खतरनाक कम्प्युटर भाइरस बन्द

155

एजेन्सी-   संसारको खतरनाकमध्येको कम्प्युटर भाइरस बन्द गरिएको छ। हालै ‘इमोटेट’ नामक खतरनाक मालवेयर नेटवर्क कयौँ देशका अन्तर्राष्ट्रिय प्रहरीको प्रयासले बन्द गरेको सिएनएन बिजनेसले बताएको छ।

मालवेयर नेटवर्क एउटा सफ्टवेयर हो जुन कम्प्यूटर सर्भर, क्लाइन्ट, वा कम्प्युटर नेटवर्कमा क्षति पुर्याउन डिजाइन गरिएको हुन्छ।

यूरोपियन प्रहरी एजेन्सी यूरोपोले बुधबार सार्वजनिक गरेको एक विज्ञप्ति अनुसार इमोटेटले इन्भोइस, सिपिङको सूचना र कोभिडको जानकारी दिने नाममा आउने खराब इमेल मार्फत् प्रयोगकर्ताको कम्प्यूटरमा पहुँच प्राप्त गर्छ।

यो नेटवर्कले प्रयोगकर्ताको कम्प्यूटरमा पहुँच पाएपछि त्यसमा भएका डाटा अवैध गतिविधि गर्ने अपराधिक समूहलाई बेच्छ ।

यो इमोटेट नेटवर्कको संसारभर सयौँ सर्भर रहेको र अहिलेसम्म यसले लाखौँ कम्प्यूटरहर ह्याक गरिसकेको छ।

यस्तो खतरनाक नेटवर्कलाई नियन्त्रणमा लिएर बन्द गर्न विश्वव्यापी रुपमा आठ वटा देश जुटेको थियो। जसमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, नेदरल्याण्ड पनि रहेको सिएनएन बिजनेसको भनाइ छ।

डच प्रहरीले गरेको अनुसन्धानको क्रममा इमोटेटद्वारा चोरिएका इमेल ठेगानाहरु, पासवर्ड र प्रयोगकर्ताको नामहरुको डाटा ल्याएर त्यहीँ आधारमा सो नेटवर्क बन्द गरेको हो।

गत वर्षदेखि मालवेयर नेटवर्कहरुका गतिविधि धेरै बढेको थियो। ती नेटवर्कले मुख्यगरी राज्य र स्थानीय सरकारका इमेललाई लक्षित गर्ने अमेरिकी साइबर सेक्यूरिटी एण्ड इन्फ्रास्ट्रक्चरले बताएको छ।

यूरोपियन प्रहरी एजेन्सी यूरोपोलले संसारभरका प्रयोगकर्तालाई आफ्नो उपकरणमा एन्टिभाइरस अपडेट गर्न र मालवेयर नेटवर्कको आक्रमणको शिकार हुनबाट जोगिन अझ बढी सावधानी अपनाउन आग्रह गरेको छ।

यूरोपोले भनेको छ, ‘प्रयोगकर्ताले ध्यानपूर्वक आफूलाई आउने इमेल जाँच गर्नुपर्छ र अज्ञात नामबाट आएका मेलहरु खोल्नु हुँदैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here