तिहार पर्वमा थपिएका ऐंजेरुहरुको सार्थकता कति ? –चन्द्रप्रकाश बानियाँ

10

हिन्दू पर्व तिथिहरुको दिन बारहरु चन्द्र पात्रो अनुसार गणना गरिन्छन् । बैशाखमा चण्डी पूर्णिमा पर्दछ । आश्विन शुक्ल पक्षमा दशंै पर्छ । चन्द्र क्यालेन्डरअनुसारको तिथि गणना यति अवैज्ञानिक छ कि ज्योतिषिको सहयोगविना तिथिमिति खुट्याउनै सकिदैन । तिथि गणनाको विधि यति अव्यवस्थित हुन्छ कि कुनै तिथि एक भन्दा बढी दिनसम्म रहन्छ भने कुनै तिथिको अस्तित्व नै हुदैन । प्रतिपदा नआइकन एकैचोटि द्वितिया आउन सक्छ । एउटै तिथि दुईवटा हुन सक्छन्, आधा पनि हुनसक्छ र सून्य पनि हुनसक्छ । चन्द्रवर्षको सम्पूर्ण चक्र ३ सय ५४ दिनको हुन्छ । त्यही कारण कसैको मरेतिथिमा श्राद्ध गर्नुप¥यो भने दिनको किटान गर्ने काममा गडबड हुनजान्छ । कुनै मानिसको बैशाख महिनाको एक गते मृत्यु भएको रहेछ भने उसको बार्षिक श्राद्ध चैत्र महिनाको २०÷२१ गते पर्न जान्छ । अर्थात मरेतिथि ११ दिन अघि आउँछ । बार्षिकी मनाउने त एकवर्ष बितेपछि हुनुपर्ने हो तर चन्द्रबषर््ा गणनाका कारणले बर्ष बित्नुभन्दा ११ दिन अघि नै मरेतिथि आउँछ । भन्ने बेलामा बार्षिकी भन्निछ तर झण्डै एकपक्ष बर्षदिनमा अपुग हुन्छ ।

चन्द्र क्यालेन्डर चलाउने परम्पराले अघिल्लो वर्षको निश्चित गतेबारमा परेको पर्व तिथि अर्को वर्ष त्यही गतेबारमा पर्दैन । त्यसले व्यवहारमा अनिश्चितता उत्पन्न गर्छ । त्यसैले कुन पर्व तिथि कहिले पर्छ भनेर जान्न पात्रो पल्टाउनै पर्ने वाध्यता हुन्छ । बर्र्षैपिच्छे मनाइने पर्व उत्सवहरु पोहोर फलानो गते मितिमा परेको थियो त्यसैले यसवर्ष पनि त्यतिखैर पर्छ भने अनुमान गर्नु गलत हुन्छ । यो वर्षको दशैको टीका कार्तिक महिनामा पर्न आयो । भर्खरै मंसिरको  पहिलो साता तिहार सम्पन्न भयो । सधैझैं तिहार कार्तिकमा मनाउन पाइएन । भैलो खेल्नेहरुले “कात्तिके दान” भनेर भैलो माग्न पाएनन् । हुन त परम्परा हो भनेर कात्तिक महिनाकै नाममा दानयाचना गरे होलान् । त्यसअर्थमा भैलो खेल्नेहरुको गल्ती होइन । त्यो कमजोरी चन्द्र क्यालेण्डरको हो । चन्द्र क्यालेन्डरले सदियौंदेखि समाजलाई यस्तै अन्योलको भूमरीमा घुमाइरहेको छ र पनि त्यसलाई सच्याउने चेत न सरकारहरुमा देखिएको छ न धार्मिक गुरुपण्डितहरुमा छ, न भुक्तभोगी समाजमा नै रहेको देखिन्छ । आफूले श्राद्धपूर्वक मनाउने बाबुआमा वा आफन्तको मरेतिथि क्यालेन्डरबाट कहिलेकाहीँ त गायव भएको हुन्छ । मरेतिथिमा आफन्तको श्राद्ध गर्न पनि पाइदैन । त्यो तिथि पात्रोमै हुदैन । आंैसी, पुर्णिमामा श्राद्ध गर्नु भनेको त अड्को पड्को तेलको धुप भनेजस्तो भएन र ? चन्द्र पात्रोको तिथिको सट्टा सौर्य पात्रोको गतेमितिमा पूण्यतिथि मान्ने गरेका भए त्यो समस्या नै आउँदैनथ्यो ।

