काेराेना खोपमा अरु देशभन्दा हामी पछि पर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

334
खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले उल्लेख गरेका हुन्।

कोरोना भाइरसविरुद्धको खोपका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनको भनाइ छ। ‘भ्याक्सिन ल्याउन नीतिगत  तयारी पूरा भएको छ। बाँकी काम पनि छिट्टै समाधान गर्ने योजनामा सरकार छ,’ उनले भने। सरकारको खोपको विषयमा गैरजिम्मेवार नभएको उनको दाबी छ।

खोप र स्वास्थ्य सामग्री पनि राजनीतिक सामग्री भएको उनको भनाइ छ। ‘खोप र स्वास्थ्य सामग्री पनि राजनीतिक विषय भएको छ। खोप केही निश्चित देशमा विकास भएकाले ती सरकारसँग निकटतम सम्बन्ध राखेर यसलाई अघि बढाएका छौं,’ उनले भने । खोपका विषयमा रुस, भारत र युएईका राजदूतसँग वार्ता भएको उनले बताए। ‘अन्य देशभन्दा धेरै पछाडि हुने अवस्था छैन। हरेक च्यानल र संभावनालाई परिचालन गरेका छौं,’ उनले भने, ‘नागरिकले खोप पाउँछन्। यो कुरामा आश्वस्त बनाउन चाहन्छु।’

खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने उनको भनाइ छ। कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको समेत उनले जानकारी दिए।

‘हामी निजी क्षेत्रलाई पनि यो खरिद पक्रियाबाट पर राख्न चाहन्नौँ। बाहिर विभिन्न हल्ला भएका छन्। पहिले जिटुजीबाटै खरिद प्रक्रिया अघि बढाइन्छ,’ उनले भने, ‘सुरुमा फ्रन्टलाइनर, दीर्घरोगी र वृद्धवृद्धाहरूलाई भ्याक्सिन दिइनेछ।’ त्यसका लागि तथ्यांक संकलन भएको समेत जानकारी उनले उल्लेख गरे।

भ्याक्सिन ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थ मन्त्रालयले रकम सुनिश्चितता गरेको उनको भनाइ छ। ‘हामी छिटोभन्दा छिटो ल्याउन हामी अघि बढेका छौँ। पारदर्शी र समतामूलक हुनेछ। केही समयमा नै यो प्रक्रिया पूरा हुन्छ,’ उनले भने, ‘यो अभियानका रूपमा हामीले लिएका छौँ। जनताको जीवनसँग जोडिएको महत्वपूर्ण कामका रूपमा सरकारले लिएको छ। सबै प्रयत्न गरिरहेका छौँ। सबै तयारी भइसकेको अवस्था छ।’

उनले भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्थासमेत गर्ने तयारी रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here