कीर्तिपुरको बाघभैरव मन्दिरको छानो झिंगति कि तामा ?

259
– ललेन्द्र शाक्य
७० लाखको बजेट हो रे । अहिले ऐतिहासिक कीर्तिपुर नगरीको ऐतिहासिक सांस्कृतिक महत्वको कीर्तिपुरको मात्र हैन, सिंगो नेपाल अनि विश्वभर चर्चित बाघभैरव मन्दिरको झिंगति छानो बिस्थापित गरी तामाको छानो हाल्ने चर्चा परिचर्चाले स्थान लिइरहेको अवस्था छ ।
सामाजिक संजालदेखि टोल टोल, बस्ती बस्ती अनि समग्र नेपालमैं मात्र हैन सामाजिक संजालका कारण विश्वभर नै चर्चाको विषय बनिरहेको छ, कीर्तिपुरको बाघभैरव मन्दिरको झिंगति छानो बिस्थापित गरी तामाको छानो हाल्ने विषय ।
कुरो सुन्नमा आइरहेको छ कि, झिंगति छानो भएको कारण वर्षायाममा पानी चुहियो रे, त्यैसैले झिंगति छानो हटाई तामाको छानो हाल्ने रे । अहिलेको आधुनिक प्रविधि प्रयोग गरी पानी नचुहिने गरी झिंगति छानोलाई नै यथावत् राखेको खण्डमा …साँप पनि नमर्ने, लठ्ठी पनि नभाच्ने…जस्तै इतिहास पनि यथावत रहीरहन्छ, भोलिको हाम्रा सन्ततिले पनि पूर्खाको पहिचानको बारे बुझ्न र जान्ने अवसर मिल्नेछ । अनि बास्तवमा विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउँछन्, आधुनिकता हेर्न हैन, पुरातात्विक सम्पदा, संस्कृति, परम्परा, रीतिरिवाज एवं समाज अवलोकनको लागि आउँछन् । यो कुरामा पनि हामी नेपालीले ख्याल राख्नुपर्ने गम्भीर विषय जस्तो लाग्छ । यति मात्र हैन कि, संसारभर प्रसिद्ध बाघभैरवको स्वरुप नै परिवर्तन भएपछि विदेशीले नेपाल भ्रमणमा आएको बेला फोटोमा देखेको पुरानो बाघभैरव मन्दिरको पुरानो स्वरुप नयाँ देखियो भने ती पर्यटकहरुको मन अवश्य पनि रुन्छन् । किनकि, हामीले पुरानो बाघभैरव मन्दिरको स्वरुप हेर्न पाइएन भनेर ।
७० लाखको बजेट, बरु बाघभैरब मन्दिरको झिंगति छानो बिस्थापित गर्नुको सट्टा अर्को नयाँ मन्दिर तामाको छानो सहितको नयाँ मन्दिर निर्माण गरेको खण्डमा पछि हालको पुस्ताले निर्माण गरेको मन्दिर भनेर भावी सन्ततिहरुले हेर्न त पाउँछन् होला । इतिहास मेटाउनुको सट्टा इतिहास निर्माण गर्नु हालको समयको माग हो जस्तो लाग्छ ।
किराँतकालीन, लिच्छविकालीन, मल्लकालीन युगका ऐतिहासिक सम्पदाहरु हामीले नजर गर्न पाएका छौं । यो युगले पनि त्यस्ता ऐतिहासिक सम्पदाहरु निर्माण गर्नु पर्ने होइन र ? भोलिका सन्ततिहरुलाई यो युगको ऐतिहासिक सम्पदाको निर्माण के देखाउँने ? हालको युगको पहिचान के छोडेर जाने ? बरु अर्को नयाँ ऐतिहासिक सम्पदाको निर्माण गरे उपयुक्त होला कि ७० लाखको बजेटबाट ।
