काठमाडौं । कोरोना संक्रमितको बिरामी ह्वात्तै बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।
साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले जनाए ।
अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने जनाए । उनले काठमाडौँमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने तर माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए । त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले जनाएका छन् ।
उनले केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने पनि बताए । काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए ।