बीस बर्षपछि कमरेड बामदेवसँगको सहयात्रामा जोडिनुको औचित्य !

23

-निमकान्त पाण्डे

सगर्व जानकारी गराउन चाहन्छु कि २० बर्षपछि बामदेव कमरेडसँग राजनीतिक अभियानमा जोडिन पुगेको छु । आपूm राजनीतिक रुपमा डबल नेकपासँग संगठित नरहेको भएपनि बिभाजित दुबै समूहका गतिबिधिमाथि असहमति प्रकट गर्दै दुबै समूह भन्दा फरक रुपमा राजनीतिक सन्देश दिने अभियानमा बामदेव कमरेडले मलाई समेत जोड्न चाहेपछि मैले नेकपा एकता राष्ट्रिय अभियानमा उपस्थितिको औचित्यबारे केही लेख्नै पर्ने आवश्यकताबोध गरेको छु ।

सर्वप्रथम त बामदेव कमरेडलाई मैले बिभाजनकारीहरु भन्दा फरक रुपमा बुझ्दै आएकाले पनि एकता अभियानमा जोडिन आवश्यक महशुस गरियो । तर डबल नेकपामा एकता किन ? यो  प्रश्नको जवाफ मलाई कमरेड बामदेवले जसरी दिनु भयो , म सहमत भएर सहभागिता जनाएको छु । गत माघ १४ गते ललितपुरस्थित सिद्दार्थ कटेजबाट सुरु भएको नेकपा एकता राष्ट्रिय अभियानमा बामदेव कमरेडका साथमा जोडिन पुग्दा मैले बिगत २० बर्ष अगाडिका घटनाक्रमहरुलाई स्मरण गरिरहें ।

महाकाली सन्धिमा असहमति जनाउँदै तत्कालीन नेकपा एमालेसँग सम्बन्ध बिच्छेद गर्दै नेकपा माले निर्माणको अभियानमा बामदेव कमरेडका साथमा लागियो । त्यसबेलाको नेकपा माले र कमरेड बामदेव गौतमको राजनीतिक उचाईका सामु सबै राजनीतिक दल र सबै राजनीतिक ब्यक्तिहरु बाम पुड्के देखिन्थे । अरु सबैको नजरमा यस्तो नभए पनि मेरो र म जस्ता धेरैको नजरमा यस्तो प्रभाव अवश्य पनि जवरजस्त थियो । निर्वाचनमा शून्य सिटको अवस्थाले त्योबेलाको नेकपा मालेका नेतृत्वबीचमा बढेको निराशाले सम्भवतः बामदेव कमरेडलाई पनि निराश बनायो । त्यसपछि बामदेव कमरेडले नेकपा एमालेसँग पार्टी एकताको वातावरण वनाउन पर्ने कुरामा मेरो सहयोग आवश्यक रहेको कुरा गर्नु भयो । मैले ठूलो गल्ती हुनेछ कमरेड भनेर सहमत गराउन धेरै प्रयास गरें, तर सकिन । बरु म आफै बामदेव कमरेडको प्रस्तावमा सहमत हुन पुगें । आफ्नो अडानलाई छोडेर तत्कालीन नेकपा एमोसँगको एकता अभियानमा सरिक भईयो ।

