ट्रम्पको पराजयले नेपालको राजनीतिमा पार्ने प्रभाव

123

– निमकान्त पाण्डे

अमेरिकामा हालै भएको निर्वाचनबाट राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको हार र बाइडेनको जितसँगै विश्वको समग्र क्षेत्रलाई यो नतिजाले कस्तो असर वा प्रभाव पार्ला भन्ने विश्लेषण सुरु भएको छ । निकै अनुदार मानिने राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकाको विभिन्न देशहरुसँगको सम्बन्धमा उतारचढाव आयो । उनीभन्दा विपरीत विचारधाराका मानिने बाइडेनको उदयले अमेरिकाको नयाँ राजनीतिक परिदृश्य, उसका नीति र चासोको क्षेत्र फरक हुने निश्चित नै छ । विश्वको सबैभन्दा शक्तिशाली देश भएकाले पनि अमेरिकाको अबका नयाँ कदमले अन्य देशलाई पक्कै पनि थोरबहुत प्रभाव पार्ने देखिएको छ ।

नेपालजस्तो सानो अर्थतन्त्र र विश्व राजनीतिमा प्रभावशाली उपस्थिति नभएको मुलुकलाई अमेरिकामा नयाँ नेतृत्व आउँदा दुई देशको सम्बन्धमा तत्काल ठूलो उथलपुथल आउने अनुमान गर्न सकिँदैन । तर पनि अमेरिका र नेपालबीच विशेष सम्बन्ध रहिआएकाले नयाँ नीतिले प्रभाव भने पक्कै पर्नेछ । अमेरिकाको नीतिले फरक पार्ने राष्ट्रसंघीय कार्यक्रमहरु नेपालमा सञ्चालन हुँदै आएको छ । अमेरिकाको प्रत्यक्ष लगानीमा नेपाललाई विभिन्न आयोजना निर्माण र सहयोग पनि प्राप्त हुँदै आएको छ । विभिन्न वस्तुको अमेरिका निर्यातमा पनि नेपालले विशेष छुटका सुविधा पाउँदै आएको छ । पछिल्लो समय नेपाल सामरिक हिसाबले पनि विश्वमा महत्वपूर्ण मानिन थालेको छ ।

 विश्वको सर्वशक्तिमान् बन्ने होडमा रहेको चीन र उदाउँदो आर्थिक शक्ति भारतको बीचमा रहेको कारणले पनि नेपालको सामरिक महत्व बढेको हो । त्यही कारणले पछिल्लो समय अमेरिकाले पनि नेपालसँगको सम्बन्धलाई महत्व दिन थालेको छ । त्यसमाथि ठूलो संख्यामा नेपालीहरु अमेरिकामा बसोबास गर्दै आएका छन् । त्यसैले नयाँ नेतृत्वले अमेरिका र नेपालबीचको सम्बन्धमा पार्ने प्रभाव र अमेरिकाको नेपालप्रतिको हेराइ कस्तो होला भन्ने विषय पक्कै पनि चर्चायोग्य छ ।

पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाको एमसीसी परियोजना नेपालमा लागू गर्ने विषय सर्वाधिक चर्चाको विषय बन्यो । यो परियोजना नेपालमा कार्यान्वयन गर्ने बारेमा यसअघि नै दुई देशबीच सम्झौता र विभिन्न चरणमा काम हुँदै आएको थियो । तर, कार्यान्वयनको अन्तिम चरणअन्तर्गत नेपालको संसद्बाट पारित गर्ने विषय सतहमा आएपछि यसले सर्वाधिक चर्चा र आलोचना खेप्नुप¥यो । एमसीसी परियोजनालाई संसदबाट पारित गराएर नेपालको संविधान र कानुनभन्दा माथि राख्ने अमेरिकी प्रयासलाई सफल गर्न आनाकानी गरेकै कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा विभिन्न षड्यन्त्रको शिकार हुँदै पदबाट नै हट्नुपरेको घटना बिर्सन मिल्दैन ।

