जनताको जनवाद,अन्तरपार्टी जनवाद र सर्वहारा जनवाद

16

–हुकुमबहादुर सिंह

एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी तीनखाले अन्तरसम्वन्धित जनवादद्धारा बाँधिएको हुन्छ । नेपालका घेरै कम्युनिस्ट पार्टीहरुले जनवादको कुरा गर्दा पार्टीभित्रको जनवादको मात्रै कुरा गरेको पाइन्छ । त्यो पनि आफ्ना र आफ्ना समूहका लागि जनवाद । तर माओले यसलार्इ सन्  १९६२ को जनवरीमा यसरी स्पष्ट पार्दै भनेका थिए, ‘जवसम्म हामीले जनताको जनवाद र अन्तरपार्टी जनवादलाई पूर्णरूपले प्रवद्र्धन गर्दैनौ र जवसम्म हामीबाट सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गरिदैन, चीनका लागि साँचो सर्वहारा जनवाद हुन असम्भव हुनेछ । जनवादको उच्चता विना केन्द्रीयताको उच्चता असम्भव छ र केन्द्रीयताको उच्चता विना समाजवादी अर्थतन्त्र स्थापना असम्भव छ । र यदि हामी समाजवादी अर्थतन्त्र स्थापना गर्न असफल हुन्छांै भने हाम्रो देशको लागि के हुनेछ ? यो एउटा संशोधनवादी राज्यमा परिवर्तन हुनेछ, वास्तवमा एउटा पुँजीवादी राज्य, र सर्वहाराको अधिनायकत्व पुँजीपतिको अधिनायकत्व र त्यसमा एउटा प्रतिक्रियावादी, फासिष्ट  अधिनायकत्वमा परिवर्तन हुनेछ ।’

माओका उल्लेखित भनाइहरु कति सान्दर्भिक देखिन्छन् अहिलेको नेपाली कम्युनिस्टहरुका लागि ? खासगरी सत्ताधारी कम्युनिस्टहरुका लागि । नेपालीहरुको ठूलो जनमत अहिले यीनै सत्ताधारी कम्युनिस्टहरुका पछाडि लागेर कम्युनिस्ट हांै भनेर हिंडिरहेका छन् । माओका उल्लेखित भनाइहरुको बुझाइमा एउटा सही कम्युनिस्ट हुनका लागि अन्तरपार्टी जनवाद र जनताको जनवाद भनेर मात्रै काफी छैन, त्यसका लागि अति नै महत्व राख्ने भनेको सर्वहारा जनवाद हो । यदि अन्तरपार्टी जनवाद र जनताको जनवाद छ तर सर्वहारा जनवाद छैन भने त्यो सर्वहाराको अधिनायकत्व नभई पुँजीपतिको अधिनायकत्व हुन जान्छ र त्यो क्रमशः एउटा प्रतिक्रियावादी, फासिष्ट  अधिनायकत्वमा परिवर्तन हुने स्पष्ट छ ।

अहिले नेकपा(नेकपा)मा जे भइरहेको छ, त्यो त्यहाँ न जनताको जनवाद छ नत अन्तरपार्टी जनवाद छ । सर्वहारा जनवाद त उनीहरुको दिमागमै छैन । त्यसैले त्यो एउटा कम्युनिस्ट पार्टी नभई ओली र उनका चाटुकारहरुको एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने सम्भावना स्पष्ट देखिंदै छ ।