कमरेड बामदेवकै सुझाव बमोजिम कमरेड केपी ओलीसँग भेटेर ओलीको अन्तरवार्ता जनधारणा साप्ताहिकमा प्रकाशन गर्ने सहमति भयो । तर ओलीलाई जसरी पनि एकताको पक्षमा बोल्न लगाउने र ओलीको त्यो भनाईलाई हाईलाईट गरेर समाचार बनाएर एकताको माहौल बनाउने कुरा भयो । ओली एकताका पक्षमा थिएनन् । ओलीको अन्तरवार्ता लिने निर्णय अनुसार त्योबेलाका मेरा सहयोगी सहकर्मी मधुसुदन पौडेलले कमरेड ओलीलाई फोन सम्पर्क गरेर अन्तरवार्ताका लागि प्रस्ताव गर्दा ओलीले सम्पादकले फोन नगरेर तपाईले किन  भनेर प्रश्न गरेपछि मैले स्वयम् फोन गरेर अन्तरवार्ताको प्रस्ताव गरें । तर कमरेड ओली सहमत हुनु भएन , भेटेर मात्र अन्तरवार्ता दिने वा नदिने भन्ने कुराको टुंगो लगाउँला भन्नु भएपछि सहमति जनाएर सहयोगी मधु र म ओली निवास मीनभवनमा पुग्यौं । मीनभवनको ओली निवासमा पहिलोपटक पुगेका हुनाले हामी दुबैका लागि नौलो ठाउँ थियो । ५ मिनेटको प्रतिक्षा पछि ओली हामी समक्ष आउनु भयो , अभिवादन साटासाट गरेर हात मिलाएर बस्यौं ।

परिचयात्मक सम्बाद सुरु गर्ने क्रममा कमरेड ओलीले भन्नु भयो – के रे ? जनधारणा साप्ताहिक हैन ? हामीले हो भनेर सहमति जनायौं । ओलीले भन्नु भयो – यस्तो चुत्थो पत्रिकालाई किन अन्तरवार्ता दिने मैले ? जनधारणा, जनआस्था, नव आवाज, जनादेश लगायतका पत्रिकाहरुलाई म पत्रिका नै मान्दैन भन्नु भयो । आफ्नै निवासमा बोलाएर ओलीले मलाई गरेको अपमानको बदला त्यही हुनेछ जे सोचेर आएको छु भन्ने सोच बनाएर संयम बन्नु नै उपयुक्त लाग्यो ।  मैले किन यस्तो भन्नु भयो कमरेड भनेर प्रश्न गरें । ओलीले जनधारणा साप्ताहिक लगायत अन्य केही पत्रिकाहरुको नामै लिएर ब्यक्तिगत चिरत्र हत्या गर्ने पत्रिकाहरुको स्थान पत्रिकामा रहँदैन भनेर जवाफ फर्काउनु भयो । मैले अरु पत्रिकामा प्रकाशित समाचारहरुबारे केही भन्नु छैन , तर जनधारणा साप्ताहिकमा कहिले के समाचार प्रकाशन गरेर हामीले तपाईको चरित्र हत्या गरेको देख्नु भयो भनेर प्रश्न गर्दा लामै छलफल भयो , ओलीले ०५४–०५५ सालका जनधारणा पत्रिका ल्याएर भोलि फोन गरेर आउन भन्नु भयो । हामीले सहमति जनायौं र बिदा भयौं ।

दोस्रो दिन मैले कमरेड ओलीलाई फोन गरें,  कुरा भए । पुराना पत्रिकाको फाईल ल्याउनु पर्ला कमरेड भनेर सोध्दा आवश्यक छैन भनेपछि मधु र म फेरि पुग्यौं । बसेर मनका गन्थन हुँदै थिए , महासचिव माधव नेपालको फोन आयो , ओलीलाई कोटेश्वर पुग्नै पर्ने भयो । फेरि भोलि बस्ने समझदारी बनाएर बिदा भयौं । अर्को दिन पनि बिहानै पुगियो , फेरि केही पुरानै कुरा उठे । महाकाली सन्धिका सवालमा बाहेक अरु कुनै पनि बिषयमा वा तपाईका ब्यक्तिगत बिषयमा समाचार वा लेखहरु जनधारणामा प्रकाशन भएको देखाउन सक्नु भएमा पत्रकारिता र राजनीतिबाट आजैदेखि  सन्यासै लिनेछु भनेर मैले ओली कमरेडलाई भनेपछि बल्ल सहमति बन्यो । तर मैले पनि ओलीलाई मेराबारेमा पार्टीका आन्तरिक बैठकमा ओलीले बोलेका केही बिषयमा आत्मालोचना गर्न र गल्ती स्वीकार गर्न त्यसबखत सफलता हासिल गरें । ओलीको पछिल्लो यस्तो आत्मालोचना गर्ने ब्यवहारले मलाई ओलीप्रति आत्मियता पनि बढाउन सहयोग पुग्यो । त्यसपछि ओलीले हामीलाई आफ्नो सुत्ने कोठामै लगेर बिस्तरामा बसालेर अन्तरवार्ता रेकर्ड गर्न सुरु गरियो ।