अमेरिकासँग ५० करोड अमेरिकी डलर अर्थात् झण्डै ६० अर्ब रूपैयाँ अनुदानमा लिने गरी गरिएको सम्झौता प्रतिनिधिसभामा अनुमोदनका लागि दर्ता भएसँगै विवादित बनेको थियो । उक्त परियोजनालाई जसरी पनि नेपालमा लागू गराइछाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अड्डी कसेका थिए । तर सर्वत्र आलोचनाका कारण प्रधानमन्त्री ओलीको उक्त योजना सम्पन्न हुन सकेन । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली जनताको विरोध रहेको एउटा अमेरिकी प्रोजेक्टमा खुलेआम समर्थनमा उत्रनुले यो परियोजनामार्फत नेपालको सार्वभौमसत्ता नै खतरामा पर्ने सम्भावना देखिएको बुद्धिजीवीहरुको पनि विश्लेषण थियो । त्यतिमाथि नभएर यही परियोजनाका कारण डबल नेकपाका नेताहरु नै दुई कित्तामा उभिने अवस्था आयो । केहीले नेपालले एमसीसीअन्तर्गत प्राप्त हुने सहयोग लिन नहुने तर्क गरे भने केही नेकपा नेताहरुले सहयोग लिँदा कुनै असर नपर्ने धारणा राखे । यसले डबल नेकपामा पनि अमेरिकी प्रभाव परेको अनुमान गर्न कत्ति पनि गाह्रो पर्दैन । ट्रम्प प्रशासनको उक्त नीतिमा बाइडेनको जितले परिवर्तन आउन सक्ने आशा गर्न सकिन्छ ।

एमसीसी परियोजना मात्र नभएर ट्रम्पको कार्यकालमा नेपालमा विद्रोहरत नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने काम भयो । प्रतिबन्धित नेकपाले नेपालको वर्तमान शासक र उसको कार्यशैलीप्रति असहमति जनाउँदै आएको छ । साथै विदेशी हस्तक्षेप र साम्राज्यवादविरुद्ध विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आवाज उठाउने र जनसंगठन खडा गर्ने काम गर्दै आएको छ । अमेरिकाको एमसीसी परियोजनाबाट नेपालको सार्वभौम नै खतरामा पर्ने जस्ता धारणा पनि प्रतिबन्धित नेकपाले मुखरित गर्दै आएको छ । जनप्रिय बन्दै गएको उक्त पार्टीलाई ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको छ । विगतमा तत्कालीन माओवादी पार्टीप्रति अमेरिकाको नीति देख्दै आएको कारण पनि, अहिले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनुमा अमेरिकाको नै जोडबल रहेको पनि आशंका गरिएको छ । अमेरिकाको नयाँ नेतृत्वले ट्रम्प प्रशासनको उक्त योजनालाई निरन्तरता दिन्छ कि परिवर्तन गर्छ भन्ने अर्को विचारणीय विषय बनेको छ ।

अमेरिकामा ट्रम्प प्रशासनजस्तै नेपालमा पनि ओली नेतृत्वको सरकारले जनताको आम आकांक्षा पूरा गर्न सकेको छैन । डबल नेकपाले स्थिर शासन, आर्थिक विकास र सुशासनको वाचा गर्दै जनताबाट बहुमत प्राप्त गरेको थियो । तर, ती वाचा पूरा गर्न भने डबल नेकपा असफल भएको छ । मुलुकमा भ्रष्टाचार झनै बढेको छ भने सत्तारुढ नेकपामा किचलो बेलाबेलामा चर्किने गरेको छ । अहिले त पार्टी नै फुट्ने गरी दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच विवाद चुलिएको छ । अनुदार ट्रम्पको नेतृत्व पतनसँगै विश्वमा त्यस्तै शासन प्रणाली चलाइरहेका शासकहरुको पनि पतनको बाटो नआउला भन्न सकिन्न । नेपालमा पनि अनुदार र आलोचना सुन्न पटक्कै मन नपराउने ओलीको सत्ता पनि अहिले धरापमा परेको छ । अमेरिकी नयाँ नेतृत्व र नीतिसँगै यसले नेपालको राजनीतिमा पनि प्रभाव पर्नेमा कुनै दुईमत देखिँदैन ,  सबैलाई चेतना भया ! –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here