नेपालको क्रान्तिमा अनुभवी र बृद्द क्रान्तिकारी कम्युनिष्ट नेताहरुको भूमिका बारे

40

—डा. शम्भु कट्टेल

कमरेड मोहन बिक्रम सिंह, मोहन बैद्य किरण, नारायणमान बिजुक्छे, चित्र बहादुर केसी, सीपी मैनाली, सीपी गजुरेल र रिषी कट्टेल जस्ता सत्ता इतरका ७० बर्ष कटेका इतिहास बोकेका बिभिन्न कम्युनिष्ट पार्टीका नेताहरुबाट जनताले निकै अपेक्षाहरु राखेका छन् । वहॉहरुबाट मात्र हैन, वहॉहरुप्रति पनि जनताका दायित्वहरु छन्। यो छोटो टिप्पणीमा युवा कम्युनिष्ट नेताहरुले यी अपेक्षाहरु र दायित्वहरुलाई कसरी लिने भन्ने वारे बिषय(प्रवेश मात्र गर्न चाहन्छु।

नेपालमा उपरोक्त औशत बृद्द नेताहरु प्रति जनताको जति श्रध्दा र आशा छ, त्यति (एकाधलाई छोडेर) अधबैंसे वा युवा नेताहरु प्रति बनिसकेको देखिदैन। जनयुध्दमा बारुद बनाउन जानेका र बन्दुक बोकेका कार्यकर्ताहरुबाट पनि भोलि केही नेतृत्व जन्मिएला, तर आज त्यो सतह मुनि नै छ। केही अधबैंसे नेताहरु त हुनुहुन्छ तर वहॉहरुको ती पाका नेताहरु, जसमध्ये धेरैजसो सत्ता इतर बैधानिक आन्दोलनमा आफ्नो जीवनको ठूलो हिस्सा बिताएकाहरु हुनुहुन्छ, संग राम्रो ताल सूर मिलेको देखिदैन। त्यतिमात्र होइन, ती बृद्द नेताहरुले आफ्नै दलमा पनि आफू दलको संरक्षक वा सल्लाहकारको भूमिकामा बसेर युवा नेताहरुको टीमलाई सचेत रुपमा क्रमशः उत्तराधिकारी नेतृत्व विकास गर्न प्रयास गरेको पनि धेरै देख्न पाइदैन। युवा नेताहरुले पनि यी अनुभवी र बृद्द नेताहरुमा निहित संभावनाहरुलाई समयमै आन्दोलनको उठान र बैकल्पिक नेतृत्वको काममा नलगाएमा केही बर्ष भित्रै सो संभावनाहरुलाई सदाका लागि गुमाएर जनमान्य नेतृत्व रिक्तताको सामना गर्नु पर्ने हुनसक्छ। पाका नेताहरुमा आधुनिक श्रमजीवी जीवनको अनुभव र समाजवादी समाजको वास्तविक अनुभव नभए पनि वहॉहरुमा  जनवादी रुपान्तरणको निष्ठा र अभ्यासको अनुभव प्रचुर मात्रामा छ र जनवादी क्रान्ति संगठित गर्न वहॉहरुको भूमिका महत्वपूर्ण हुन्छ।

यी नेताहरुले सकेसम्म अधुरो जनवादी क्रान्तिकै पूर्णताको लागि आफूहरुलाई मोर्चावन्दी गर्ने, सो नसके अन्तरिम वा संक्रमणकालीन जनसरकारको लागि मोर्चावन्दी गर्ने र सो पनि नसके वर्तमान संबिधान र संरचना मातहतकै स्वच्छ जनमुखी सरकार संचालनको लागि चुनाबी मोर्चा बनाएर जनवादी क्रान्ति हुंदै समाजवादतर्फको जनमुक्ति युध्द गर्ने युवाहरुका लागि सहयोगी आधार तयार गर्न सक्नुहुन्थ्यो। वहॉहरुले सबभन्दा प्रारंभिक चरणको बाटो रोजेमा युवा नेताहरुले वहॉहरुसंग मोर्चावन्दी गरी राष्ट्रिय स्वाधीनताका युध्दहरु, सेवा तथा बित्तीय क्षेत्रको जनमुखीकरण र राष्ट्रियकरण र उत्पादन क्षेत्रको जनसहकारीकरण र समाजिकीकरणका युध्दहरु संचालन गर्न सक्नुहुन्थ्यो।

माओवादी नेतृत्व क्रान्तिकारी भएको भनिएको अवस्थामा पनि जनवादी प्रतिस्पर्धा अथवा एक किसिमको बहुदलीय जनवाद त स्वीकारेकै थिए, यसमा कसैले विमति जनाएनन्। चुनवांग बैठकबाट त प्रष्टै रुपमा यो बाटो समातेको हो र सात दलसंगको संझौता र बृहत शान्ति संझौताबाट  लिखित रुपमै चुनाबी बाटो समाउदा पनि हामी मध्ये धेरैले उनिहरुलाई क्रान्तिकारी देखेर  चुनावमा पसीना बगाउने र त्यही पार्टीमा बसेकै हो। अस्तिसम्म पनि सैध्दान्तिक बाटोको छिनोफानो नगरी दीर्घकालीन रुपले संसदीय बाटो (अझ दलाल पूंजीवादी बाटो) लिएकाहरुसंग दलीय एकता गर्नेहरुले ब्यक्तिगत जीवन शैली, भ्रष्टाचारमा संलग्नता देखिएकै हो । यति हुँदा हुँदै पनि गरीब जनतालाई राहतमा नचुकेका भए त ठीकै गरेका हुन् कि भन्ने हामीबीच अझै निक्कै छन्। यस्तो दललाई प्रतिक्रियावादी भन्न हुदैन भन्नेहरु र भने पनि त्यसैमा टॉसिनेहरु अझै पनि छन्। यो बिडम्बनापूणर्् अवस्था हो ।

