सबै कम्युनिस्ट पार्टीबीच एकता : नेता पुन

131

ओखलढुंगा-नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने जनाएका छन्।

ओखलढुंगामा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धार र प्रवृत्तिका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरिने बताएका हुन्। आफूहरूले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रूपमा प्रयोग गरेकाले एकता दिगो बन्‍न नसकेको नेता पुनको भनाइ थियो।

‘केपी ओलीले समाजवादका लागि, कम्युनिस्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्‍ने घटानक्रमहरूले पुष्टि गरेको छ,’ उनले भने, ‘ढिलो चाँडो फेरि कम्युनिस्ट पार्टीहरू एकतामा जानुपर्छ। कम्युनिस्ट पार्टीको एकता आवश्यक छ।’

पुनले अब एकता गर्दा विचार र प्रवृत्तिगत रूपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट गरे। उनले माओवादीले सबै धारका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए।

‘एकता हिजो पनि जरूरी थियो, आज पनि जरूरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ,’ उनले भने, ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताको प्रयास गर्छ। हामी एकताको झण्डा उठाउँछौं।’

यद्यपि, तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो। पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना, सहिद तथा बेपत्ता परिवारलाई खोजीखोजी एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने जनायो।

‘अब हामी हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो। अहिले १६ लाखमा झरेको छ। बीचमा हाम्रो गल्ती भयो, असल नियतले गठबन्धन गरियो। आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुने रहेछ भनेर हामी गाउँ(गाउँ जान्छौं। पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना, घाइते, अपांग, सहिद बेपत्ता परिवार खोज्छौं,’ पुनले भने।

भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादीको अजेण्डामै अघि बढेकाले आफूहरू कमजोर नभएको दाबी गरे। विगत १५-२० वर्षदेखि मुलुकको राजनीति माओवादी आन्दोलन वरिपरि घुमेको र अहिले पनि माओवादीका एजेडा मुलुकको अजेण्डाका रूपमा स्थापित भएको उनले चर्चा गरे। भोटकै राजनीतिमा पनि कमजोर नरहेको उनको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here