कम्युनिष्ट पार्टीहरुमा किन जन्मदैनन् राजकुमारहरु ?

11

 –चन्द्रप्रकाश बानियाँ

संसदको पुनस्थापना प्रधानमन्त्रीको ओलीको ठूलो नैतिक पराजय थियो । त्यसपछि लगत्तै उनको राजीनामा आउँछ भन्ने अनुमान सबैले गरेका थिए । उनले घटनालाई त्यसरी लिएनन् । निर्लज्जतापूर्वक सत्तामा टाँसिन रुचाए । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो परिस्थिति बनेको छ र समाजमा ओलीले सत्ता छोड्न किन चाहेनन् भन्ने प्रश्न उठ्ने गरेको छ । त्यही सार्वजनिक प्रश्नको जवाफमा वरिष्ठ पत्रकार किशोर नेपालले टुइटरमार्फत ठोरीमा राममन्दिर बनाइदिने गतिलो उत्तराधिकारी नपाएकोले ओलीले सत्ता नछोडेका हुन भनेर गजबको जवाफ दिएका छन् । नेपालजीले ठट्टा गरेका होलान् भनेर समाजले बुझेको छ । किनकी योग्य उत्तराधिकारीको अभाव महसूस गरेर ओली सत्तासँग सर्वाङ्ग नाङ्गो हुनेगरी टाँसिएका हुनन् भनेर कसले पत्याउने ? हुन त ओलीको चरित्र नैतिकानैतिकको ख्याल गर्नेखालको होइन ।  लगौटी खोलेर  हिड्न लाज नमान्ने मान्छेलाई शिरबार टोपी खस्यो भन्ने चिन्ता हुदैन ।

ओलीका तर्क सुन्दा उनी लाजशरम छोप्ने सारा गाउनहरु मिल्काएर नाङ्गै डुक्रँर्दै हिंडेको देखिन्छ । मानिसमा लाज नभएपछि नैतिकताको प्रश्नले छुने कुरै भएन । त्यसैले बागमतीको बगरको सिनोझै डुङडुङती गनाइसक्दा पनि आरामसँग गद्दीमा विराजमान छन् । उनको गद्दीबाट निस्रित दुर्गन्धले देशको राजनीतिक वातावरणमा कति दुष्प्रभाव पारिरहेको छ भन्ने कुराको चिन्ता उनलाई छैन । नीतिहिनताको दुर्गन्धी पोखरीमा चुर्लुम्म डुबेका ओलीमहाराजले लोकलाज, नैतिकता, परम्परा, राजनीतिक अभ्यासजस्ता कुराहरु देख्दैनन्, सुन्दैनन्, पछ्याउनुपर्ने, अनुशरण गर्नुपर्ने आवश्यकता देख्दैनन् । जतिञ्ज्याल सत्तामा रहनेछन् उनको आरचरण र व्यवहार त्यस्तै रहनेछ । तर साँचो कुरा के हो भने ओलीले सत्ता सम्हाल्न योग्य उत्तराधिकारी नापएर सत्ता नछोडेका भने होइनन् । । राम मन्दिरको गफ त उनका लागी चुच्चे रेलको कहानी जस्तै हो । जसरी चुच्चे रेल उनको जीवनकालमा नेपाल आइपुग्दैन भन्ने दिव्यज्ञान प्राप्त भएपछि पनि आफू गजडी नसामा बर्बराएछु भन्ने स्व्ीकारोक्तिको अनुूभूति देखिदैन त्यसैगरी ठोरीमा राममन्दिर बन्ने कुराले पनि उनका लागि कुनै अर्थ राख्दैन । कुन सुर र सनकमा बोले कुन्नी, बोलको कुरा पूरा गर्नुपर्छ भन्ने कर्तव्यचेतको उनका नितान्त अभाव छ ।

