राजनीतिक दलका नेताहरू राजनीतिलाई ब्यापार बनाईरहेका छन्

20

–प्रीति रमण

नेपालमा राजनीतिक स्वतंत्रता प्राप्त भएको धेरै भएको छैन । तर पनि राजनीतिप्रति र राजनीतिक दलका नेताहरुप्रति जनतामा घृणा पैदा भैरहेको पाउन थालिएको छ । कारण के होला भनेर बुझ्ने चासो स्वयम राजनीति गर्ने नेताहरुलाई नै हुनु पर्ने हो , तर पनि नेताहरुमा कुनै चासो भएको पाईदैन । नेपालमा जहानिया राणा शासनको अन्त्यसँगै राजनीतिक स्वतंत्रता प्राप्त भएको हो । प्रजातान्त्रिक व्यवस्थामा नेपालमा राजनीतिक दलहरुको उदगमले एउटा महत्वपूर्ण अवसर पायो । बिसं २००७ मा प्रजातन्त्रको स्थापना भएसँगै खुल्ला राजनीतिको वातावरण सिर्जना भयो । त्यस अवधिमा विभिन्न मिसनसहित u दलहरूको पनि गठन सुरु भएको हो । तर विं। सं। २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गर्दै निर्दलीय प्रजातन्त्रको स्थापना गरेपछि करिब ३० वर्षको अवधिमा खुल्ला राजनीतिक वातावरणको अवस्था रहेन । तर पनि मिसनसहित स्थापना भएका राजनीतिक दलहरूले भूमिगत रूपमै भएपनि आ–आफ्ना मिसन केन्द्रीत गतिविधिलाई निरन्तरता दिँदै आएका हुन् ।

 राजनीतिक दललाई प्रतिबन्ध गरिएको अवस्थामा पनि राजनीतिक गतिविधि सञ्चालन गरेकै कारण वि पि कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले लामो समय जेल नेल र भूमिगत जीवन व्यहोर्नु प¥यो । भूमिगत शैलीमै पनि आफ्ना मिसनमा दलहरू लागिरहेकाले २०४६ सालको जनआन्दोलन र प्रजातन्त्रको पुनस्थापना सम्भव भएको हो । थप राजनीतिक स्वतंत्रतामा केन्द्रीत राजनीति २०६२÷०६३ को जनआन्दोलनसम्म पनि महसुस ग्िरयो । २०५२ सालबाट सशस्त्र युद्ध सुरु गरेको तत्कालीन नेकपा माओवादीले पनि राजनीतिक अधिकारकै मिसनको राजनीति सुरु गरेको थियो । मिसनकै राजनीति गरेका कारण प्रजातन्त्रको स्थापना, पञ्चायतको अन्त्य, प्रजातन्त्रको पुनस्थापना, सशस्त्र युद्ध, राजतन्त्रको अन्त्य र ०६२÷०६३ को जनआन्दोलनसँगै मुलुक शान्ति प्रक्रियामा पनि अघि बढ्न सफल भएको हो ।

राजनीतिक स्वतंत्रता प्राप्त भए पनि राजनीतिक दलहरुले जनता र देशप्रतिको जिम्मेवारीबोध गरेको पाईएन । यही कारणले गर्दा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक शक्ति प्रयोग गरेर अगाडि बढ्न खोजे पनि देश र जनता प्रतिको जिम्मेवारीलाई नबुझ्दा २४० वर्ष पुरानो आफ्नो सत्तालाई गुमाउनु परेको होे ।

पछिल्लो समय राजनीतिक दलहरूमा पनि मिसन राजनीतिको अभाव देखिन थालेको छ । दलका नेताहरुको मिशन नै धन कमाउने देखिन्छ । राजनीतिक मिसन भन्दा पनि व्यक्तिका पदीय आकांक्षा र आर्थिक रुपमा सम्पन्न बन्ने चाहनाले प्राथमिकता पाउँदा ठूला भनिएका राजनीतिक दलहरूमा समेत व्यक्ति र परिवारवाद हावी भैरहेको अवस्था छ । राजनीति धन आर्जन गर्ने ब्यापार बनिरहेको छ । यसको परिणाम मुलकको शासन व्यवस्थामा नकारात्मक प्रभाव  प्रष्ट देखिन थालेको छ । जनताका समस्याहरु झनै बिकराल बनिरहेको अवस्था छ ।

प्रजातन्त्र र समाजवाद सहितको राजनीतिक उद्देश्य बोकेको नेपाली कांग्रेसले इतिहासदेखि वर्तमान अवस्थासम्म पटक–पटक गरेका गल्ती र राजनीतिक उद्देश्यबाट धर्मराउँदा मुलुकले निकै ठूलो क्षति ब्योहोर्दै आएको छ । जनताको अधिकारका लागि लड्छौँ भन्ने हालका सत्तारुढ कम्युनिस्टहरू समेत आफ्नो मिसनबाट धर्मराउँदा मुलुकले थप क्षति व्योहोर्दै आएको छ । एकातर्फ जनतासँग गरेको प्रतिवद्धताप्रति इमान्दार नहुने र अर्कोतर्फ राष्ट्रियता र राष्ट्रिय हित जस्ता महत्वपूर्ण विषयमा कम्युनिस्ट पार्टीको सरकारको ध्यान नजाँदा जनतामा निराशा बढ।दो छ ।  जनताको तहमा देखिएको निराशा र आक्रोशले के संकेत गर्छ कि वर्तमान सरकारको बिकल्प जनताले आवश्यक ठानिरहेका छन् । तर बिकल्प दिनसक्ने गरी कुनै पनि राजनीतिक दल जनताका अगाडि देखिन सकेका छैनन् ।

एकातर्फ सत्तापक्षमा मुलुक र जनताप्रतिको जिम्मेवारीबोध नहुने र प्रतिपक्ष पनि राजनीतिक मिसन भन्दा व्यक्तिवादी चरित्रबाट निर्देशित हुँदै नाताबाद र कृपाबादमै लागिरहने गर्दा देशको अवस्था चिन्ताजनक देखिन्छ ।  राजनीतिक दलहरूमा पार्टी स्थापनाको उद्देश्य र मुलुकप्रतिको जिम्मेवारीबोध नहुँदा र राजनीतिक मिसनबाट व्यक्तिवादी सोँचतर्फ अघि बढ्दा यस्तो समस्या देखिएको हो । नेताहरुले राजनीतिलाई धन कमाउने माध्यमका रुपमा ब्यापार जस्तै बनाउने काम नरोके सम्म देशलाई समुन्नतितर्फ लैजान सकिएला भनेर आशा गर्नु बेकार नै छ जस्तो लाग्छ ।–जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here