मेराे जीत भनेको व्यवसायीको जीत

140

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिनुभएको छ । विजयीपश्चात पत्रकारसँग कुरा गर्दै ढकालले व्यवसायीसँगको न्यानो सम्बन्धले नै आफूले जितेकाले आफ्नो जीत सम्पूर्ण व्यवसायीहरूको जीत भएको जनाएका  छन् ।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिनुभएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जीत भनेको सम्पूर्ण व्यावसायिक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

यस्तै, एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने जनाउनुभयो ।

जिल्ला नगर तर्फका उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने जनाउनुभयो । त्यसैगरी, साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगत तर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो- ‘कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझि सकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्नतर्फ अगाडि जाने हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here