म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु

23

एजेन्सी–म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ।

एएफपीका अनुसार बुधबार मध्य म्यानमारको शहरमा ४ र देशको दोस्रो ठूलो शहर मन्डालेमा २ जनाको मृत्यु भएको हो। एक चिकित्सकले नाम नबताउने शर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको जनाएका थिए । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए। उक्त घटनामा कम्तीमा १० जना घाइते भएको समाचारमा उल्लेख छ।

देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो। म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन्।  सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारभित्र विषम परिस्थिति उत्पन्न भएको छ। म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो।

सैनिकले सत्ता कब्जा गरेपछि आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको थियो। याेसँगै प्रदर्शन नियन्त्रणका लागि सेनाले गरेको दमनमा मृत्यु हुनेकाे संख्या २१ पुगेकाे छ।

त्यही पनि सैनिक निकट जुन्ता सरकारविरुद्ध निरन्तर आन्दोलन हुँदै आइरहेको छ। देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ।

यता आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ । यसैबीच बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ। पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन्।

यता मंगलबार आसियन क्षेत्रका मुलुकका विदेशमन्त्रीहरुको बैठक बसेको थियो। उक्त बैठकमा विदेशमन्त्रीहरुले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका थिए। तर, यो बैठकमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ सु चीको तत्काल रिहाइ र प्रजातन्त्रको पुनर्बहालीको विषयमा भने सहमति जुट्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here