पृथ्वी जयन्तीका नाममा दलहरुले राष्ट्रिय एकता कायम गर्नु जरुरी

82

– राज्यलक्ष्मी शाक्य

नेपालमा कोरोना भाइरसले संकट सृजना गरिरहेको छ । राजनीतिक पार्टीहरु आपसमा लडेर विदेशीहरुका लागि प्रयोगमा आउन दौडधुप गरिरहेका छन् । ठीक यसैबेला पुस २७ गतेको दिन नजिक आइ पुगेको छ । देशलाई एकत्रित गराउने काममा नेताहरुको ध्यानाकर्षण भइरहेको छैन । आपसमै विखण्डित भइरहेका छन् । एक अर्कालाई भण्डाफोर गर्ने कामले प्राथमिकता पाएको छ । यस्तो बेलामा सबै दलहरुलाई एक सुत्रमा बाध्ने आधार के हुन सक्छ ? निश्चय पनि राष्ट्रको हितमा हुने काम सबै दलहरुको साझा प्रस्थान बिन्दु हुन सक्दछ । राष्ट्रको हित हुने काम के हो ? नेपालको हित राष्ट्रिय हित हो । नेपाल राष्ट्र नै रहेन भने यो देशको हितको कुरा सोच्ने ठाउँ पनि रहने छैन । यो देश कसले बनायो ? अहिले यो विषय महत्वपूर्ण हो ।

नेपाल निर्माता पृथ्वीनारायण शाहको  जन्म जयन्तीलाई आधार बनाएर राष्ट्रिय एकता दिवस मनाउने कुरामा सबै दलहरु सहमत हुने हो भने कमसेकम दलहरुलाई एउटै मञ्चमा उभ्याउने आधार बन्न सक्ने थियो । पृथ्वीनारायण शाहलाई कस्तो दृष्टिकोणबाट हेर्ने ? यो विषयमा नेपालीमाझ बहस गर्नुको कुनै अर्थ छैन । नेपाल राष्ट्रलाई कसरी हेर्ने ? नेपाली जनताको निम्ति हित हुने गरी हेर्ने कि विदेशीहरुको स्वार्थ पूरा गराउने गरी हेर्ने ?

पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे चौबीसे राज्यहरूलाई एकत्रित गरेर विशाल नेपाल खडा गरेका हुन् भन्ने कुरा अखण्डनीय छ, पृथ्वीनारायण शाहले नै नेपालीहरुलाई अस्तित्व प्रदान गरे, त्यो अभियानमा उनी कसरी सफल भए होलान् भनेर कल्पना गर्न सकिन्छ । यहाँ बसोबास गर्नेहरूलाई एउटा सार्वभौम भूगोलभित्र समेट्ने काम पृथ्वीनारायणले गरेका हुन् भन्ने कुरा स्पष्ट छ । उनकै अभियानबाट एउटा अखण्ड राष्ट्र नेपाल निर्माण भयो । त्यसर्थमा उनलाई नेपालको एकीकरणकर्ता र राष्ट्रनिर्माताको सम्मान दिनु स्वाभाविक हुन्छ । यस कुरामा सबै दलहरु एक ठाउँ उभिन उत्प्रेरित हुने आशा गर्न सकिन्छ । वर्तमान सरकारले पृथ्वीनारायण शाहलाई त्यो सम्मान दिन  चाहिरहेको छैन ।

यस्तो अवस्थामा सत्ता बाहिरका सबै दलहरु नेपाल एकीकरणकर्ताको नाममा संगठित भएर सरकारलाई खवरदारी गर्नु पनि जरुरी छ । क्रिश्चियनहरूको प्रचारमा राज्यसंयन्त्रको सम्पूर्ण दुरूपयोग गर्ने धर्मनिरपेक्ष राष्ट्रको सरकारलाई देशको एकीकरणकर्ताप्रति सम्मान नजाग्नु स्वाभाविक मान्नु पर्दछ तर यसले देशलाई विखण्डन गराउन चाहना राख्नेहरुलाई बल प्रदान गर्ने निश्चित छ ।

केही मानिसहरु पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रूपमा नलिई उनलाई एक क्रूर  शासकको रूपमा चित्रण गर्ने गर्दछन् । त्यो क्रूरताको नमुनाको रूपमा पृथ्वीनारायणले कीर्तिपुरेहरूको नाक काटेको भनेर हल्ला चलाउने गर्दछन् । त्यसै आधारमा पृथ्वीनारायण शाह एकताका प्रतीक कदापि हुन सक्दैनन् भन्ने पनि गरिन्छ । यसको वास्तविकता के हो ? युद्धका दौरानमा के भयो भन्ने कुरा कसैले देखेको होइन र यसको प्रमाण पनि कतै पाइएको छैन ।  पृथ्वीनारायण शाहले कीर्तिपुरबासीहरूको नाक काट्नुपर्ने कारण के परे होला ? के साँच्चै नाक काटिएकै होला ? बाइसे चौबीसे राज्यलाई एकीकरण गर्ने अभियानमा लागेका एउटा राज नेताले नागरिकहरूको नाक काटेर स्वयं अपमानित हुने काम गरे होलान् ? विश्वास गर्ने आधार के छ ?

पृथ्वीनारायण शाहलाई कीर्तिपुरमाथि विजय प्राप्त गर्न ठूलो कठिनाइ भोग्नुपरेको थियो भन्ने कुरामा केही सत्यता अवश्य छ । उनले तेस्रो पटकको आक्रमणपश्चात् मात्र कीर्तिपुरमा आफ्नो विजयको झण्डा फहराएका थिए । त्यो विजय प्राप्त गर्न पनि उनले पहिलो आक्रमणमा काजी कालु पाँडेलाई गुमाउनुपरेको थियो भने दोस्रो युद्धमा आफ्नै भाइ सुरप्रताप शाहको पनि आँखा फुटेको थियो । तेस्रो पटकको आक्रमणमा पनि सहजै जीत हासिल गरेका थिएनन् । त्यसका लागि उनले महिनौँसम्म कीर्तिपुरमा नाकाबन्दी लगाएका थिए भन्ने इतिहासमा पाइन्छ ।

कीर्तिपुरवासीहरूको भन्दा पनि एकीकरण अभियानमा अवरोध गर्नेहरूलाई असहयोग गर्ने अभियानमा पृथ्वीनारायणले नाकाबन्दीजस्तो अस्त्र पनि प्रयोग गर्नुपरेको होला भनेर बुझ्न सकिन्छ । दश वर्षे जनयुद्धमा जसरी १७ हजार नागरिकहरुको हत्या भएको यथार्थ घटनाको प्रमाणदिन सकिने छैन त्यसैगरी युद्धका दौरानमा भएका कुनै पनि अप्रिय घटनाहरुको प्रमाण पनि दिन सकिदैन । कीर्तिपुरमाथि विजय हासिल गर्न कठिनाइ भोगेका कारण पृथ्वीनारायणको विजयपश्चात  कीर्तिपुरबासीहरूको नाक काटियो भन्ने प्रचार गरिएको पनि हुन सक्छ । यस्तो प्रचारमा कुनै सत्यता देखिँदैन, कुनै प्रमाण पनि छैन । केवल मनगढन्ते र पृथ्वीनारायण शाहको बारेमा भ्रम सिर्जना गर्ने तथा नेपालीहरूको एकतामाथि कुदृष्टि लगाउनेहरूको षड्यन्त्रबाहेक यो प्रचारबाजी अरु केही हुन सक्दैन । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here