एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा पुनः एक हप्ता लकडाउनकाे घोषणा गरिएको छ ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले जनाए । अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।
बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन् ।
स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।-सिन्ह्वा