बामदेव कमरेडको सुझाव अनुसार मेरो मिशन बनाएर कमरेड ओलीलाई सम्मानजनक प्रश्नहरु राख्दै अन्तरवार्ता बनाईयो । भोलिपल्ट जनधारणा साप्ताहिकको मुख्य समाचारमै ओलीको अन्तरवार्ता बनाएर पार्टी एकताका पक्षमा ओलीलाई चर्चित बनाउन सफल भईयो । त्यसपछि सुरु भएको बामदेव कमरेड र केपी कमरेडको सहयात्राले केपी कमरेडलाई दुईपटक प्रधानमंत्री र पार्टीको अध्यक्षसम्म बन्न सफलता हासिल भएको छ भने बामदेव कमरेडलाई चुनावमै पराजीत गराउने अन्तरघातसम्मका खेलहरु भएका छन् । यसबीचका सबै घटनाक्रमहरुबारे सबैलाई जानकारी छ , यहाँ लेखिरहन त्यति आवश्यक लागेन ।

पछिल्लोपटक बामदेव कमरेडलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय ओली सरकारले गरेपछि मलाई पनि बधाईहरु धेरै आएका थिए । परन्तु बामदेव कमरेडको यो नियुक्ति प्रकरण मलाई पटक्कै मन परेको थिएन । वर्तमान सम्बिधानको जगमा टेकेर जुन खालको राष्ट्रघात गर्ने काम डबल नेकपाको दुईतिहाई बहुमत नजिकको सरकारबाट भएका छन् , त्यस आधारमा बामदेव कमरेडको मनोनयन सम्मान होईन अपमान हो भन्ने मेरो निष्कर्ष रहेको हो ।

पछिल्लो पटक सम्पन्न पार्टी एकताको लागि सतत् प्रयत्नशील रहँदै आएका र चुनावी गठबन्धनसमेत बनाउन सफल भएका तत्कालीन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेतको हैसियतमा रहेका कमरेड बामदेव गौतमलाई नै बर्दिया जिल्लाको निर्वाचनमा पार्टी भित्रैबाट अन्तरघात गरेर पराजित गराइयो । पार्टीका सहकर्मी नेताहरुकै सहमतिमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आपूmलाई प्रस्तुत गर्दै चुनावी अभियानमा होमिएका बामदेव कमरेडले संचारमाध्यमलाई अन्तर्वार्ता समेत दिनु भएको थियो । तर बामदेवलाई हराएर केपीले आफ्नो लाईन सफा गर्नु भयो । मानिसहरु भन्ने गर्छन् — प्रतिनिधिसभाको चुनावमा केपी ओलीको भावी प्रधानमन्त्रीका रुपमा प्रचार भएकाले अत्यधिक बहुमत प्राप्त भएको हो , तर वास्तविकता फरक छ । बामदेव कमरेडले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गराउने कामको अग्रता नलिएको भए बहुमतको सरकारको सम्भावना नै रहने थिएन ।  अरु सबै शीर्ष नेताहरु प्रधानमंत्री भैसकेकाले भावी प्रधानमन्त्री बामदेव नै हो भनेर नेतृत्वबीच प्रस्ताव गरिएको आधारमा उहाँले अन्तर्वार्ताका क्रममा आपूmलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर दावी गर्नु भएको थियो । तर कमरेड बामदेवको यही दावी नै बर्दियाको चुनावमा पराजयको मुख्य कारण बन्न पुगेको हो ।

