मंसिर २६ गते राजसंस्था पुर्नवहालीको माग गर्दै बृहत जनप्रदर्शन

62

काठमाडौं – राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो ।

पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए ।

प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’

संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाई बिदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।

चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध गरे । ‘यो देशमा कोहि पनि सामन्ती छैन राजतन्त्रले नेपाली जनतालाई सामन्ती गरेको छैन, राजा कुनै सामन्ती होइन राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो,’ उनले भने । उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेका आरोप लगाए ।

कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरुले २६ गतेको कार्यक्रम केपी ओलीलाई च्यालेन्ज गर्न राखेका हौ ।’

मल्लले राजा र राजतन्त्र सबैको साझा हो भन्दै राजतन्त्र पुःन बहाली गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्,‘अब देशमा ज्ञानेन्द्र शाहको नेतृत्व हुनुपर्छ ।’ प्रचण्डले १७ हजारको ज्यान मारेको जिम्मा लिन्छु भन्दाभन्दै प्रचण्डलाई मानवताविरुद्धको गम्भीर अपराधबाट जोगाइएको आरोप लगाइन । उनले नेताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त पैसालाई राष्ट्रियकरण गरि रोजगारी सृजना गर्नमा लगाउने बताइन् ।

कार्यक्रममा बोल्दै मल्लले गणतन्त्रबादिको हारको दिन आएको र अब राजतन्त्रको जितको दिन आएको बताइन् । उनले भनिन्, ‘हिजोको माओवादिका लडाकु साथीहरुसंग हामीहरुले छलफल र समन्वय गर्दैछौ र सडक आन्दोलन तय गर्ने छौ ।’ मल्लले फागुन भित्र श्रीपेच लगाएर राजालाई नारायणहिटि लाने पनि बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here