अलिकता चर्चा भर्खरै सम्पन्न भएको तिहार पर्वको गरौं । तिहार पाँच दिन मनाइन्छ । पाँच दिन मनाइने भएकोले यमपञ्चक भनिएकोे हो भन्न मिल्दैन । यम यमीको होस् वा बलिराजाको अथवा बलिहाङको कथा नै किन नहोस् ,त्यो त किम्वदन्ति मात्रै हो ।  पाँच दिनमा पाँच पूजा गरेर मनाइने तिहार दक्षिण एसियामा मात्र प्रचलनमा छ । भारत, भुटान, वर्मा र नेपालमा यो पर्व अभ्यासमा रहेको छ । कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्ममा पाँच दिनलाई तिहार भनेर मानिन्छ । अरुजस्तै यो पर्व पनि चन्द्रवर्षको तिथि गणनाअनुसार मानिन्छ । जसरी ज्योतिषविद्याको जननी  युरोप हो भनेर मानिन्छ त्यसैगरी चन्द्र क्यारलेण्डरको आविष्कार पनि युरोपमै भएको हो । सुप्रशिद्ध खगोलशास्त्री ग्यालिलियोले अवैज्ञानिक भनिदिएपछि सारा युरोपले फलित ज्योतिष परित्याग ग¥यो ।  भारतीय उपमहाद्विपमा भने कसले त्यो परित्यक्त सिद्धान्त कहिले ल्यायो कुन्नी, आजसम्म जीवित छ । चन्द्र क्यालेन्डर पनि इसापूर्व ८,००० तिर स्कटल्यान्डमा जन्मिएको हो भनिन्छ । उता अवैज्ञानिक भनेर विस्थापित गरियो । यता भारतवर्षका अनुकरणकर्ताहरुले भने त्यही अवैज्ञानिक क्यालेन्डरलाई आजसम्म छेपारोले घोचो समातेको उदाहरण चरितार्थ गरिरहेका छन् ।

जति देशमा तिहार मानिन्छ ती सबैमा तिहार मनाउने चलन लगभग उस्तै उस्तै छ । दशंैको जस्तो विविधता र पृथकता यो पर्वमा देखिदैन । पहिलो दिन कागको पूजा गरिन्छ, दोश्रो दिन कुकुरको, तेश्रो दिन गाई र चोथो दिन गोरुको पूजा गरिन्छ । गोरुपूजालाई “गोवर्धन” पूजा भन्ने चलन आएको धेरै भएको होलाजस्तो लाग्दैन । महाभारत महाकाव्यमा कृष्णकथा लेखिएपछि त्यो नाम जोडिएको हुनुपर्छ । मानवका लागि उपयोगी र सहयोगी रहेका पशुहरुसँगै उनीहरुको चरिचरनको रुपमा गोवर्धन पर्वतको पनि प्रतीकात्मक पूजा गर्ने चलन बसेको हुनसक्छ । गोरुपूजाको दिन घरमा पालिएको अन्य जनावर भैसी, घोडा, बाख््राा, बोका र गधाको पनि पूजा गर्ने चलन छ । चार दिन पशुहरुको पूजा गरिन्छ र पाँचौ दिन दाजुभाइको ! पशुहरुको लहरमा मान्छेलाई उभ्याउने तिहारको चलन हास्यास्पद छ । त्यो परम्पराले मान्छे पशुजस्तै हो भन्ने संकेत गरेको हो कि जस्तो लाग्छ । दाजुभाइलाई कुकुर, काग, गाई र गोरुकै कित्तामा राखेर दिदीबहिनीहरुले पूजा गर्ने चलन एउटा परिहासपूर्ण परम्परा होइन भन्न मिल्दैन ।

