जनयुद्ध, संयुक्त आन्दोलन र निर्णायक जनआन्दोलनबारे केही कुरा ! – नारायण शर्मा

15
मूलतः दस बर्षे महान् जनयुद्धको अभियानले र अंशत: १९ दिने संयुक्त जन आन्दोलनले गर्दा नै अहिले देसमा संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिकता र गणतन्त्रजस्ता उपलब्धिहरु प्राप्त छन् ! तर दुखको कुरा दसौं हजार सर्वोत्तम छोराछोरीको शहादत, बेपत्ता, घाइते-अपाङ्ग र असंख्य जनताको असीमित त्याग-तपस्या, दुख-कष्ट, रगत-पसिना, आँसु-श्रम र शक्ति-बुद्धिको बलिदानबाट प्राप्त यी केही उपलब्धिहरुलाई पनि अपहरण गर्न वा उल्टाउन आज देसी-विदेसी प्रतिकृयावादी-साम्राज्यवादीहरुले ठुल्ठुला षड्यन्त्र, चालवाजी, चलखेल र हस्तक्षेप बढाइरहेका छन् ! यसक्रममा दुई तिहाइजतिको बहुमत ल्याएको पार्टीको सरकारका प्रधानमन्त्री केपी ओलीद्वारा संसदको विघटन गरियो भने पार्टी पनि फुटालियो । तत्पश्चात् विघटित संसदलाई पुनर्स्थापना गराउनको लागि नेकपाको प्रचण्ड-माधव समूहले नेकपाकै अर्को सत्तासीन ओली-बादल समूह र उसको सरकारलाई आन्दोलनको आँधीबेहरी ल्याउने धम्की दिइरहेको छ । त्यसको निम्ति अहिले नेपाली काङ्ग्रेस, नेकपा (प्रचण्ड-माधव समूह) र जनता समाजवादी पार्टी बीच संयुक्त आन्दोलन गर्नेबारे कुरा पनि भैरहेको छ तथापी उनीहरुबीच कुरा मिलिरहेको छैन । यो कुरा नमिल्नुमा ती दलका नेता र दलहरुको सोंच र स्वार्थ नमिल्नु त एउटा कारण हो नै । तर त्योभन्दा पनि मुख्य कारण अर्कै छ । त्यो हो नेपालसम्बन्धी अमेरिकी र भारतीय सोंच र स्वार्थ पूर्ण रुपमा नमिल्नु ! जुन दिन यी दुई साम्राज्यवादी र विस्तारवादी शक्तिराष्ट्रबीच यो कुरा मिल्छ, त्यसै दिन नेपालका उपरोक्त शक्तिहरुबीच संयुक्त आन्दोलन गर्ने सहमती हुन्छ !? यद्यपि यो संयुक्त आन्दोलन अग्रगामी क्रान्तिकारी हुन नसक्ने स्पष्ट नै छ, तथापी त्यो पनि हुन नदिनेमा उनीहरुको हात समेत जिम्मेवार छ ।
नेपाललाई हालसम्म भारतीय आँखाबाट हेर्दै आएको अमेरिकाले जब चीनलाई घेर्ने र फोर्ने आफ्नो लामो समयदेखिको रणनीतिलाई तत्काल दृढताका साथ लागू गर्नेमा जोड दिन थाल्यो, तबदेखि अमेरिकाले भारतीय साथसमर्थनमा नेपाललाई आफ्नो प्रत्यक्ष कमाण्डमा चलाएर आफ्नो प्रतिस्पर्धी चीनलाई divide, disturb, dominate र destroy (4d) गर्न सक्ने कुरामा शंका गर्न थाल्यो र भारतीय कमाण्डमा यो लडाइँ जितिन्छ भन्नेमा अझसम्म पनि अमेरिका विश्वस्त छैन ! यद्यपि अमेरिकी विश्वास लिन हाल भारतले आफ्ना चीनविरोधी गतिविधिलाई तेज पारिरहेको छ तर चीनले भने भारत सहित दक्षिण एसियाका देसहरु मिलेर साम्राज्यवादका विरुद्ध लड्नु उचित र आवश्यक देखेकोले कुनै दिन भारत र चीन मिल्न सक्छन् र आफ्नाविरुद्ध आउन सक्छन् भनेर अमेरिकाले नेपालसहित भारतलाई आफ्नै कमाण्डमा राखेर परिचालन गर्न खोजिरहेको छ । र, यसै नीतिअनुसार नै अमेरिकाले नेपाललाई भारतको कमाण्डमा नदिएर उसले आफ्नै कमाण्डमा राखेर MCC लगायतका परियोजनाहरु मार्फत नेपालमा पसेर, बसेर र जमेर एकातिर नेपालको शोषण-दोहन गर्ने र अर्कातिर नेपाललाई युद्धभूमी बनाएर चीनका विरुद्ध धावा बोल्ने र नेपालको सच्चा छिमेकी मित्रराष्ट्र चीनलाई ध्वंश गर्ने गर्न चाहन्छ ।