ऐतिहासिक अनुभवबाट पाठ सिक्दै, माओले निम्न पद्धतिमा अन्तरपार्टी सङघर्षका तरिकाहरू प्रस्तुत गरेका छन् । ‘पार्टीका सबै नेतृत्वदायी सदस्यहरूले अन्तरपार्टी जनवादलाई प्रवद्र्धन गर्नै पर्दछ र जनतालाई खुलेर बोल्न दिनु पर्छ । सिमाहरू के हुन् ? पहिलो–पार्टी अनुशासन पालना गरिनु पर्छ, अल्पमत बहुमतको मातहतमा र समस्त सदस्य केन्द्रीय समितिप्रति । अकार्–े सिमा भनेको गोप्य फयाक्सन संगठित गर्न  पाइने छैन । हामीहरूलाई  खुला विरोधीहरूको डर छैन, हामीहरू गोप्य विरोधीहरूको मात्रै डर मान्छौ । यस्ता मानिसहरू तिमीसंग सत्य बोल्दैनन्, तिनीहरूले जे भन्दछन् भूुठ र फरेव मात्रै भन्दछन् । तिनीहरू उनीहरूको वास्तविक मनोभाव प्रस्तुत गर्दैनन् । जहाँसम्म एउटा मानिसले नियम उलङघन गर्दैन र गोप्य फयाक्सनले कृयाकलापमा संलग्न हुदैन, हामीले उसलाई बोल्न छुट दिनु पर्छ र यदि उसले गलत कुरा भनेता पनि उसलाई दण्ड दिइनु हुदैन । यदि मानिसले गलत चीज भन्दछ, उनीहरूलाई आलोचना गर्न सकिन्छ, तर उनीहरूलाई हामीले कारण सहित सम्झाउनु पर्छ । यदि उनीहरू अझै पनि सम्झदैनन् भने के गर्ने ? जवसम्म तिनीहरू प्रस्तावहरूद्धारा र नियमहरुद्धारा वाँधिएका हुन्छन् र बहुमतले लिएका निर्णयहरूमा अल्पमतले आफ्नो मतलाई कायमै राख्दै कार्यान्वयनमा दिलो ज्यानले लाग्दछन्, तिनीहरू पार्टीभित्रकै क्रान्तिकारी कमरेडहरू हुन् ।’

 माओको यो बुझाई आफैमा यति स्पष्ट थियो कि जवसम्म समाजमा वर्ग सङ्घर्षको अस्तित्व रहिरहन्छ, त्यसवेलासम्म पार्टीमा त्यसको प्रतिविम्व माओको शब्दमा वर्ग सङ्घर्ष नै चलिरहन्छ जसलाई उहाँले पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष भन्नु भएको छ । त्यसकारण यो खालको सङ्घर्षलाई सञ्चालन गर्ने विधि भनेको जनवादी केन्द्रीयता अनुसार खुल्ला लडाई गरिनु पर्दछ । यसरी माआकोे दुई लाइन सङ्घर्षको अवधारणाको उनको बुझाई र कार्यान्वयनमार्फत वर्गहरू, वर्ग सङ्घर्ष र अन्तरपार्टी सङ्घषलाई एउटा सही द्धन्दात्मक  पद्धतिमा ल्याउने प्रयास थियो ।

के सही हो भने कम्युनिस्ट पद्धति, जो द्धन्द्धात्मक भौतिकवादमा आधारित हुन्छ समाजमा विद्यमान वर्गहरूको परावर्तनको रूपमा कम्युनिष्ट पार्टीभित्र वेठिक मतहरूलाई हेर्नु आवश्यक हुन्छ । यसरी जुन लामोसम्म समाजमा वर्गसङ्घर्ष निरन्तर भइरहन्छ, पार्टीभित्र विचारधारात्मक सङघर्षमा यसको परावर्तन अनिवार्य छ । अहिले नेकपा(नेकपा)भित्र यही भइरहेको छ । तर विडम्वना के भएको छ भने उक्त पार्टीभित्र सही र गलतका बीचमा अन्तरपार्टी संघर्ष नभई गलत र गलतका बीचमा पद, पैसा र प्रतिष्ठाको लडाइ मात्र भइरहेको छ, जो एउटा कम्युनिस्ट पार्टीमा नभई पुँजीवादी पार्टीमा भइरहन्छ ,।

रुप र नाममा नेकपा(नेकपा) एउटा कम्युनिस्ट पार्टी भनिएता पनि सारमा ओली र उनका चाटुकारहरुको एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने सम्भावना भएको पार्टी, जहाँ जनताको जनवाद नाममा छ, अन्तरपार्टी जनवाद कुरामा छ र सर्वहारा जनवाद त उक्त पार्टीको दिल, दिमाग, दस्तावेज कहीं पनि छैन । सारमा जवसम्म हामीले जनताको जनवाद र अन्तरपार्टी जनवादलाइ प्रवद्र्धन गर्र्दै सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गर्दैनौ तवसम्म हामी सही मानेमा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्र्टीका नेता तथा कार्यकर्ता हुन सकिदैन । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here