प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अवहेलना मुद्दा दर्ता

216

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन्। अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध दुई थान अदालतको अवहेलना मुद्दा दर्ता भएका हुन्। अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएपछि ओलीविरुद्ध अवहेलनाका मुद्दाको संख्या दुई पुगेको हो।

यसअघि वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए। ‘प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु,’ सर्वोच्चमा आचार्यले दायर गरेको रिटमा उल्लेख छ।

केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई ‘तमासा’को संज्ञा दिएका थिए। यस्तै उनले आफ्नो पक्षमा फैसला आउने र प्रतिनिधि सभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन्। अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी अभिव्यक्ति दिन नपाइने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here