जति नै वदनाम भए पनि सत्ताबाट अलग हुनै नसक्ने रोग ओली एकजनामा मात्रै छ भन्न भने मिल्दैन । नेपालका वाममन्थी नेताहरुको जीवनचरित्र नियाल्ने र तुलना गर्ने हो भने  ओली मात्र अपवाद हुन भन्न मिल्दैन । अरुहरु पनि उनीभन्दा राइरत्ति कमवेसी देखिदैनन् । ओलीले अड्डी लिएको त बरु राज्यसत्तामा हो । अरु नेताहरुले त पार्टीसत्तामा पनि उत्तिकै मोह राखेको देखिन्छ । क. मोहनविक्रम सिंह ओछ्यान छोड्न नसक्ने उमेरमा छन् तर पार्टीसत्ता मरिगए छोड्न चाहँदैनन् । हुन त उनले जति उत्तराधिकारी कसैले जन्माएन होला । विडम्वना कस्तो रह्यो भने कसैमा आफ्नो उत्तराधिकार थाम्नसकने सामथ्र्य उनले देखेनन् । त्यसैले होला सबैले उनलाई छोडे । पीठ फर्काएर हिँडे । कुन ममताले हो कुन्नी, एकजना केसीजी उनको साथमा छन् । साँच्चै अब मोहनविक्रमसिंहको गद्दी सम्हाल्ने राजकुमार उनको साथमा छैन । सिंहको अवसानसँगै पार्टी पनि आर्यघाटमा पुग्नेछ । जति बछली चल्ला कोरले पनि उनको गोठ रित्तोको रित्तै रह्यो । धन्न माकुरालेझै उनको ज्यानसम्म खाएका छैनन् । ओछायानबाटै भए पनि पार्टी हाँक्दैछन् । खोक्न पनि गाह्रो पर्ने उमेरमा पार्टी हाक्नु उनको रहर अवश्य होइन होला । योग्य राजकुमार नपाएरै मोहन विाक्रमसिंहले पार्टी मुखियाको ताजको गरुङ्गो भारी बिसाउने दरिलो काँध पाएका छैनन् । सकिनसकि आफै बोक्न अभिशप्त छन् ।

अर्का धुरन्धर माक्र्सवादी पण्डित वैद्यबाको हालत पनि उस्तै छ । एकपटक भावावेशमा आएर पार्टीको मुखियाली त्यागेका वैद्य जीन्दगीभर पछुताउन विवश बने । एकपटक हातपारेपछि प्रचण्डले उनलाई फेरि सिंहासनतिर आँखा लगाउने अवसरै दिएनन् । प्रचण्डलाई बूढो हड्डीको तागत देखाइदिन्छु भनेर नयाँ पार्टी खोलेका वैद्यबालाई उत्तराधिकार सम्हाल्छन् भन्ने आशा गर्न सकिने राजकुमारहरु बादल र विप्लवले पनि छोडेर हिँडिदिए । अब उनको पार्टी एउट गजबको बृद्ध क्लवजस्तो बनेको छ । पार्टी विसर्जन गर्नु कि चलाउनु भन्ने दोधारमा उनी होलान् जस्तो लाग्छ । आफ्नो शेषपछि पार्टी पनि आफूसँगै सती जानेछ भन्ने दिव्य ज्ञान उनलाई अवश्य प्राप्त भैसकेको होला । अब पार्टी अस्तित्व अक्षुण राख्ने शक्ति सामथ्र्यवाला उत्तराधिकारी जन्मने सम्भावना छैन । चौतारीमा फाल्तु गफ गरेर दिन काट्ने गाउँका बूढाहरुको जस्तो जमघट छ उनको पार्टीमा ! जमघट पो केलाई भन्नु ?  शब्दको अपमान गर्नुजस्तो हुनेछ । एकाध दर्जन पाका बुूढाहरुको उपस्थितिलाई जमघट भन्ने नाम दिनु अलि बढतै हुनेछ ।

