वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्याे

89

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ ।
पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् ।

कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हो । निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो ।

कर्जा लगानी बढे पनि सोही अवधिमा निक्षेप सङ्कलनको वृद्धिदर भने कम देखिएको छ । एक साताको सोही अवधिमा बैङ्किङ प्रणालीमा ११ अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा फागुन १४ सम्ममा वाणिज्य बैङ्कहरूले ३८ खर्ब नौ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने ३३ खर्ब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबारसम्म बैङ्किङ प्रणालीमा ७१ अर्ब रुपियाँ तरलता रहेको छ ।

चालू आर्थिक वर्षको सुरुवातदेखि कोरोना महामारीले व्यवसाय विस्तारमा चुनौती देखिए पनि अहिले बैङ्कहरू पुरानै लयमा फर्किन थालेका छन् भने कोभिड–१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तार सुस्त भएका बैङ्कहरूले व्यवसाय विस्तारलाई तीव्रता दिन थालेका हुन् ।

कोरोना महामारी कम भई व्यवसाय, बजार र जनजीवन सामान्य हुँदै गएपछि बैङ्कहरूले लगानी बढाउन थालेका छन् । एसोसिएसनका अनुसार बैङ्कहरूको कर्जा प्रवाह गत माघ पहिलो साता आठ अर्ब रुपियाँले सङ्कुचन हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपियाँ पुगेको थियो र फागुन पहिलो सातासम्म आइपुग्दा भने समग्रमा वाणिज्य बैङ्कको व्यवसायमा सुधार भएर १८ अर्ब रुपियाँको थप कर्जा प्रवाह भएको थियो । थप कर्जा प्रवाह भएसँगै फागुन पहिलो सातासम्म कुल ३३ खर्ब ३५ अर्ब रुपियाँ कर्जा प्रवाहमा रहेको थियो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here