यतिबेला जनता समाजवादी पार्टी, नेकाको सिटौला-शशांक समूह र यहाँसम्म कि नेकपाको प्रचण्ड-माधव समूहप्रती समेत भारतको बढी समर्थन, विश्वास, सहयोग र आशीर्वाद छ भने नेकाको देउवा गुट, नेकपाको ओली गुट लगायतप्रति अमेरिकाको बढी विश्वास, सहयोग, समर्थन र आशीर्वाद छ । यिनै विश्वास, सहयोग, समर्थन र आशीर्वादको लगानीमा नै भारत र अमेरिकाले नेपालमा आफ्ना हस्तक्षेपकारी हर्कतहरु बढाइरहेका छन् ! यसको अर्थ उनीहरुको नेपालका अरु शक्तिहरुलाई विश्वासै छैन भन्ने होइन, केही कम मात्र छ भन्ने हो ! र, यो विश्वासको मात्रा बढीघटी हुने कुरा यी पार्टीका नेता, नीति र गतिविधिहरुले शक्तिराष्ट्रको कति दलाली गर्छन् भन्नेमा भर परेको हुन्छ । हाल यो दलालीको मात्रा पनि यी पार्टी-नेताहरुले आफूलाई बढी विश्वास पाउनको लागि बढाउने प्रयत्न गरिरहेका छन् ! अहिले संसद भङ्ग र पार्टी विभाजनपछि आफूमाथि घट्दो भारतीय विश्वासलाई बढाउन ओली समूह लागेको छ भने प्रचण्ड-माधव समूह पनि अमेरिकी विश्वास बढाउन प्रयासरत छ र संयुक्त आन्दोलनको कुरा उठिरहेको छ । ज्ञातब्य छ कि ओलीको चुनाव वा संयुक्त आन्दोलन नेका-नेकपा-जसपाका शीर्ष नेताहरुका आफ्ना दलाली, भ्रष्टाचार, राष्ट्रघात, जनघात लगायतका अपराधहरुमा दण्डित हुनबाट बच्न थप अपराधगर्न सत्ता पाउने गठबन्धन मात्र हो । यो न जनआन्दोलन हो न त आधारभूत वा आमूल परिवर्तनतर्फको आन्दोलन नै हो । तथापि अहिले सरकार, सदन र सडक समेत यिनै संसदवादी दलाल शक्ति र प्रवृत्तिहरुले कब्जा गरिरहेका छन् ! तर अब सडकमा क्रान्तिकारी शक्तिहरुले पनि रणनीतिक संयुक्त मोर्चा बनाएर सशक्त हस्तक्षेप गर्दैछन् । खासगरी चार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको रणनीतिक संयुक्त मोर्चा बनाएर अन्तरिमकालीन वैकल्पिक प्रतिनिधि सभा, सरकार र व्यवस्था/सत्ताको अत्यन्त सही र क्रान्तिकारी-राष्ट्रवादी नारासहित सडक संघर्ष चर्काउने घोषणापछी सडकमा यिन्को दह्रो पकड हुने देखिएको छ । यदी यो संयुक्त मोर्चा यी सबै संसदवादी दलाल शक्तिहरु र संसदीय व्यवस्थाका विरुद्ध ठूलो चुनौतीको रुपमा बढ्दै गयो भने पनि नेकपाको सत्तासीन ओली-बादल समूहका विरुद्ध मात्र होइन, उक्त क्रान्तिकारी संयुक्त मोर्चाका विरुद्ध समेत राष्ट्रिय पार्टीको हैसियत बनाएका र अन्य संसदवादी दलाल शक्तिहरु संयुक्त हुनेछन् र तेस्रो जनआन्दोलनको नाममा नेकाको नेतृत्वमा नेकपाको प्रचण्ड-माधव समूह र जसपा आदि मिलेर एकैपटक ओली समूह विरुद्ध र क्रान्तिकारी शक्तिविरुद्ध राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको संयुक्त प्रहार केन्दृत हुने निश्चित छ ! यो स्थितिमा देसका सच्चा देसभक्त र जनवादी शक्ति-व्यक्ती, संघसंस्था र संगठन-समुदायहरुले बृहत् राष्ट्रिय एकता र संयुक्त मोर्चा बनाएर राष्ट्रिय क्रान्तिकारी प्रतिरोध संघर्ष बढाउनुपर्ने हुन्छ !
