नेपालको राजनीतिले देश र जनतालाई किन चिन्दैन ?

12

–चन्द्रप्रकाश बानियाँ

मन्त्रीहरु सेनामेना हुन्, प्रधानमन्त्री सेनापति । सरकारको प्रशंसा होस् कि निन्दा, नाम जोडिने त्यही समूहसँग हो । आफ्नो मातहतको सेनालाई युद्धमैदानमा कति कुशलतापूर्वक परिचालन गर्नसक्छ भन्ने आधारमा सेनापतिको मूल्याङ्कन हुने हो । सेनाको सफलता असफललताको भागिदार सेनापति हुन्छ । सरकारमा सामेल मन्त्रीहरुको सफलता असफलताको जिम्मेवार प्रधानमन्त्रीलाई मानिन्छ ।

्ओली सरकार सत्तारुढ भएको लगभग तीन वर्ष पूरा भयो । सरकार हातखुट्टा खुम्च्याएर बसेको छैन । आफूसक्दो राम्रो काम गर्ने हरसम्भव कोशिश गरेकै होला । बुता र क्षमता नपुग्नुमा मन्त्रीहरुको कुनै दोष छैन । पात्रको उचित छनोट गर्नु नसक्नु नेतृत्वको कमजोरी हो । गुणदोषको उत्तरदायित्व नेतृत्वले लिनुपर्छ । क्षमताले भ्याएन भने चाहेर पनि राम्रो हुन सक्तैन । “वामपुड्केको काँधमा बाँसको घारो”भनेजस्तो क्षमताभन्दा बाहिरको चमत्कारको अपेक्षा कसैबाट राख्न सकिदैन । युद्धमैदानबाट सेना पलायन हुने अवस्था आयो भने सेनापतिको क्षमतामा प्रश्न उठ्छ । त्यस्तो अवस्थामा सेनापति जति नै बहादुर, शाहसी र बलवान भए पनि पराजयबाट जोगिने सामथ्र्य पुग्दैन । युद्धमैदानमा आफ्नो सेनाको अधिकतम उपयोग हुनेगरी ब्युह रचना गर्न सकेन भने सेना पराजित हुन्छ र त्योे अपजसको भारी सेनापतिले बोक्नुपर्छ । सेनापति त योग्य थियो तर सेना लाछी पानीमरुवा हुनाले हातलाग्ने पराजयको दोष पनि सेनापतिलाई नै जान्छ ।

सरकार पूर्णरुपमा असफल भैसकेको छ । स्वभावतः जनता असन्तुष्ट छन् । मतदाताहरु रुष्ट छन् । जनताको असन्तुष्टिको परिणाम अर्को निर्वाचनमा पराजय हो । पार्टीलाई मत दिएर जनताले सरकार बनाउने जिम्मा नेकपालाई दिएका हुन् । ओलीलाई होइन । उनलाई सिंगो देशले चुनेको होइन । ओलीको नाममा जनमत प्राप्त भएकोे हो भन्ने कुरा विल्कुल फर्जी हो । उनलाई झापाको एउटा निर्वाचन क्षेत्रले निर्वाचित गरेको हो । जनताले निर्वाचित गरेको त नेकपालाई हो । सरकार बनाएको पनि नेकपाले हो । ओलीसरकार नेकपाको हो । सरकारले राम्रो गर्न सकेका भए त्यसको श्रेय नेकपाले पाउँथ्यो । त्यसो हुन सकेन । सरकारको असफलताको अपयश स्वभावतः नेकपालाई नै जान्छ । सरकारसँग असन्तुष्ट रहेको मतदाताले अर्कोपटक ओली, पौडेल वा पोखेरेललाई होइन, पार्टीलाई सजायँ दिनेछन् । त्यसैले सरकारको अकर्मण्यता र असफलता वापतको अपयशको भारी बोक्न नेकपा अभिशप्त हुनेछ । सरकारको सफलताले नेकपालाई सफल बनाउने हो । सरकारको असफलताले नेकपालाई असफल बनाउने हो । त्यसअर्थमा सरकारको उत्तरदायित्व ओलीले होइन, पार्टीले वहन गर्नुपर्छ भनेर मान्नुपर्ने हुन्छ ।

