कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा

148

विराटनगर । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा फर्केको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको ४८औँ साधारण सभाको अवसरमा उहाँले विश्व अझै पनि सङ्घर्ष गरिरहेका बेला नेपालको अर्थतन्त्रले लय समातिसकेको बताउनुभएको हो । गभर्नर अधिकारीले मौद्रिक नीतिपछि मात्रै निजी क्षेत्रले १३ अर्ब रुपियाँ बराबरको ब्याज सहुलियत पाएको बताउँदै पुनर्कर्जा एक खर्ब हाराहारीमा पुगेको जानकारी दिनुभयो ।
नेपालको अर्थतन्त्रको ‘रिकभरी’ सन्तोषजनक अवस्थामा रहेको बताउँदै उहाँले निक्षेपभन्दा कर्जा प्रवाह बढी रहेको बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीले बैङ्कबाट ऋण लिएर उत्पादनका क्षेत्रका कम लगानी गर्ने गरेको समस्यालाई तत्काल हटाउन आवश्यकता औँल्याउनुभयो । आयातका लागि मात्रै ऋण गर्ने मान्यता नराख्न आग्रह गर्दै उत्पादनका क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैङ्कले नीतिगत धारणाका लागि छलफल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतिलाल दुगडले निजी क्षेत्रलाई विगतको बजेटले समेट्न नसके पनि मौद्रिक नीतिले राहत दिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आगामी चैत मसान्तसम्ममा दस वर्षे अवधारणा अगाडि सार्ने महासङ्घको योजना रहेको जानकारी दिँदै करिब एक सय अर्बको अर्थतन्त्र र २२ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी दसवटा क्षेत्रमा गर्नुपर्ने सुधारका लागि एक सय सुझाव तयार गरिने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले सरकार राजस्वमुखी मात्रै बन्दा उद्योगी–व्यवसायी आयातमुखी भएको बताउनुभयो । उहाँले आयातमुखी राजस्व प्रणालीलाई चाँडोभन्दा चाँडो विस्थापित गरेर उत्पादनमुखी आर्थिक प्रणालीलाई बलियो बनाउन उद्योगी–व्यवसायीका योजना आवश्यकता आँैल्याउनुभयो ।
यसैगरी नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले प्रत्येक क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सक्दा मात्रै अर्थतन्त्रको गति तीव्रतर रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले मौद्रिक नीतिले समेटेको निजी क्षेत्रलाई आगामी बजेटले अझै समेट्ने विश्वास व्यक्त गर्नुभएको थियो । सङ्गठनको ४८औँ साधारण सभाले नयाँ नेतृत्व शनिबार चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here