नेता जन्मदै नजन्मने पार्टी भनेर रोहितको नेमकिपालाई भनिदिँदा फरक पर्दैन । जमानामा निकै विस्तारित भएको पार्टी खुम्चिँदा खुम्चिदै झक्तपुरमा सीमित भयो । सिङ्गो भक्तपुरबाट खिइइदै गएर भक्तपुर नगरमा खुम्चियो । त्यो पनि अब त संस्दीय निर्वाचनको एउटा क्षेत्रमा संकुचित भएको छ । त्यो पनि नारायणमानको जीवन छउन्ज्याल होला । उनको शेषपछि पार्टीको अस्तित्व बँच्ने सम्भावना क्षीण भैसक्यो । उनको समस्या पनि उत्तराधिकारी जन्माउन नसक्नुु नै हो । कम्युनिष्टहरुले कार्यकर्ता त जति पनि उत्पादन गर्न सक्ने तर नेतृत्व सम्हालने शक्ति सामथ्र्य भएको राजकुमार जन्माउन नसक्ने नियति भोग्दै आएका छन् । माहुरीजस्ता साना जीवहरुले रानी जन्माउँछन् तर कम्युनिष्टहरुले राजकुमार जन्माउन नसक्ने कारण के रहेछ कुन्नी ?

कुनै जमानामा रायमाझीको पार्टी थियो रे ! त्यो विलीन भयो, गधाको सिंङझै विलुप्त भयो, हरायो । पुष्पलालको पार्टी मासियो । तुलसीलाल, मनमोहन, विश्वकर्माहरुका उत्तराधिकारीनै जन्मिएनन् । तीमध्येका कोही अरु कसैको पार्टीमा ओत लाग्न पुगे, कसैले आफैसँग पार्टीको सर्वस्व लिएर गए । प्रचण्डको नियति पनि त्यस्तै हुने सम्भावना प्रबल देखिन्छ । उनीसँग रुष्ट भएर निस्कनेहरुको संख्या निरन्तर बढदै गएको छ । सिंगो वाम आन्दोलनको साझा रोगबाट ओली एकजना कसरी अछुतो रहन सकुन् त विचरा ? उनले पूर्वजहरुको परम्परा उल्लङ्घन कसरी गरुन त ? आफू बाँचुन्ज्याल कसैलाई गद्दीको नजिक आउन दिने कुरो भएन । त्यसो गर्न मिल्दैमिलेन । कुर्चीमा आँखा लगाउनेहरुलाई साम, दाम, दण्ड, भेदको कूटनीति प्रयोग गरेर सिध्याउनै प¥यो । गलहत्याउनै प¥यो । आफ्नो वरिपरि फोहरमा भन्भनाउने झिङ्गाजस्ता विचार न खुवीको टहलुवाहरको जमात बटुल्नु प¥यो । तिनले भविष्यमा उत्तराधिकार सम्हाल्न सक्ने कुरै भएन । त्यसै निर्धक्क भन्न सकिने कुरा के रहेको छ भने जतिबेला जीवनले अवकास लिने समय आउनेछ त्यतिबेला उनको हालत पनि पूर्वजहरुको जस्तै हुनेछ । हात्तीपार्टी भुसुनोमा परिणत हुनेछ ।

जीवनभर सत्ताबाट विरत नहुने परम्पराको उदाहरणका लागि लेनीन, स्तालीन, माओ, किम, क्यास्त्रोहरुतिर औलो तेर्साउँदा हुने भो तर नेपालका कम्युनिष्ट अग्रजहरुले अन्यत्रबाट उदाहरण लिएका हुन् भन्न मिल्दैन । तिनले आफ्नै समाज र परिवेशबाट सिको गरेका हुन् । अर्थात सामन्तवादी समाजको तल्लो खुडकिलोका मुखिया, जिम्मुवाल, पटवारी, अमालीहरुदेखि टुप्पोका राजामहाराजाहरुले बाँचुन्ज्याल सत्ता नछोडेका उदाहरणलाई कम्युनिष्ट नेताहरुले उदाहरण र आदर्श मानेका हुन् । एकपटक संगठनको मुखियाली प्राप्त गरेपछि  ज्यान जाला छोड्ने रुचि देखाउँदैनन् । सर्लक्क सत्ता छोडेर सन्यास लिएको आदर्श उदाहरण विगतदेखि आगतसम्म कतै दृष्टिगोचर हुने सम्भावना छैन । मानिसले सिक्ने इतिहासबाट नै त हो । हाम्रो इतिहास, हाम्रो परम्परा वंशानुगत उत्तराधिकारको रहेको छ । बाबु मरे छोरो मुखिया बन्ने सामाजिक परम्पराको अपवाद नेताहरु कसरी बन्न सक्छन र ?   –  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here