सरकार असफल भयो भन्ने कुरा जनताले मात्र होइन, नेकपाका सानाठूला सबै नेता कार्यकर्ताहरुले महसूस गरिसकेका छन् । स्वयम् प्रधानमन्त्रीलाई अनुभूत भएको छ । असफलता अस्वीकार गर्नु उनको वाध्यता होला । “मैले गर्न नसक्ने के छ” भन्ने दम्भ होला । “मैले नसके कसैले सक्तैन” भन्ने अहङ्कार होला । उनको दम्भ र अहङ्कारले उनलाई डुवाउने कुरा त स्वतःसिद्ध छ । उनले चलाएको डुङ्गामा सिंगो पार्टी सवार छ । उनी डुब्दा सिंगो डुङ्गा डुब्छ । डुङ्गासँगै पार्टी डुब्छ, देश डुब्छ । पार्टीलाई त्यही त्रासदीले च्याप्दै लगेको छ । जनताले आफूलाई बोकाएको भारीको जिम्मा पार्टीले ओलीलाई सुम्पेको हो । असन्तुष्ट मतदाताले अर्को निर्वाचनमा नेकपासँग हिसाब माग्नेछन् । देशैभरका मतदाताले ओलीलाई दण्डित गर्न सक्तैनन् । दण्डित हुनुपर्ने पार्टीं नै हो । यतिखेरको नेकपाको छटपटीको कारण त्यही हुनुपर्छ ।

यतिखेर नेकपाको नेतृत्व मतदाताको कोपसँग भन्दा बढी पार्टीको सम्भावित फुटबाट तर्सेको छ । सरकारलाई सच्च्याउने बारम्बारको प्रयत्न असफल भैसकेको छ । प्रधानमन्त्री लगामविहीन घोडाजस्तो बनेका छन् । पार्टीले न लगाम कस्न सक्छ न घोडा फेर्ने हिम्मत गर्न सक्छ । त्यसैले पटक पटक सच्चिनका लागि विन्तिपत्र हाल्छ । आदेश निर्देश गर्नसक्ने अवस्थामा पार्टी छैन । अरुको आदेश निर्देश ओलीले पचाउन सक्तैनन् । दुर्भाग्यको कुरा के पनि देखिएको छ भने पार्टीको अनुनय विनय सुन्ने स्वभाव पनि उनको छैन । डामेर छोडेको साँढेको प्रतिकृति दुरुस्त बनेका छन् । त्यसैले पार्टीको लागि ओली “भालुको कम्पट” सावित भएका छन् । पार्टीले ओलीलाई कज्याउन सकेन, ओलीले जनता रिझाउन सकेनन् । अर्थात पार्टी र सरकार एकैसाथ असफल हुनुपर्ने अरुचिकर परिस्थिति उत्पन्न भएको छ ।

संसदीय परम्परामा सरकार र प्रतिपक्ष एक रथका दुई पाङ्ग्रा मानिन्छन् । रथलाई जुन दिशामा घचेटे पनि दुबै पाङग्राको उत्तिकै योगदान रहन्छ । सरकार अकर्मण्य हुनुमा प्रतिपक्ष पनि कम दोषभागी मानिदैन । नेपाली काँग्रेसले इतिहासमा कहिल्यै देश र जनताको चिन्ता गरेन । यसपटक पनि गरिरहेको छैन । सरकारको असफलतामा काँग्रेसले हाईसञ्चो मानेको छ । जनसरोकारको विषय उठाएर सरकारलाई घेर्ने वा दपेट्ने होइन, उल्टो सरकारको पीठ ठोक्दै छ । जतिजति सरकारको लोकप्रियता खस्कदै जान्छ त्यतिकै रफ्तारमा सत्ताको साँचो आफ्नो नजिक आउँछ भन्ने उसको बुझाई छ । सरकार मात्र होइन, सिंगो नेकपा नै दुर्घटनाग्रस्त हुनु विपक्षका लागि लाभको विषय हो भन्ने बुझाईले उसलाई हौस्याएको छ । यथार्थमा नेपाली काँग्रेस त्यही घत हेरेर शान्त छ । झकझकाएर सरकारलाई जनताको पक्षमा काम गर्न वाध्य पार्नुभन्दा कामै नगर्ने सरकारको मस्तराम चेष्टा उसले आफ्नो लागि हितकारी सम्झेको छ ।

