कताबाट आए यतिका राजाबादी सडकमा ? राजतन्त्रको पक्षमा देशब्यापी प्रदर्शन भैरहँदा सरकार दमनको नीति अवलम्बन गर्दै !

151

काठमाडौं । सत्तासीन डबल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पार्टीभित्र अन्तरकलह चर्किरहेका बेला सडकमा राजाबादीहरुको बाक्लो उपस्थिति देखिन थालेको छ । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष पुरा भएको छ । तर सरकारको कार्यशैलीले गर्दा जनतामा ब्यापक असन्तुष्टी बढेको छ । जनताका असन्तुष्टीलाई सम्बोधन गर्नतिर सरकार र प्रमुख प्रतिपक्षी दलहरुको ध्यान देिखदैन । यही अवस्थालाई राजाबादीहरुले अवशरका रुपमा लिएको देखिन्छ ।

केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । पोखरा ,बिराटनगर लगायत राजधानी बाहिरका शहरहरुमा भएका प्रदर्शनहरुमा देखिएको जनताको भब्य उपस्थितिले राजाबादीहरु उत्साहित भएका छन् । गत सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै बिशाल प्रदर्शन भए पछि सरकारले कोरोना संक्रमणको त्रास देखाएर जुलुस प्रदर्शनमा रोक लगाउने आदेश जारी गरेको छ । ।

 राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । लोकतंत्र बहाली भएको  १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन, बरु राजाबादीहरुको उत्साह बढाउने गरी सरकारले भ्रष्टाचारजन्य कामहरु गरिरहँदा र शक्तिराष्ट्रहरुसँग राष्ट्रघातजन्य सम्झौताहरु गरिरहँदा  सरकार बिरोधी जनमत बढेसँगै राजाबादीहरुले जनताको सहानुभूति पनि बढाएका छन् ।

राजावादीहरुले राजा आउ देश बचाउ भनेर प्रदर्शन गरिरहँदा पूर्व राजा ज्ञानेन्द्रले भने मुख खोलेका छैनन् । उनी मौनम् सम्मतिको रुपमा रहेको देखिएका छन् । पूर्व राजाको मौनताप्रति भने राजाबादीहरु अशन्तुष्ट रहेको पाईएको छ ।

 राजतन्त्रको अन्त्य भएपछि मुलुकमा तीनवटा राष्ट्रिय निर्वाचनहरु भए । तर, ती सबै निर्वाचनमा राजतन्त्रको वकालत गर्ने दलहरुको खासै जनमत देखिएन । नयाँ संविधान जारी भएपछि भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेन एकजनाले मात्र निर्वाचन जितेका हुन्, उन्लाई एमाले र माकेको चुनावी गठबन्धनले सहयोग नगरेका भए यो उपस्थिति पनि सम्भव थिएन ।

कतिपय पंचायतकालका राजाबादीहरुले छुट्टा छुट्टै पार्टीहरु निर्माण गरेर गणतंत्रको अभ्यास गरिरहेका छन भने केही स्वतंत्र रुपमै रहेका छन् । तर राजाको पक्षमा भैरहेका प्रदर्शनहरुमा पूर्व पञ्चहरुका पार्टीहरुमा सक्रिय रहेका नेता र कार्यकर्ताहरुको पनि उल्लेख्य सहभागिता देखिएको छ ।

राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा  प्रदर्शनहरु भैरहेको दाबी सहभागीहरुको रहेको छ ।

 गत सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो । सो पार्टीका अध्यक्ष केशरबहादुर विष्ट हुन् । यस अगाडि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर, नेपालगञ्च, धनगढी र विराटनगरमा बिशाल प्रदर्शन गरेका छन् ।

 राजधानी बाहिरका प्रदर्शनहरुमा  स्वतन्त्र देशभक्त नागरिकका नाममा ब्यानरहरु देखिएका छन् । सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिमको ब्यानर देखिएको थियो । यसरी नै स्वतन्त्र नागरिकका नाममा राजाबादीहरुको संख्या सडकमा बढ्दै जान थाले पछि सरकारले प्रदर्शनमा नै प्रतिबन्ध लगाएको छ । प्रतिबन्धलाई पनि बेवास्ता गरेर प्रदर्शन गर्ने चेतावनी सडकबाटै सुन्न थालिएको छ ।

अहिले सम्मका  प्रदर्शनहरुमा  देखिएकाहरुमा विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रग्रेस ९वीपी०, प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस ९राष्ट्रवादी० र शिवसेना नेपाल लगायत रहेका छन् ।

 यही मंसिर २० गते र त्यसपछि पनि विभिन्न समूहले काठमाडौंमा थप प्रदर्शन गर्ने तयारी गरेको थाहा भएको छ । २० गतेको प्रदर्शनको अगुवाई  बरिष्ठ अधिबक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी लगायतले गरिरहेको थाहा भएको छ ।

सडकमा भइरहेका प्रदर्शनहरुमा युवाहरुलाई सडकमा ल्याउने कामको जिम्मेवारी भने  वीर गोर्खाली नामक संस्थाले लिएको बुझिएकोछ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो । अहिले पछिल्लो समयमा देशका विभिन्न भागमा भइरहेका प्रदर्शनको अगुवाइ सो संस्थाले गरेको थाहा भएको छ । गत आइतबार मकवानपुरमा भएको प्रदर्शनको नेतृत्व पनि यही वीर गोर्खालीले गरेको प्रदर्शनमा सहभागी एक अभियन्ताले जनाएका छन् । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here