महिला अधिकारका लागि आन्दोलन : पम्फा भुसाल

252

काठमाडौं — नेकपा दाहाल–नेपाल नेतृत्वको साविकको नेता पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने  जनाएकी  छिन् ।  १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने जनाएकी हुन् ।

संविधानत्: महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत: र कानुनत: नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ ।’

संविधानमा व्यवस्था भए पनि कार्यान्वयनको तहमा चुनौती समस्या रहेको भुसालले बताइन् । ‘हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् । हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकारसम्बन्धी कानुन बनेका छन् । त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।’

भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ ।

अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल र्‍याली गरेका छन् । विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here