चन्द्रागिरिमा ‘भिराडिल खाइके साकुरा’ मा साहसिक खेल पार्क बन्दै

348

काठमाडौं – कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमामा रहेको बल्खु खोलाको खोचमा अहिले धमाधम पार्क बन्दै छ । चन्द्रागिरी नगरपालिका– १५ ले भिरमा रहेको २७ रोपनी जग्गामा साहसिक खेल गतिविधिसमेत सञ्चालन गर्न मिल्ने गरी संरचना बनाइरहेको छ । उक्त पार्कलाई ‘भिराडिल खाइके साकुरा’ नाम दिइएको छ ।

भिरको डिलमा बनाइएकाले भिराडिल र जापानको साकुराबाट त्यहाँको राष्ट्रिय फूल ल्याइएकाले तिनै शब्द जोडेर पार्कको नाम राखिएको वडाध्यक्ष उत्तमबहादुर राउतले बताए । साकुरालाई नेपालमा पैयुँ फूल भनेर चिनिन्छ ।

यस पार्कलाई अन्तर्राष्ट्रिय ‘गर्ज पार्क’का रूपमा विकास गर्न लागिएको उनले जनाए ।  पार्क बनाउने काम नसकिए पनि अहिल्यैदेखि धेरै मानिस हेर्न गइरहेका छन् । पार्कमा घुम्ने र कसरत गर्नेसँगै खेलकुद र मनोरञ्जन स्थलसमेत बनाउने योजना रहेको राउतले जनाए । उनका अनुसार जिपलाइन, रक क्लाइम्बिङ, मिनी रेल, स्काई वाक घुमाउरो भर्याङसहित २७ किसिमका संरचना बनाइँदै छन् । पार्कको अनुमानित लागत ७ करोड ७८ लाख रुपैयाँ रहेको वडाले जनाएको छ । त्यसमध्ये स्थानीय सरकारको १ करोड २१ लाख ८० हजार, पर्यटन मन्त्रालयको २ करोड २६ लाख २० हजार, स्थानीय नागरिकको सेयर लगानी ४ करोड ३० लाख रुपैयाँ हुनेछ । अहिलेसम्म पार्कको ४० प्रतिशत काम सम्पन्न भइसकेको र अबको ३ वर्षमा पार्क तयार हुने वडाध्यक्ष राउतले दाबी गरे ।

पार्कसँगै २ सय ६० मिटर लामो जिपलाइनसमेत बनाउने तयारी छ । त्यस्तै ‘सस्पेन्सन ब्रिज’ र ‘क्यान्टिलिभर’ गरी दुई किसिमको ‘स्काई वाक’ बनाउने गरी डिजाइन तयार पारिएको छ । करिब ३० जना अटाउने योग–हल पनि बनाइनेछ । वडाले एक पटकमा चार जना चढ्ने मिल्ने रक क्लाइम्बिङ पनि बनाइरहेको छ । तीन सय जना अट्ने एम्पिथिएटर, तीनवटा ‘क्यास्केड वाटर फल’ समेत बनाउने योजना छ ।

यसका साथै खोलादेखि माथि ४० मिटर अग्लो घुमाउने भर्याङ राखिनेछ । ‘देख्दा आकर्षक देखियोस् र तलमाथि गर्न पनि सजिलो होस् भन्ने उद्देश्यले यस्तो भर्याङ राख्न लागिएको हो,’ राउतले जनाए ।  वडाका अनुसार पार्कमा करिब ३ सय मिटरको दुरीमा १२ देखि १५ सिटको विद्युतीय रेलसमेत चलाइनेछ । रेल बिजुली बत्तीबाट चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here