चलचित्र क्षेत्रलाई चलायमान बनाउने सोचमा रहेकाे छ सरकार : मन्त्री ज्ञवाली

69

काठमाडौं । गत वर्ष कोरोनाका कारण देशका विभिन्न क्षेत्र प्रभावित भए । तर, लकडाउनपछि प्रायः सबै क्षेत्र तंग्रिए, फिल्म क्षेत्रबाहेक । कोरोनाका कारण ९ महिना बन्द भएर गत पुष १० गतेबाट खुलेका सिनेमा हल सरकारले पुनः  बन्द गरे पश्चात हल व्यवसायीको करोडौंको लगानी जोखिममा परेको छ । त्यस्तै, निर्माण भएको चलचित्र  प्रदर्शन गर्न नपाएकाेले निर्माताहरु पनि ठूलो क्षति बेहाेर्नु परेकाे थियाे ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित यस क्षेत्रलाई सरकारबाट कुनै खालको सहयोग प्राप्त भएको छैन । सरकारले फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको  चलचित्रकर्मीको गुनासो छ । तर, कलाचित्र क्षेत्रलाई कोरोनाले पारेको असरबारे सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । अहिले चलचित्र क्षेत्रले के भोगिरहेको छ भन्नेबारे सरकारलाई अवगत रहेको उनले जनाए ।

शुक्रवारबाट काठमाडौंमा सुरु भएको नवौं ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’ को उद्घाटन गर्दै उनले भने- ‘निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको बारेमा सरकार जानकार छ । त्यसको निम्ति हामीले विभिन्न ढंगले प्रयासहरु पनि गरिरहेका छौँ । यो क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर सोचिरहेका छौँ,’ उनले भने ।

फिल्मले राजनीतिक सीमाभन्दा माथि उठेर मानवीय भावना, राष्ट्र र जनताका पीडा र आशासँगै सफलता र विफलतालाई सजिलै पस्कन सक्ने भएकाले फेस्टिभलहरुले अर्को समुदाय, समाज र देशको संस्कृतिलाई चिन्न एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनले जनाए ।  नेपाली फिल्मलाई फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सरकारले छलफल पनि गर्ने उनको  धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here