बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जनाए।
बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जनाए।