उपत्यकामा वर्षकै उच्च वायुप्रदूषण

95

काठमाडौं । देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताउनुभयो ।
विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको भन्दै सतर्क रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । वातावरण विभागको तथ्याङक अनुसार काठमाडौं, सौराहा , सिमरालगायतका सहरको वायुप्रदूषण अति हानिकारक स्तरमा पुगेको छ । विभागले नियमितरुपमा वायुको प्रदूषण मापन गर्दै आएको छ ।

काठमाडौंको मुख्य शहरी क्षेत्र भैसेपाटी, कीर्तिपुर, भक्तपुर, सौराहा र सिमरामा पिएम २.५ माइक्रोनको धूलोको प्रदूषण सबैभन्दा बढी मानवस्वास्थ्यमा हानिकारक बनेको विभागको तथ्याङकले देखाएको छ ।
काठमाडौंको भैसेपाटी क्षेत्रको वायु बिहीबार राती ९ बजे र शुक्रबार अपरान्ह ३ बजे दुई सय ३० माइक्रोग्राम प्रतिमिटर क्युव पुगेको छ । यहाँ पिएम २.५ माइक्रोन आकारकै धुलोको प्रदूषण २४ घण्टामा विहिबार एक सय १९ माइक्रोग्राम प्रतिमिटर क्युव पुगेको थियो भने शुक्रबार एक सय ८० पुगेको तथ्याङक छ । यता सौराहामा एक साता अघि वायुप्रदूषण थिएन तर २४ घण्टाको तथ्याङक हेर्दा बिहीबार ९१ माइक्रोग्राम प्रतिमिटर क्युव थियो भने एक्कासी बृद्धि भएर शुक्रबार भने २६७ पुगेको वातावरण विभागको तथ्याङकले देखाएको छ ।

त्यस्तै गरी नेपालगञ्ज, दाङ, जनकपुर, जुम्ला, रारा समेतमा वायुप्रदूषण बढेको छ । प्रदूषणका कारण बाग्लो तुँवालो लाग्दा हवाइसेवा समेत प्रभावित बनेको छ ।

वायुप्रदूषणबाट बच्ने उपायः
मर्निङ वाक नगर्नु गरे पनि सडकभन्दा टाढा खुला स्थानमा गर्नु
मास्क लगाएर हिँड्नु
बिहान ९ बजेभन्दा अगाडि चलहपहल हुने क्षेत्रमा ननिस्कनु
खुला क्षेत्रमा आगो बाल्न र फोहाेर जलाउन नदिनु
धुलो सरसफाइमा आफैंले पनि सहयोग गर्नु
सकेसम्म जोगिएर बस्नु
प्रदूषित गाडी सञ्चालन नगर्नु र नगराउनु

गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here