जसपामा किचलोका कारण नीति आयोग सदस्यविहीन

92

जनकपुर – प्रदेश २ को नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई प्रदेश सरकारले नियुक्त गरेको करिब एक वर्ष भएको छ । तर अहिलेसम्म पनि सदस्यहरुको नियुक्ति हुन सकेको छैन । मुख्यमन्त्री अध्यक्ष रहेको आयोगमा प्रदेश सरकारबाट नियुक्त एक उपाध्यक्ष, एक महिला सहित बढीमा ६ सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्यसचिव रहनेगरी समावेशीकरणको सिद्धान्त बमोजिम बढीमा ८ जना सम्मिलित आयोग गठन हुने व्यवस्था छ ।

सो अनुरुप आर्थिक वर्ष २०७४/०७५ मा एक उपाध्यक्ष र एक सदस्यको नियुक्ति भए पनि आर्थिक वर्ष २०७५/०७६ मा ३ सदस्य थप भई पदेन समेत ७ सदस्यीय आयोग गठन भएको थियो । तर सोही वर्ष सबै सदस्यलाई दफा १५ बमोजिम हटाएपछि आयोगमा अहिले उपाध्यक्षमात्र छन् ।
तत्कालीन उपाध्यक्ष डा. हरिवंश झासहित सबै सदस्यलाई हटाइए पनि अहिलेसम्म उपाध्यक्ष बाहेक कुनै सदस्यको नियुक्ति गरिएको छैन । सत्तारुढ जसपा नेपालभित्रको किचलोका कारण अहिलेसम्म आयोगका सदयहरुको नियुक्ति हुन नसकेको हो ।
सदस्यहरुको नियुक्ति नगरिएका कारण काम गर्न समस्या भइरहेको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले बताए । उनले आफु नै सबै विषयको जानकार नभएका कारण अन्य विषयमा सदस्यहरुको अपरिहार्य आवश्यकता रहेको बताउँदै प्रदेशको नीति निर्माणमा समेत आफुलाई समस्या हुने गरेको सुनाए ।

गठन भएलगतै आयोगको उपाध्यक्षमा डा.हरिवंश झा र सदस्यमा डा. सुरेन्द्र झा, मोहन लाल चौधरी, राजकुमार लेखी, डा. वैद्यनाथ महतो नियुक्त भएका थिए । जसमा उपाध्यक्ष झा, सदस्य महतो र चौधरी तत्कालीन समाजवादी पार्टीबाट नियुक्त भएका थिए भने सदस्यमा रहेका डा. सुरेन्द्र कुमार झा, राजकुमार लेखी भने राजपा नेपालबाट नियुक्त भएका थिए । उपाध्यक्ष झासहित सदस्यहरुलाई २०७६ भदौ २१ गते हटाइएको थियो ।

त्यसपछि आयोगको उपाध्यक्ष नियुक्त गरिए पनि सत्तारुढ पार्टीमा देखिएको आन्तरिक किचलोका कारण सदस्यहरुको टुंगो लाग्न सकेको छैन । विगतमा राजपा र समाजवादी पार्टीभित्रै सदस्य नियुक्तिमा विवाद देखिएको थियो भने अहिले पार्टी एकतापछि नवगठित जसपाले पार्टी समायोजनको कामलाई नै महत्व दिएका कारण आयोगमा नियुक्तिको विषयलाई ध्यान दिन नसकेको पार्टी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here