वैशाख सात गतेदेखि कोरोना खोपको दोस्रो डोज लगाइने

124
काठमाडौं/पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ । 

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइने मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार यो अभियान देशभर चलाइनेछ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ । ‘लुम्बिनी र प्रदेश १ का केही स्थानमा खोपको दोस्रो डोज दिइसकिएको छ, अन्यत्र भने वैशाख ७ देखि सुरु हुनेछ,’ उनले भने, ‘हामीसँग उक्त समूहलाई दिन पुग्ने खोप मौज्दात छ ।’

सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here