ओली क्याम्पले देखाउन सक्ला त त्यस्तो आँट ?!!

15

–चन्द्रप्रकाश बानियाँ

समाज विकासको एउटा चरणमा पुँजीवादको विकल्पमा समाजवाद अघि सारिएको थियो । समाजवाद नरुचाउने समाजले समाजवादको विकल्पको रुपमा नवउदारवाद अघिसारेको हो । नवउदारवादमा देखिन थालेका समस्याले नयाँ विकल्पको खोजीगर्नुपर्ने अवस्थामा पु¥याएको छ । अर्को विकल्पको खोजी हुन थालेको पनि दशक बितिसकेको छ । कोसिस जारी छ तर नवउदारवादको भरपर्दो विकल्प फेला परिसकेको छैन । नेपालमा गणतन्त्रको विकल्पको रुपमा पुनः राजतन्त्रको पक्षमा जनमत देखिन थालेजस्तै अर्को विकल्प उपलब्ध नहुँदासम्म नवउदारबाट बिच्किएको जनमत समाजवादतिर उन्मुख हुनु स्वाभाविक हुन्थ्यो । त्यही अर्थमा समाजवादको सान्दर्भिकता जीवित छ । यद्यपि विश्व पुँजीवादको दीर्घ जीवनको रहस्यको अन्तर्यमा समाजवादी नीतिको आंशिक अनुशरण होइन भन्न मिल्दैन । खासगरेर, सामाजिक सुरक्षाको समाजवादी अवधारणामा टेकेर पुँजीवादले आफ्नो आयु लम्ब्याएको मात्र होइन, थप मजबुद भएको हो भन्नु अत्युक्ति हुदैन । समस्याको कुरा के रहेको छ भने नवउदारवादको असफलतापछि पनि पँुजीवादी विश्व समाजवाद स्वीकार्न तयार छैन । त्यसैले नवउदारवादको विकल्प पुँजीवादी ढाँचाभित्र खोज्ने प्रयत्न हुदै आएको छ ।

समाजवादी सत्ता होस् वा नवउदारवादी, तिनीहरुको असफलतामाथि टेकेर दक्षिणपन्थले टाउको उठाउने गरेको देखिन्छ । पोन्याण्डका वालेसा होउन वा रुसका गोर्वाचोभ हुन् तिनीहरुको उदयको जगमा त्यही कारण रहेको कुरा सत्य हो । र्गार्वाचोभको परेस्त्रोइका र ग्लास्नोस्तको गर्भबाट यल्तसीनहरु उदाए । समकालीन राजनीतिमा बेलायतका जोन्सन् होउन् वा अमेरिकाका ट्रम्प अथवा भारतका मोदी, ती सबै त्यही कित्ताका अन्तिम परिणति हुन् । उदाहरणहरु हुन् । नेपालको सन्दर्भमा राप्रपा नामको जन्मजात दक्षिणपन्थले नेपाली समाजको विश्वास आर्जन गर्न असफल भएको हुनाले नेकपाभित्रैबाट खड्गप्रसाद ओलीहरुलाई जन्माएको हो । नेपाली काँग्रेसको उदारवाद र नेकपाको जनवादको असफलतापछि नेपालमा राप्रपा वा राजतन्त्र चम्कनु पर्ने थियो । त्यसो हुन नसकेपछि ओलीतन्त्रको नवअवतार नेपाली राजनीतिमा अवतरित भएको होइन भन्न सकिन्न ।

सिद्धान्ततः कम्युनिष्टहरु राष्ट्रवादी हुन सक्तैनन् तर कम्युनिष्ट शासनमा  राष्ट्रवाद जन्मन्छ र त्यसको रुप तानाशाही हुन्छ भन्ने कुरा सोभियत रुस र स्तालिनलाई हेर्दा हुन्छ । राष्ट्रवाद वास्तवमा घीनलाग्दो रुपमा प्रकट हुन्छ भन्ने कुरा पुँजीवादबाट जन्मेको जर्मन नाजीवादी राष्ट्रवादले पुष्टि गरेको छ । नेपालको सन्दर्भमा मेहन्द्रको राष्ट्रवाद पनि नाजिवादकै नरम रुपमा मात्र थियो । महेन्द्रको राष्ट्रवाद होस् वा भारतीय नाकावन्दीको बेलामा जन्मेको ओलीको भुईफुट्टा राष्ट्रवादको आधार नस्लवाद नै थियो । मधेस र मधेसी समुदायप्रतिको घृणा र असहिष्णृुताको जगमा उभिएको राष्ट्रवाद थियो त्यो । कुनै जातिविशेषलाई श्रेष्ठ मानेर बाँकी जात जातिलाई नीच र दलनयोग्य सम्झने चिन्तन नै ओली राष्ट्रवादको असली परिभाषा थियो ।