जे होस्, बामदेव कमरेडले अरु सहयात्रीहरुसँग बेईमानी र अन्तरघात नगरे पनि अरुको अन्तरघातको शिकार पटक–पटक बन्नु परेको छ ।  महाकाली सन्धिमा पार्टी नेतृत्वले राष्ट्रघात गरेको कुरा आज आएर प्रमाणित भैसकेको छ । तर त्यो सन्धीमा पार्टीलाई गल्ती नगर्न बामदेव कमरेडले चर्को दवाव दिनु भएको थियो । तेह्रौं पटकसम्मको पार्टी बैठकमा सन्धिको पक्षमा बहुमत नपुगेपछि माधव कमरेड र केपी कमरेडबाट बैठकलाई निर्णयमा पुग्न नदिने र माइन्यूटसमेत नगर्ने काम भयो । तैपनि पार्टीको हितका निम्ति बामदेव कमरेडलगायतको महाकाली सन्धि विरुद्धमा रहेको त्योबेलाको नेतृत्वले पार्टीको बैठकलाई निरन्तरता दिदै आयो। अन्ततः चौधौं पटकको बैठकमा भारततिर घुम्न गएका भनिएका केन्द्रिय सदस्य ईश्वर पोख्ररेल र अस्पतालमा उपचाररत पार्टी अध्यक्ष मनमोहन अधिकारीको मत प्रयोग गर्ने बैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेसमेतको मत थपेर एक मतले बहुमत बनाइ सन्धिको पक्षमा निर्णय गराइयो । यो राष्ट्रघाती निर्णयले देशको महत्वपूर्ण जलाधार क्षेत्र ओगटेको र पश्चिम नेपालको सिमानालाई समेत स्पष्ट गर्न सक्ने अवस्थाको महाकाली नदिलाई भारत—नेपालको साझा नदि मान्ने काम ग¥यो । यही महाकाली सन्धिको जगमा टेकेर भारतले महाकाली नदिको  मुहान समेत परिवर्तन गरेको छ भने पश्चिम नेपालका भूभाग आफ्नो देशको भूभागमा मिलाएर नेपालको सिमा अतिक्रमण गर्न पुगेको छ ।

पार्टी एकीकरणमा जोडिए पछि महाकाली सन्धिबारे कुरा नउठाउने प्रतिबद्दतामा बामदेव कमरेडलाई बाँध्न सफल भएका माधव र केपी अहिले छुट्टा छुट्टै समूहको नेतृत्व गरेर एक आपसमा निर्बस्त्र गराउने प्रतिस्पर्धामा उत्रिरहेका बेला बामदेव कमरेडले पार्टी एकताको लागि पुनः प्रयास जारी राख्ने क्रममा म स्वयम् पनि जोडिन पुग्दा खुशी लागेको छ । सरकारमा हिस्सेदार रहेका प्रचण्ड र माधव कमरेडहरुले केपी ओलीलाई मात्र दोषी बनाएर आफूहरु चोखो भएको नाटक मञ्चन गरिरहेका बेला बामदेव कमरेडको एकता अभियान सैद्दान्तिक प्रतिबद्दता र चारित्रिक स्वच्छता अभियानको पनि मार्ग निर्देशन हुन सक्ने बिश्वासका साथ सहयात्री बन्न पुगिएको छ भन्ने कुरा भने यहाँ राख्न आवश्यक लागेको छ ।

आफ्नै पार्टीको सरकारले सम्झौता गर्न खोजिरहेको एमसीसी जस्तो साम्राज्यवादी शैन्य योजनाको चक्रब्यूहमा देशलाई फसाउने काममा प्रचण्ड र माधब कमरेडहरुको स्पष्ट दृष्टिकोण आउन सकिरहेको छैन । एमसीसी सम्झौता पारित भयो भने नेपालको अवस्था कस्तो होला ? यसबारेमा धेरै बहसहरु भैसकेका छन् ।नेपाल कम्युनिष्ट पार्टीको आदर्श अनुरुप साम्राज्यवादको विरोध स्वाभाविक हुन जान्छ । त्यसमा पनि साम्राज्यवादले सैन्य योजनामा नेपाललाई फसाउन खोजेको स्पष्टै छ ।  डबल नेकपाको सरकारले साम्राज्यवादको स्वार्थमा नेपाली भू—भागलाई शैन्य खेलमैदान  बनाउन दिने गलत सम्झौतालाई सम्बिधान भन्दा माथि राख्नेगरी संसदबाट नै पारित गर्ने तत्परता देखाइरहेको अवस्थामा केपी ओलीलाई असफल गराउने प्रयास किन भएन ? संसदबाटै एमसीसीलाई अस्वीकार गर्ने हिम्मत पार्टीको नेतृत्वले किन गरेन ? एकता अभियानले यो प्रश्नको उत्तर पनि खोज्नु पर्छ भन्ने मलाई लाग्दछ ।