यस विषयमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन भन्नुहुन्छ, नेपाल सरकारको संविधान अनुरुप संघीय सांसदहरुलाई पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट आएको ७० लाख रकम १० नम्बर क्षेत्रका सांसद राजन केसीद्वारा उक्त रकम बाघभैरब मन्दिरको झिंगति छानो बिस्थापित गरी तामाको छानो हाल्ने योजनामा हाल्नु भएको छ । यो योजना कीर्तिपुर नगरपालिकासंग सिधै जोडिएको योजना त हैन । तर पनि मेरो विचारमा बाघभैरब कीर्तिपुरको पहिचान भएको कारण गहनरुपमा यस बिषयमा छलफल गर्नुपर्छ जस्तो मलाई लाग्छ । नेपाल सरकारको पुरातत्व विभागले विभिन्न कालखण्डमा विभिन्न मन्दिरहरुमा झिंगति छानो हटाई तामाको छानो हालेको छ भनेको छ । पशुपतिनाथ मन्दिर पनि पहिले झिंगति छानोको भएको र पछि तामाको छानो हालेको पुरातत्व विभागले भनेको छ । यस्तै, कीर्तिपुरकै चोभारस्थित गणेश मन्दिरमा पनि हालै मात्र तामाको छानो हालेको छ । तर पनि, यदि झिंगति छानो हटाई तामाको छानो हालेको खण्डमा सांस्कृतिक महत्व, पुरातात्विक महत्व, इतिहास मेट्ने हो भने वृहत् रुपमा छलफल र सल्लाहबाट यसको समाधान गर्नु पर्छ जस्तो मलाई लाग्छ ।
यहाँ एक हिसाबले रोजगारको कुरा पनि आउँछ, झिंगति छानो बिस्थापित गरी तामाको छानो हाल्यौं । पछि झिंगति उत्पादन गरेर रोजगार गर्ने व्यक्तिहरुको रोजगारी गुमेन त ? पुरातत्व विभागले भनेको छ कि विभिन्न कालखण्डमा झिंगति छानो हटाई तामाको छानो हालेको छ भनी । त्यही कालखण्डदेखि झिंगति उत्पादन गर्नेहरु बिस्तारै बिस्तारै कम कम हुँदै आयो । अहिले भक्तपुर, थिमि, ललितपुर, बोसिगाउँ इत्यादी, कम स्थानमा मात्र झिंगटी उत्पादन हुन्छ । झिंगटी बनाउनेहरुको रोजगारी गुम्दै आइरहेको कारण, झिंगटी बिस्थापित गरी तामाको छानो हाल्दै आइरहेकोले हैन र ? झिंगटी बनाउने उत्पादकहरु को र कहाँका बासिन्दाहरु हुन् ?
अनि एउटा कुरो, हाल सांस्कृतिक सम्पदा क्षेत्रका स्थानहरुमा घर बनाउँदा, दाचि अप्पा हालेर पुरानो शैलीमा घर निर्माण गर्नुपर्छ भनी स्थानीय निकायले आह्वान गरिरहेका छन् । यदि पुरानो स्वरुपलाई परिवर्तन गरी नयाँ स्वरुप ल्याउने हो भने दाचि अप्पा प्रयोग गरी हाल किन घर निर्माण गर्नुपर्ने त ? आधुनिकतालाई नै अंगालौं न त ।
नेपालकै नम्बर एकको पूर्खाको पहिचानधारीबाट निर्मित परम्परागत सम्पदा सांस्कृतिक टोलको रुपमा उभिन आएको कीर्तिपुरकै ३ वडास्थित ससः टोलले किन पूर्खाको पहिचान झल्काउने अनुरुप झिंगटी प्रयोग गरी टोललाई आकर्षण प्रदान गरियो त ? देश विदेशका आन्तरिक एवं वाह्य पर्यटकहरु किन झुमियो त ससः टोलमा ?
बरु बजेट छ भने नयाँ सम्पदा निर्माण गरौं । पुरानो सम्पदालाई यथावत् रुपमा कायम गरौं । पानी चुहिने समस्या छ भने आधुनिक प्रविधि अपनाई झिंगटीलाई बिस्थापित नगरी पानी नचुहिने बनाउँन सकिन्छ नै । १० नम्बर क्षेत्रका सांसद राजन केसीज्यूले समग्र कीर्तिपुर विकासको लागि धेरै सकारात्मक कदमहरु एठाउँदै आइरहनु भाको छ । पूर्वाधार विकासको साझेदारी सांसद बजेट सही क्षेत्रमा प्रयोग होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here