राष्ट्रवादको साइनो न भूमिसंग जोडिएको हुन्छ न जनतासँग । राष्ट्रवाद नस्लीय हुन्छ । जातीय राष्ट्रवाद निश्चित भूगोलभित्र मात्र सीमित रहँदैन । जहाँसम्म नस्लविशेष विस्तारित भएको हुन्छ त्यहाँसम्म नस्लीय राष्ट्रवाद पनि विस्तारित हुन्छ । अर्थात राष्ट्रवादी कित्तालाई देशको सीमाले बाध्न सक्तैन । खड्गप्रसाद ओलीको राष्ट्रवादको आधार संस्कृत भाषा, हिन्दू धर्म संस्कृति र आर्य नस्लको श्रेष्ठता रहनुपर्ने मान्यता हो । ओली राष्ट्रवादले आर्य जातिलाई शासक र बाँकीलाई शासित मान्छ । आर्य संस्कार, संस्कृति, भाषा, साहित्य र पम्परालाई अरुभन्दा उत्तम मान्छ । सुसंस्कृत र सभ्य मान्छ । बाँकी सबैलाई तिरस्कारयोग्य र असभ्य करार गर्छ, असंस्कृत मान्छ । ओलीले आफूलाई ऋषिमुनिका सन्तान भनेर गौरव गर्छन् । संस्कृत साहित्य र हिन्दू दर्शनलाई उन्नत, पवित्र र गौरवमय मान्छन् । त्यो नितान्त जातिवादी सोचको उपज हो । मुठ्ठीभर आर्यवंशी हिन्दू रहेको यो मुलुकमा आर्यइतर जातजातिको बाहुल्यता छ । उनीहरुको आफ्नै संस्कार, संस्कृति, सभ्यता, भाषा र वंश छ । बहुसंख्यामा रहेका तिनै मानिसहरुको बिचमा उभिएर ओलीले सगौरव “हामी ऋषिमुनिका सन्तान् हौ” भनेर उद्घोष गर्छन, गौरव गर्छन्, छाति ठोक्छन् । हो, नेपालको राजनीतिको नेतृत्वमा कथित ऋषिमुनिहरुका सन्तानहरुको वर्चस्व रहँदै आएको कुरा सत्य हो तर बहुसंख्यक नेपालीहरु ओलीले गौरवगर्ने त्यो कित्ताभित्र पर्दैनन् । जनताका बिचमा उभिएर ओलीहरुले प्रदर्शन गर्ने त्यही जातीय दम्भ र गौरवले जाति जनजातिहरुको मानमर्दन गर्छ । हियाउँछ । अपमानित गर्छ । अल्पसंख्यक जातिविशेषबाट शासित हुनुपरेकोमा हीनताबोध गर्छ ।

सिंहको जमातमा छिरेको निलो स्यालको नियति ढिलोचाँडोे नेपालको आर्य नस्लवादी राष्ट्रवादले भोग्नु अनिवार्य हुनेछ । एकदिन स्थानीय सिंहहरुले राजा भएर बसेको निलो स्यालको पहिचान गर्नेछन् र उसलाई सत्ताबाट बलपूर्वक गर्धन्याउनेछन् । त्यस्तो सत्तापलट व्यक्तिमा मात्र सीमित हुन्छ कि सिंगो जाति बहुमतबाट पेलिन्छ भनेर अहिल्यै भविष्यवाणी गर्न सकिन्न । त्यस्तो विद्रोहले जुनसुकै रुप लिन सक्छ । संविधान निर्माणको बेलामा नेकपा, राप्रपा, नेपाली काँग्रेस र एमालेबीच प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विपक्षमा एकमना एक्यबद्धता जुट्नु र सुधारिएको संसादीय व्यवस्थाको पक्षमा सहमति जुट्नुको कारण पनि त्यही थियो । आज पर्यन्त घोर निद्रामा रहेको र नचेतेको जाति जनजातिरुपी सिंहहरुको समाजमा निलो स्याल बनेर शासन गर्न सकिने उत्तम व्यवस्था संसदीय प्रणाली मात्र हुनसक्छ भन्ने ठम्याइको परिणाम थियो त्यो सर्वदलीय एकता ।

