ओली सफल हुने कि पूर्वराजा ज्ञानेन्द्रको असफलताको बाटो पछ्याउने ?

14

– निमकान्त पाण्डे

तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालदेखि शुरु गरेको दीर्घकालीन जनयुद्ध उत्कर्षमा पुगेका बेला २०६१ माघ १९ मा  राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने कदम चाले ।  राजा ज्ञानेन्द्रको यो कदमका लागि प्रचण्डहरुले थालनी गरेको जनयुद्ध र प्रचण्डहरुका अभिव्यक्तिहरु विशेष रुपमा जिम्मेवार देखिन्छन् ।

प्रचण्डहरुले युद्धको उत्कर्षतासँगै  व्यक्त गरेका भनाईहरु उनीहरुका भूmठ अभिव्यक्ति थिए भन्ने कुरा पुष्टि भइसकेका छन् । संसदवादीधारका राजनीतिक नेताहरुलाई ललकार्दै तिम्रा मालिकसँग मात्र  वार्ता गर्छाै भनेर प्रचण्डहरुले अभिव्यक्ति दिने गरेका थिए । उनीहरुको यस्तो अभिव्यक्ति नै राजा ज्ञानेन्द्रमा सत्तामा हस्तक्षेपको मोह विकसित भएको रुपमा लिन सकिन्छ ।

अस्ति सोमवार माघ १९ गते यो कदमको सोह्र बर्ष पूरा भएको छ । राजा ज्ञानेन्द्रले चालेकै जस्तो कदम अहिले प्रधानमन्त्री केपी ओलीले पनि चालेका छन् । राजा ज्ञानेन्द्रले पनि संसद विघटनबाटै आफ्नो अभियान शुरु गरेका थिए ।  ज्ञानेन्द्रले यस्तो कदम शुरु गर्दाको  अवस्थामा पनि माओवादी पक्ष भूमिगत थियो भने अरु संसदवादीधारका राजनीतिक दलहरु सडकमा आन्दोलित थिए । एउटा भिन्नता के देखिन्छ भने राजावादीहरु राजाको  समर्थनमा त्यो बेला सडकमा आन्दोलित थिएनन् तर अहिले प्रधानमन्त्री ओलीको कदमको समर्थनमा पनि सडकलाई आन्दोलित बनाइएको छ ।

२०४६ सालको आन्दोलनपछि बहुमतसहित सत्तामा पुगेको नेपाली काँग्रेसले सही ढङ्गले सरकार हाँक्न सकेको थिएन । काँग्रेसले बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्नेछ भन्ने अपेक्षा आमजनताको थियो । बहुदलीय व्यवस्था प्राप्तिपछिका दिनहरुमा   काँग्रेसको नेतृत्वमा लामो समयसम्म सरकार चल्यो । तर काँग्रेसले देशमा स्थापित उद्योग र कारखानाहरु कौडीको मूल्यमा बेचेर देशलाई कंगाल बनाउने काम ग¥यो ।  काँग्रेसको सरकारले गरेका यी कामहरु जनविरोधी थिए र राष्ट्रघाती पनि थिए । यसमा खवरदारी गर्ने काम प्रमुख प्रतिपक्षिको भूमिकामा रहेको तत्कालीन नेकपा एमाले पनि  गरेन । त्यसैले गर्दा काँग्रेस र एमालेप्रति जनतामा आक्रोश चुलिदै गएको र माओवादीले सशस्त्र युद्धलाई उत्कर्षमा पु¥याएको अवस्थाको उपजका रुपमा राजाको कदमलाई लिन सकिन्छ ।

तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता सञ्चालनको अनुभव नगरेका कारण पनि उनी असफल भएको मान्न सकिन्छ । सर्वप्रथम त ज्ञानेन्द्रले वैदेशिक सम्बन्धलाई आफ्नो पक्षमा तान्न सकेनन्  भने देशभित्र संसदवादी धारका दलहरु र संसदीय व्यवस्थाकै विरुद्ध सशस्त्र युद्ध शुरु गरेको राजनीतिक शक्ति दुवैलाई विपक्षमा जान बातावरण  बनाएका कारणबाट राजा ज्ञानेन्द्रको असफलता  भएको हो ।  परन्तु राजा ज्ञानेन्द्रले चालेको त्यो कदमको पुनरावृत्ति  १६ वर्ष पछि गणतन्त्रका प्रधानमन्त्रीबाट हुन पुगेको अवस्थाले देशलाई पुनः संक्रमणकाल तर्पm घचेटिरहेको महसुस हुन थालेको छ ।

तत्कालीन युद्धरत माओवादीले राजा ज्ञानेन्द्र समक्ष रोल्पाबाटै वार्ताको प्रस्ताव पनि नगरेको होइन । तर राजा ज्ञानेन्द्रलाई उनका विश्वासिला पात्रहरुले धोका दिए वा स्वंयम् ज्ञानेन्द्रबाटै त्यो वार्ताको प्रस्तावलाई स्वीकार नगर्ने काम भयो ? यो वार्ताको प्रस्ताव गर्ने पक्ष र अस्वीकार गर्ने पक्षलाई जानकारी हुने कुरा हो । तथापि राजा ज्ञानेन्द्रलाई माओवादीको तर्पmबाट भएको भनिएको  वार्ताको प्रस्ताव कतैबाट पनि नपुगेको कुरा राजा ज्ञानेन्द्रबाट सार्वजनिक भएको पाइएको थियो ।

अहिलेको अवस्थामा प्रधानमन्त्री केपी ओली र माओवादी युद्धकै निरन्तरता जस्तो मानिने विप्लव नेतृत्वको नेकपा वीच  पनि वार्ताको प्रसंग चलेको छ ।  प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनितिक  रुपान्तरका एजेण्डाहरुसहित सशस्त्र युद्धको तयारी गरिरहेको  विप्लव नेतृत्वको नेकपासँग इमान्दारिता साथ सम्वादको थालनी गरेर उनीहरुका एजेण्डाहरुलाई सम्वोधन  गर्ने प्रतिबद्धता देखाउन सके भने ओलीको निरन्तरता र देशको समृद्धिसँगै नेपाली जनताको सपना पनि पूरा हुन सक्ने  सम्भावनालाई  अस्वीकार गर्न सकिदैन । त्यसैले प्रधानमन्त्री ओलीले  पूर्वराजा ज्ञानेन्द्रको असफलताको बाटो पछ्याउने कि, आफ्नो चौध वर्षे जेलजीवनको औचित्यलाई पुष्टि गर्ने ? निर्णय  गर्ने बेला आएको छ, आगे चेतना भया ! – सम्पादकीय जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here