नेपालमा नयाँ प्रजातिको काेराेना भाइरस संक्रमणकाे पुष्टि

84

काठमाडौं । बेलायतमा देखा परेको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि देखिएको छ। बेलायतबाट फर्केर आएका तीन नेपालीमा नयाँ प्रजातिको कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। चिकित्सकका अनुसार नयाँ प्रजातिको भाइरस कोभिड–१९ कै स्वरूपमा परिवर्तन भई नयाँ स्वरूपमा देखा परेको हो। कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने क्रममा बढी असर गर्दछन्।

बेलायतबाट फर्केका ६ वटा नमुनामध्ये ३ जनामा पिसिआर पोजिटिभ देखिएपछि थप पुष्टिका लागि गत पुस २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो नमुना हङकङ पठाएको थियो। नमुना विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाइएको थियो। नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इमेलमा सोमबार प्राप्त भएको हो। रिपोर्ट आएलगत्तै सोमबारै मन्त्रालयले सार्वजनिक गरेको बताएको छ। संक्रमित तीन जनामध्ये एक जना २८ वर्षीया महिला, एक जना ३२ वर्षीय पुरुष र ६७ वर्षीय पुरुष छन्। तीनै जनाको पिसिआर परीक्षण भइसकेको र परीक्षण भएकामध्ये ६७ वर्षीय पुरुषमा कुनै लक्षण नभएको मन्त्रालयले जनाएको छ।

देशभित्रै नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा सबैमा खोपको पहुँच नपुगेसम्म स्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गर्न अनुरोध गरेका छन्। उनले अबका दिनमा पनि एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म दुई मिटर टाढा बस्ने, सकेसम्म भिडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले हात धुने र बाहिर जाँदा सेनिटाइजरको प्रयोग गर्न अनुरोध गरेका छन्।

गत सेप्टेम्बरमा बेलायतमा पहिलो पटक नयाँ प्रजातिको कोरोना फेला परेको थियो। यो भाइरसको लहर फैलिएपछि पुसदेखि बेलायतले लकडाउन गरेको छ। यो भाइरस कोभिड–१९ को तुलनामा ७४ प्रतिशत धेरैमा सर्ने हुनाले यसले दुईवटा जोखिम निम्ताएको विज्ञ चिकित्सकहरू जनाउँछन् । शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार अहिलेसम्म भएका अध्ययनअनुसार यो भाइरस कोभिड १९ सार्स २ को तुलनामा तीव्र गतिमा सर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here