घोर दक्षिणपन्थी मार्ग समातिसकेको तत्कालीन एमाले र भर्खर हतियार बिसाएर दक्षिणपन्थतिर यात्रा प्रारम्भ गरेको नेकपा माओवादीबीच भएको अप्राकृतिक गठबन्धबाट जन्मेको नेकपा डबल एकदिन कुनै विन्दुमा आएर विभाजित हुनु स्वाभाविक थियो । उसै पनि एकीकरणको बेलासम्म तत्कालीन माओवादीको रङ खुइलिन थालिसकेको थियो । त्यसबाट अलिकता राता भन्नमिल्ने झिलल्काहरु बािहर निस्किसकेको थिए । त्यसैले एकीकृत नेकपा डबलको विभाजनबाट निख्खर क्रान्तिकारी गुट उपगुटहरु निर्माण हुनै सक्तैनथे । तत्कालीन माओवादीबाट अलगिएका ससाना गुटहरुले त क्रानित्कारी र जनपक्षीय चरित्र प्रदर्शन गर्न सकेका छैनन भने नेकपा डबलबाट जन्मने नयाँ गुटबाट त्यस्तो आशा गर्न सकिदैनथ्यो । त्यसले जन्माउने नयाँ शक्ति भनेको दक्षिणपन्थ नै हो । ओलीको नेतृत्वमा जन्मेको नयाँ गुटको चरित्र त्यही हो । अर्थात त्यो घोर दक्षिणपन्थ्ीि गुट नै हो । त्यसमा क्रान्तिकारी वामपन्थको लेसमात्र पनि छैन । ओलीको विद्रोह दक्षिणपन्थतिरको पतनयात्रा नै हो । राप्रपाले लिन नसकेको स्थान अर्थात उसले जनता र समाजमा स्थापित गर्न नसकेको दक्षिणपन्थीप्रतिको जनविश्वास कब्जा गर्ने उद्देश्य ओलीकित्ताको हो भन्ने कुरा उनले बारम्बार देखाउने गरेको माक्र्सवादप्रतिको अरुचि, उपेक्षा, समाजवादी नीतिहरुविरुद्ध मुखर हुने कदमहरु र रामजन्मभूमि हुदै पशुपतिको शरणमा पुगेर क्षममा पूजा आयोजना गर्ने गतिविधिबाट स्पष्ट भएकै छ ।

स्पष्ट छ नेकपाबाट छुट्टिएको नयाँ पार्टीको दार्शनिक आधार दक्षिणपन्थ नै हुने हो । सत्तामा पुनः कब्जा जमाउने एक मात्र लक्ष उक्त पार्टीको हुनेछ । त्यसका लागि उससँग दुईवटा बाटो मात्र हुनेछन् । पहिलो बाटो भनेको राप्रपा र काँग्रेससँग गठबन्धन गर्ने हो । त्यस्तो गठबन्धन दिगो हुने देखिदैन । ओलीको सर्वसत्तावादी चिन्तनले अरुसँग लामो समय सहकार्य गर्न सक्ने छैन । त्यसैले उसकालागी दोश्रो बाटो रुचिकर लाग्ने छ । त्यो भनेको आफूलाई धुर दक्षिणपन्थी कित्तामा उभ्याउनु र राप्रपा, काँग्रेस र छरिएका राजावादीहरुलाई गोलबन्द गर्ने नीति लिनु । राजावादीहरुसँग पनि चोचामोचो मिलाउनु, घोर हिन्दूवादीसँग गठबन्धन गर्नु । तर ओलीले तत्काल नेकपाको गाउन उतारिहाल्ने हिम्मत गर्न खुट्टा कमाएजस्तो देखिन्छ । नेकपासँग सम्पूर्णरुपमा पारपाचुके गरेर स्पष्ट दक्षिणपन्थनीति अबलम्बन गर्ने र आफूलाई निख्खर हिन्दू राष्ट्रवादी घोषणा गर्ने हो भने नेकपाबाट चोइटिएको शक्तिमा राप्रपा, काँग्रेसबाट बाहिरिने शक्ति र समाजमा छरिएर रहेको हिन्दु राष्ट्रवादी व्यक्ति र समाज उनको वरिपरि गोलबन्द हुने सम्भावना स्पष्ट देखिन्छ । त्यस्तो गठबन्धनबाट बनेको नयाँ शक्ति नेपालको राजनीतिमा निकै बलियो बनेर देखापर्ने सम्भावना इन्कार गर्न सकिन्न । ओलीलाई परिस्थितिले त्यही नयाँ गन्तव्यतिर निमन्त्रणा गरिरहेको छ । त्यो कित्तामा विप्लव माओवादी सामेल हुने सम्भावना पनि उत्तिकै प्रबल छ । हेरौं उनमा कति आँट र हिम्मत  छ । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here