पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमा हरायाे

56

काठमाडाैं । १९ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै थ्री स्टार क्लब बाहिरिएको छ । पोखरा रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबार अन्तिम क्वार्टरफाइनलमा थ्री स्टार नेपाल पुलिस क्लबसँग ४–० ले पराजित भएको हो । बागमती गोल्डकप उपाधि उचालेर प्रतिस्पर्धामा सहभागी हुन आएको थ्री स्टारले पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

थ्री स्टारका खेलाडी थकित देखिन्थे । पुलिसले थ्री स्टारको पोस्टमा पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २९औँ मिनेटमा बुद्धबल तामाङले तेज तामाङको पासमा पुलिसलाई १–० को अग्रता दिलाएका थिए । खेलको ६८औँ मिनेटमा खेलका म्यान अफ दी म्याच तेजले पुलिसको अग्रता २–० पुर्‍याएको थियो । निरकुमार राईकोे ब्याक पासमा उनले गोल गरेका हुन् ।

खेलको ७३औँ मिनेटमा बुद्धबलले व्यक्तिगत दोस्रो गोल थप्दा पुलिस ३–० ले अघि रह्यो । खेलको ८६औँ मिनेटमा सौजन्य राईले पुलिसलाई ४–० को सानदार जित दिलाए । थ्री स्टारले खेलको अन्तिमसम्म गोल गर्ने प्रयास जारी नै राखेको थियो ।

पुलिसले अब सेमिफाइनलमा २६ चैतमा अफ्रिकन रुट एसोसिएसनसँग भिड्ने छ । २८ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । बुधबार पहिलो सेमिफाइनलमा एपिएफ क्लबले संकटाको सामना गर्ने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here