सुविधा स्वचालित प्रविधिमा आधारित छन् ।

शौचालयको विशेषताबारेमा जानकारी दिँदै एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन ।प्राविधिक र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमुना बनाइएको हो ।’ शौचालयमा पुरुषका लागि चारवटा युरिनल र दुईवटा शौचालय, दुईवटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका वेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) जडान गरिएका छन् ।

त्यहाँ पर्यटक र अपांगता भएका व्यक्तिका लागि एक–एकवटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।

नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहाेरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायोग्यास प्रविधिबाट दिसाजन्य लेदो व्यवस्थापन यसका विशेषता हुन् ।

शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैँचामा प्रयोग हुनेछ । बायोग्यासका लागि १० घनमिटरको प्लान्ट छ । जसबाट मासिक रूपमा १.५ सिलिन्डरबराबर ग्यास उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here