सत्तापक्ष र प्रतिपक्ष मात्र होइन, संसद बाहिरको विपक्षसँग पनि कुनै गतिलो जनपक्षीय कार्यक्रम छैन । उसै पनि त्यो जनउपेक्षाको शिकार भएको शक्ति हो । त्यसले आज पनि जनताको विश्वास आर्जन गर्न सकेको छैन भन्ने कुरा दर्जनौं दलहरुले सगोलमा गर्ने फिका जनप्रदर्शनहरुले पुष्टि गर्छन् । उनीहरुको विरोध प्रदर्शन कर्मकाण्डी सावित हुन्छ । त्यसको एकमात्र कारणले उसले जनतालाई नचिन्नु हो । जनताको आवश्यकता र सुखदुख बुझ्ने क्षमताको अभाव हो । जनताको मर्म र पीडाप्रतिको असम्वेदनशीलता हो । देशको आवश्यकता र जनताको खाँचो गर्जो बुझ्ने असमर्थता हो । त्यसैले कुनै दिन काठमाडौको जनता जुरुक्क उठ्नेछ र आफूलाई काँधमा बोकेर सिंहासनारुढ बनाइदिनेछ भन्ने स्वैर कल्पनामा डुबेको छ । आफूसँग बाँसको रुख हल्लाउने हुति छैन, गतेमिति तोकर सालको पात झार्ने गफ दिन्छ ।

मल विउ नपाएर जनताले दुःख पाएका छन् । सडकको विपक्षले कालापानीको कुरा गर्छ । सामन्त गोयलको नाममा जिन्दावाद मुर्दावाद गर्छ । जनताको भोको पेटलाई राष्ट्रियताको झुटो नाराले भर्ने नादान कोशिश गर्छ । यतिखेर काठमाडैको सडककुनाहरुतिर मसाल बालेर सत्तापलटको सपना देख्ने सबै रङ्गरुपमा विपक्ष र निर्वाचनको बेलामा वनपाखा, खोला खोलस्ीितिरका एकान्तस्थलमा बम विष्फोटन गर्ने चन्द माओवादीहरु एउटै कोटीका अनाडी राजनितिक शक्तिहरु हुन् । जनतालाई नुनतेलको समस्या छ, विहानबेलुका हाातमुख जोर्ने समस्या छ । खाडीतिर लाम लाग्न वाध्य बनाउने कारण त्यही हो । मल, विउ, बजार र प्रोत्साहनको अभावमा कृषिकर्मबाट कृषकहरु विरक्त बन्नुपर्ने अवस्था छ । विपक्षको राजनीति गर्नेहरुका आँखामा जनताको त्यो मर्म पर्दैन । कुराले आकाश पाताल जोड्छन्, जनताको आँसु पुछ्ने कुरा त परै रहोस्, जनतालाई सान्त्वना र भरोसा दिने सुद्धिबुद्धि छैन । कसैले धर्मको कुरा उठाउँछ, कसैले नौंंलो जनवादको राग अलाप्छ । कसैले सरकारलाई सिंहासनबाट गजार्ने धक्कु लगाउँछ, कसैले सम्पूर्ण क्रान्तिको ध्वाँस दिन्छ । कसैले विदेशी हस्तक्षेपको राग अलाप्छ, कसैले राष्ट्रिय स्वाभिमानको गीत गाउँछ । कसैले आत्मसमर्पणको हाउगुजी देखाउँछ, कसैले विदेशी षडयन्त्रको दन्त्यकथा सुनाउँछ । कसैले छिमेकीे हस्तक्षेपको विरुदावली गाउँछ । त्यसैले भन्नैपर्छ यो देशका राजनीतिक शक्तिहरु चाहे सत्तारुढ हुन् वा प्रतिपक्ष अथवा सडकका विपक्ष ती कसैको एजेण्डमा जनताको सुखदुःख पर्दैन । जनधारणा साप्ताहिबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here