सैध्दान्तिक रुपमा कम्युनिष्टको शब्दावलीमा पनि चुनाव भन्ने शब्द हुन्छ । प्रतिनिधिको छनौट जुन ब्यवस्थामा पनि चाहिन्छ र यो चुनाव द्वारा नै हुन्छ ।  खालि कत्तिको प्रतिनिधिमूलक चुनाव वा कुन किसिमको चुनाव भन्ने मात्रै हो। त्यसमा पनि हामीले लिने नीतिको मूल आधार के ले श्रमजीवी वर्गको मुक्तिको लागि सघाउ पुग्छ भन्नेलाई बनाउनु पर्छ। श्रमजीवीको हितमा ज्यान छोडेर लाग्ने लेनिन र माओले पनि समय समयमा चुनावी दलहरुसंगको कार्यनीतिक एकतामा ध्यान दिएको, चुनावलाई जन प्रतिनिधि छान्ने बिधिको रुपमा लिएको र पछि आएर एक देश दुई ब्यवस्थासम्म अपनाएका उदाहरणहरु छन्।

सरकारी लाभ नलिई सत्ता बाहिर बसेका हाम्रा पाका नेताहरुको संसदीय चुनावी मार्गलाई एउटा सानो हिस्साको रुपमा लिइएको हो, युवाको नेतृत्वको ठूलो शक्ति त सडक आन्दोलन मै हुन्छ (एक नदी , दुई भंगालोको रुपमा)। हो, संसदीय चुनाव साधारणतया कार्यनीति नै हुनुपर्छ, रणनीति होइन। यो सुझाव सबैभन्दा बुढा कमरेडहरुको लागि सबभन्दा चुत्थो बिकल्पका रुपमा सुझाइएको हो, ‘नहुनु भन्दा कानो मामा निको’ को रुपमा । बुढा नेताहरु मध्ये अत्यधिक नेताहरुले समाजवाद भन्दा जनवादमै बढी चिन्तन मनन गर्नु भएको छ र त्यसैमा विज्ञता पनि छ। त्यसैले पहिलो बिकल्पको रुपमा जनवाद , जन गणतंत्रमा सक्रिय सहभागिता, त्यो नसके दोश्रो वर्तमान ब्यवस्थाको बिकल्पमा नया जनमुखी बिधान, नया जनमुखी संरचना सहितको संक्रमणकालीन ब्यवस्था र सरकारको लागि आन्दोलनमा सक्रिय सहभागिता र सो पनि नसके मात्रै तेश्रो र चुत्थो मोर्चा, बैधानिक आन्दोलनको मोर्चा (जसमा चुनावी कुरा पनि पर्दछन्) , को काम वहॉहरुले संहालिदिने भनेको हो । आख़िर कसै न कसैले आन्दोलनको एउटा भंगालोको रुपमा  बैधानिक मोर्चा संचालन गर्नै पर्छ, त्यो पाका नेताहरुले गरे हुन्थ्यो भनेको हो।

पाका नेताहरु कस्तो भौतिक वातावरणमा बॉचिरहनु भएको छ ? बुढेसकालको सुरक्षा के छ भन्ने कुराले पनि वहॉहरुमा ऑट आउने वा मर्ने, कस्तो बाटो लिने भन्ने कुरामा असर पार्दछ । धेरैजसो पार्टीहरुमा बृद्द, बृद्दाहरुप्रति सुरक्षा नीति भएजस्तो लाग्दैन र वहॉहरु ज–जसको जे ब्यक्तिगत रपारिवारिक स्थिति छ, जे जस्तो आर्थिक सामर्थ्य छ, त्यही अनुसारको ब्यक्तिगत जीवनयापन भइरहेको छ जस्तो लाग्छ। यो ब्यक्तिगत जीवनले वहॉहरुलाई निम्नपूंजीवादी सोचको विकास गर्ने र जीवनयापनकै कठिनाई भएका अवस्थामा आँट कमजोर हुने, संगठनात्मक काममा समय नपुग्ने आदि हुनसक्छ। यी समस्याहरुलाई सामूहिक रुपले हलगरी सामाजिक जिवन दिन सकेमा यसले वहॉहरुप्रतिको दायित्व निर्वाह हुनुका साथै वहॉहरुमा निहित संभावनाहरुलाई बढी जागृत गर्न र चित्त शुद्दिमा मद्दत पुग्न सक्थ्यो कि ?!– (लेखक माक्र्सबादी एकता अभियान नेपालका संयोजक हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here