हुन त तर्क सकारात्मक कोणबाट पनि गर्न सकिन्छ । कागले सडे गलेर दुर्गन्धित भएको फोहर एकाविहानै घरपरिशरबाट सफा गरिदिन्छ । गन्धका कारणले सर्पलेसमेत नखाने छुचुन्द्रो पनि कागले खाइदिएर मानिसलाई सफाई सुग्घरमा सघाउँछ । कुकुरले गर्ने मानवसेवाको वर्णन गर्नै परेन । गाई र गोरुको पनि मानवजीवनमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले वर्षको एकदिन ती सबै घरपालुवा जनानवरको उपकारको बदलामा पूजागर्ने चलन चलेको होला । दाजुभाईले पनि वर्षदिनभर आफ्नो रक्षा गर्छन् भनेर पशुहरुसँगै उनीहरुको पूजा गर्ने परम्परा बसेको होला । अथवा नारीहरु शारीरिक रुपमा कमजोर भएकोले उनीहरुको रक्षाकवच बनेकोे उपकारवापत पुरुषको पूजा गर्ने चलन चलाइएको हुनसक्छ ।

तिहार विशुद्ध समाजिक रीतिबाट विकसित भएको पर्व हो भन्न सकिन्छ । गाईपूजाको साँझ लक्ष्मीपूजा गर्ने चलन कहिले थपियो कुन्नी, त्यसदिन धनकी देवी लक्ष्मी घरमा प्रवेश गरुन् भनेर बत्ती बालिन्छ । घर लिपपोत गरेर शुद्ध बनाइन्छ । त्यो पछिल्लो चलन नयाँ मात्रै होइन, अज्ञानताको नमूना हो । गाईको पूजालाई गलत अर्थमा उपयोग गर्न थालिएको हो । त्यो नितान्त गलत बुझाईको परिणाम हो भन्न सकिन्छ । मानवसमाज विकासको कुनै चरणमा गाईको महत्वपूर्ण भूमिका र उपयोगिता थियो । दुध, मासु र सवारीसाधनको रुपमा गाईको उपयोग हुन्थ्यो । घुमन्ते आर्यहरुले गोमांस खान्थे । शुक्लयजुर्वेदका रचयिता याज्ञवल्क्यले शतपथ ब्राह्मणमा आफ्नी श्रीमती गार्गीले पकाएको बहरको मासु आफूलाई खुब मिठो लाग्ने भएकोले आफ्नो गर्दन पनि साँढेको जस्तै मोटो भएको छ भनेका छन् । देवताका राजा इन्द्रले पनि गोरुको मासु पकाउन सिपालु छिन् भनेर आफ्नी श्रीमती सचीको प्रशंसा गरेको ऋचा ऋग्वेदमा परेको छ । शिवको वाहन नन्दी अर्थात गोरु थियो । गाईको पुच्छर समातेर वैतरणी नामको नदी तर्ने कुरा पुराणहरुमा परेको छ ।  दुध, मासु र वाहनको रुपमा प्रयोग गरिदै आएको गाई कालक्रममा वस्तु क्रयविक्रयको साधन पनि बनेको देखिन्छ । वशिष्टले  सय गाई दिएर सुनशेप नामको  ब्राहमणपुत्र किनेर धर्मपुत्र बनाएको कथा पनि वेदमा परेको छ ।

रुपैया पैसाको काम गाईबाट लिने जमाना पनि थियो भन्ने कुरा मानव इतिहासमा देखिन्छ । त्यही अर्थमा गाईलाई गोधन अर्थात लक्ष्मी भनिएको हो । त्यसैले तिहारमा गाइपूजा गर्नु भनेको स्वभावतः लक्ष्मीपूजा मानियो । गाईले रुपैया पैसाको मान गुमाएपछि मान्छेले गाईको पूजा त गर्दै रह्यो तर लक्ष्मीपूजाको बेलुका धनधान्यको पूजा पनि गर्न थाल्यो । वास्तवमा त्यस्तो चेष्टा  गौपूजा भनेको लक्ष्मी अर्थात धनपूजा हो भन्ने भ्रमपूर्ण बुझाईको परिणाम थियो । तिहारमा पूजिने दुधदाता गाईको हो, मांसदाता गाईको हो । धनसम्पत्तिको पूजा होइन । कुनै जमानामा मानिसले गाइलाई लक्ष्मी नाम दिएको हो । तिहार भनेको जीवित प्राणीको पूजा गर्ने परम्परा हो, जड वस्तुको पूजा गर्ने दिन वा पर्व होइन । कुन उट्पट्याङले लक्ष्मीपूजा भनेको धनपूजा हो भन्ने हल्ला चलायो । कान नछामी कौवाको पछि दौडने मानव समाजले साँचै होला भनेर पत्यायो र प्रकृति पूजाको सुन्दर परम्परामा एउटा कुरुप ऐंजेरु थप्यो कुन्नी ?! –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here