कम्युनिष्ट पार्टीको नामबाट जनताकाबीच प्रस्तुत भएर जनताको मत प्राप्त गरी दुई तिहाई बहुमतको निकट पुगेर सरकार निर्माण गरेको पार्टीले कम्युनिष्ट आदर्शका मूल्य र मान्यताहरुलाई किन पछ्याउन सकेन ? साम्राज्यवादी मुलुकहरुको स्वार्थमा पार्टीलाई लम्पसार बनाउने हो भने पार्टीको नाम नेकपा, अझ डबल नेकपा राख्नुको कुनै औचित्य रहन्न । नेकपाको सरकारले जनताका जनजीविका र राष्ट्रिय स्वाधीनताको सवालमा ध्यान दिने कि साम्राज्यवादीहरुको स्वार्थमा ? यो विषयमा पनि राष्ट्रिय एकता अभियानको स्पष्ट दृष्टिकोण हुनु पर्दछ । बामदेव कमरेडको महाकाली सन्धिताकाको देशभक्तिपूर्ण अडान आजको टड्कारो आवश्यकता हो । पछिल्लोपटक नेपालको भूभाग सम्बन्धमा तयार भएको नक्शा अनुसारको पाठ्यपुस्तकमाथि प्रधानमंत्री केपी ओलीको हस्तक्षेप किन भयो ? एकता अभियानले गम्भिरतापूर्वक उठाउनु पर्ने बिषय यो पनि हो ।

कम्युनिष्ट पार्टीको अत्यधिक बहुमतबाट निर्माण भएको सरकारले गरेका गलत कामहरुको बिरोधका नाममा आफ्नो गूटको भागबण्डामा मात्र लिप्त हुन पुगेका पार्टीका नेताहरुलाई पनि एकता अभियानले मार्ग निर्देश गर्नु जरुरी छ । एकता अभियानको सार्थकता केवल पार्टीलाई आकारमा ठूलो बनाएर र सरकार निर्माण गरेर मात्र हुने छैन । कम्युनिष्ट पार्टीको सैद्दान्तिक निष्ठा र निष्ठा अनुसारको नैतिकता र ब्यवहार हुनु पर्ने सवालमा नेपालका  सबै कम्युनिष्ट पार्टीहरु एकीकृत हुन जरुरी छ , कम्युनिष्ट पार्टीहरुको निष्ठा गन्तब्य समाजबाद नै हो र हुनु पर्दछ । हाल प्रचलित सम्बिधानले नै समाजबादको लक्ष बनाएको छ , सत्तासिन नेकपाको चुनावी घोषणापत्रमा पनि समाजबाद गन्तब्यको प्रतिबद्दता रहेको छ , तर समाजबादकै लक्ष बनाएको एउटा कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ । कम्युनिष्ट पार्टीलाई मतदान गरेर अत्यधिक बहुमतका साथ सत्तामा पु¥याएका नेपाली जनताको चाहना पनि गन्तब्य समाजबाद नै हो, परन्तु सत्तामा पुगेका नेताहरुले गन्तब्य भुलेका छन् भने सत्तालाई मार्ग निर्देश गर्नु पर्ने पार्टीका नेताहरुले पनि परिवारबादलाई महत्व दिएका छन् । पार्टी बिभाजनलाई रोक्न सबैको गन्तब्य समाजबाद हुनु जरुरी छ, जो सम्बिधानसम्मत गन्तब्य पनि हुनेछ । आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here