कम्पनी अद्यावधिक गर्ने समय थप्न माग

80

काठमाडौँ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घले पुस मसान्तभित्र पेस गर्नुपर्ने आयकर विवरण र कम्पनी अद्यावधिक गर्नुपर्ने समय तीन महिना थप्न आग्रह गरेको छ । सङ्घ अध्यक्ष आनन्दराज वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर पुस मसान्तको म्याद चैत मसान्तसम्म पु¥याइदिन आग्रह गरेको हो ।
आयकर ऐन तथा कम्पनी ऐनअनुसार चालू आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयसीमा पुस मसान्त हो । कोभिड–१९ महामारीका कारण लेखापरीक्षण गर्न चुनौतीपूर्ण देखिएको भन्दै सङ्घले म्याद थप गर्न आग्रह गरेको हो ।

आयकर ऐनको दफा ९५ अनुसार चालू आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । सोही ऐनको दफा ९६ ले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणपछिको आयकर विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै अर्थात् पुस मसान्तभित्रै बुझाइसक्नुपर्छ । कम्पनी ऐन, २०६३ को दफा ५१, दफा ७६, दफा ८० र दफा ९२ अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म हुन्छ ।
सङ्घले बजेट निर्माणलाई थप प्रभावकारी बनाउन बजेट निर्माणको पहिलो चरणमै सङ्घसँग छलफल गर्न पनि अर्थमन्त्रीलाई आग्रह गरेको छ । सो अवसरमा प्रदेश स्तरको आर्थिक गतिविधि, नीति–नियम निर्माण, राजस्व परिचालन, स्रोतको बाँडफाँटलगायत कार्यमा चार्टर्ड एकाउन्टेन्टस्को सहभागिता रहने व्यवस्था मिलाउन पनि मन्त्री पौडेलको ध्यानाकर्षण गराइएको छ ।
वित्त क्षेत्रका नियामक निकायमा नेपाल वित्त प्रतिवेदन मान एनएफआरएसमा आधारित लेखापरीक्षण प्रतिवेदन विश्लेषण गर्नसक्ने जनशक्तिको अभाव रहेको भन्दै सङ्घले चार्टर्ड एकाउन्टेन्टस्हरूको दरबन्दी बढाउने व्यवस्था गर्न पनि सुझाएको छ । प्रतिनिधि मण्डलले अन्तर्राष्ट्रिय अभ्यास अनुरूप चार्टर्ड एकाउन्टेन्टस्ले गरेको लाभांश फिर्ता प्रमाणपत्र प्रमाणीकरणलाई मान्यता दिन पनि सङ्घले माग गरेको छ ।
अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महìवपूर्ण रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका लागि चार्टर्ड एकाउन्टेन्टस्लाई साथमा लिए अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको सङ्घले जनाएको छ । सङ्घका अनुसार मिति थप गर्ने विषय लगायत अन्य मुद्दामा पनि आफू सकारात्मक रहेको बताउनु भएको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here