यो अवस्थामा ओली-बादल समूह र सरकारले एकातिर आफ्नो दलाल चिन्तन र चरित्र तथा प्रतिगमन उन्मुख गिरोह र गतिविधिहरुलाई छोड्नु पर्ने हुन्छ भने अर्कातिर देसका सम्पूर्ण देसभक्त, जनवादी, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी शक्ती, संघसंस्था, संगठन र व्यक्ती-व्यक्तित्वहरुलाई संयुक्त प्रतिरोधको लागि आह्वान गर्दै विप्लव समूहमाथिको प्रतिबन्ध हटाएर उक्त प्रतिरोधका लागि संयुक्त भएर वा कम्तीमा समझदारी बनाएर जाने नीति लिन पर्ने बाध्यता हुनसक्छ ।
स्मरणीय के छ भने नेपालका बारबारका आन्दोलन-संयुक्त आन्दोलन, जनआन्दोलन र यहाँसम्मकी जनयुद्धमा समेत हुने गरेको साम्राज्यवादी-विस्तारवादी मुख्यत: भारतीय र अमेरिकी हस्तक्षेपले नेपालको राष्ट्रियता कोमामा पर्दै आइरहेको छ भने क्रान्ती र क्रान्तिकारीहरु पनि प्रतिक्रान्तीका शृङ्खलाहरु बेहोर्ने क्रममा भुत्ते र भत्ते भएको विडम्बनापूर्ण वर्तमान विद्यमान छ ! त्यसैले अब नेपाल र नेपालका नेताहरु विदेसी शक्तिकेन्द्रहरुको दलाली र दासताको मानसिकताबाट मुक्त भै राष्ट्रियमुक्ती र जनताको मुक्ती सहित निरन्तर क्रान्ती, मुक्ती, प्रगती गर्दै दीगो शान्ती र समृद्धि मार्फत राष्ट्रिय समाजवादमा पुग्नु जरुरी छ ! अन्यथा फेरि पनि विगतकै जनआन्दोलनको निरन्तरता र गोलचक्करले देस र जनताको हालत झन् पछि झन् विकराल बन्ने नै देखिन्छ ! त्यसैले अब राष्ट्रिय प्रतिरोध संघर्षको रुपमा हुने क्रान्तिकारी जनआन्दोलनको क्रममा देसमा एउटा ठूलो ध्रुवीकरण हुनैपर्छ ! र, यो ध्रुवीकरण भनेको हाल विभिन्न पार्टीहरुभित्र र वरिपरि रहेका सच्चा र स्वच्छ देसभक्त, सच्चा र स्वच्छ लोकतन्त्रवादी, सच्चा र स्वच्छ वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु एकातिर हुने र बाँकी दलाल, दास, दुष्ट र भ्रष्ट प्रतिक्रान्तिकारीहरु अर्कातिर भै निर्णायक र अन्तिम संघर्ष हुनैपर्छ । यस्तो संघर्ष राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादका विरुद्ध समेत संझौताहीन र आमूल परिवर्तनकारी संघर्षको रुपमा केही लामो समयसम्म गर्नुपर्ने हुन्छ र त्यो संघर्षमा सच्चा देसभक्त नेपाली क्रान्तिकारीहरुले जित्नै पर्ने हुन्छ । यसरी मात्र जनयुद्ध दिवस मनाउनु, र संयुक्त/जनआन्दोलन गर्नुको अर्थ र महत्व होला र देसमा मुक्ती, प्रगती, स्थिरता र शान्ती-समृद्धी पनि होला ! अन्यथा देस यही अस्थीरता, अराजकता, अस्तव्यस्तता र अन्यौलताबाट गुजृनैरहनु पर्ने सुनिश्चित छ ।
राष्ट्रमुखी र जनमुखी क्रान्तिकारी चेतना भया !?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here