शैक्षिक सत्र मिलाउन बोर्डको गृहकार्य

168

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताउनुभयो ।
कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिई सकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उहाँको भनाइ छ । शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यस अवधिमा विद्यालयहरूले विद्यार्थीको परीक्षा आन्तरिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।

कक्षा ११ को परीक्षा विद्यालयबाटै
बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।
ग्रेडवृद्धिको परीक्षा चल्दै
यसका साथै कक्षा ११ मा ग्रेडवृद्धिको परीक्षासमेत हाल विद्यालयहरूले सञ्चालन गरिरहेका छन् । केही विद्यालयले भने यसअघि नै परीक्षा लिई सकेको पाइएको छ । ललितपुर, काठमाडौँ र भक्तपुरका धेरै विद्यालयले संयुक्त रूपमा मङ्सिर २१ गतेदेखि सञ्चालन गर्दैछन् । ती विद्यालयले नियमित र ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा एकै पटक सञ्चालन गर्न लागेका हुन् ।
परीक्षा मङ्सिर अन्तिमसम्म सक्ने गरी परीक्षा लिन लागिएको ललितपुरको आदर्श सौउ माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले जानकारी दिनुभयो । यसमा केही विषयका प्रश्नपत्र संयुक्त रूपमा सोधिएको र केही विषयमा विद्यालयहरूले तयारी गरेको उहाँको भनाइ छ ।
राजधानीको पद्मोदय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक नारायण गौतमले ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा आफूहरूले लिई सकेको र नियमित विद्यार्थीको परीक्षा लिने क्रममा रहेको जानकारी दिनुभयो । मङ्सिर २१ गतेबाट लिइने उक्त परीक्षामा विद्यार्थीलाई एक एक दिनको फरकमा लिने गरी मिलाइएको छ । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा लिइएको जानकारी उहाँले दिनुभयो ।

तीन घण्टाकै परीक्षा
कक्षा ११ को परीक्षा तीन घण्टाकै सञ्चालन हुनेछ । यसका साथै एक सय पूर्णाङ्कको नै परीक्षा हुनेछ । यस पटक कक्षा १२ को परीक्षामा ४० पूर्णाङ्क र डेढ घण्टामा परीक्षा लिइए पनि कक्षा ११ का विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छैन । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि यस पटक मात्रै नभई दीर्घकालीन रूपमा हेरर निर्माण गरिएका कारण तीन घण्टाको परीक्षा र सय पूर्णाङ्ककै परीक्षा लिने गरी व्यवस्था गरिएको जनाइएको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here