मदन भण्डारीको दुर्लभ अन्तर्वार्ता

143

विश्वप्रख्यात म्यागेजिन ‘न्युजविक’ ले मे २७, १९९१ अर्थात विक्रम संवतको जेठ १३, २०४८ मा नेपाली प्रखर कमयुनिष्ट नेता मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित गरेको थियो । ‘नेपाल, जहाँ कार्ल माक्स जीवित छन्’ शीर्षकमा प्रकाशित उक्त अन्तर्वार्ताले मदनको राजनीतिक उचाइ झन् माथि पुर्‍याएको थियो। न्युजविककी मिचेल लितभिनले लिएको मदन भण्डारीको दुर्लभ अन्तर्वार्ता यस्तो थियो :

अरू मुलुकमा कम्युनिस्ट पराजय भोगिरेका बेला तपाईंले जितिन्छ भनेर कसरी ठान्नुभयो ?

– ‘कम्युनिज्मको मुख्य लक्ष्य भनेको समाजबाट शोषण, भ्रष्टाचार र अन्यायको निर्मूलीकरण गर्नु हो। विगतमा कहीँकतै नीति कार्यान्वयनका क्रममा केही गल्ती÷कमजोरी भएका छन् भने कम्युनिज्मकै लक्ष्य विफल भयो भन्न मिल्दैन। हाम्रो पार्टीका सबालमा, हामीले प्रजातन्त्र स्थापनाको निर्णय लिएका छौं र जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्नेछौं।’

मैले देखिरहेको छु, तपाईंसँग उत्तर कोरियाली नेता किम इल सङका पुस्तक छन्। किमलाई कुन रूपमा लिनुहुन्छ ?

– ‘किम इल सङ सफल कम्युनिस्ट नेता हुन्, जसले आफ्नो देशमा क्रान्ति एवं विकासमा योगदान दिएका छन्। म कुनै पनि विषयलाई लिएर उनको प्रशंसा गर्दिनँ। र, उनको विचारधाराको अनुकरण गर्नुपर्छ भन्ने ठान्दिनँ पनि।

माओका लेखनबारे नि ?

– हाम्रो देशका गाउँघरतिरका केही युवा चिनियाँ क्रान्तिबारे अध्ययन गरिरहेका छन् र यसबाट केही सिकिरहेका छन्।

नेपालको कम्युनिस्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाजस्ता देशका कम्युनिस्टसँग कसरी तुलना गर्न सकिन्छ ?

– ती सबैले नयाँ समाज निर्माण मुक्ति, समानता र न्यायको बाटो अवलम्बन गरेका छन्। ती मुलुकमा कम्युनिस्ट आन्दोलनको विस्तार फरक ढंगले भएको छ। चीन सशस्त्र युद्धबाट मुक्त भएको हो। तर, नेपालमा हामी शान्तिपूर्ण आन्दोलनमा छौं। चीन र उत्तर कोरिया विदेशी प्रभुत्व एवं हस्तक्षेप बेहोरिरहेका छन्। नेपालमा हामीले विदेशी हस्तक्षेप, साम्राज्यवाद र क्षेत्रीय प्रभुत्ववादविरुद्ध आवाज बुलन्द बनाएका छौं।

केही गैरकम्युनिस्ट तपाईंले चीन र भारतीय कम्युनिस्ट पार्टीबाट पाइरहनुभएको छ पनि भन्छन्।

– यो झुट हो। हामीले कुनै आर्थिक वा भौतिक सहयोगका लागि न कसैलाई भनेका छौं न त लिएका नै छौं– चाहे त्यो चिनियाँ, कोरियाली वा भारतीय कम्युनिस्ट पार्टी किन नहोस्। यस्ता आक्षेप हाम्रा दुस्मनले लगाएका हुन्, जसले विदेशी मुलुकबाट सहायता लिइरहेका छन्।

जातीय प्रणाली र धार्मिक स्वतन्त्रताका सबालमा तपाईंको अवधारणा के हो ?

–विभिन्न जातबीच रहेको सामाजिक भेदभाव हामी अन्त्य गर्न चाहन्छौं। तर, विभिन्न जाति–जनजातिका संस्कृति, परम्परा र धर्मको सम्मान गर्छौं। थोरै ज्येष्ठ नागरिकहरूमा जातलाई लिएर कडा छाप छ। तिनीहरूमाथि हामी बल प्रयोग गर्न चाहन्नौं। उनीहरूको अन्तस्करणमै त्यो छ भने हामी पहिला शिक्षा दिने प्रयास गर्छौं।

कथित तल्लो जातका नागरिकलाई हेप्ने कसैलाई अधिकार छैन र कथित उपल्लो जात भन्दैमा कसैलाई मान–सम्मान दिन मिल्दैन। हामी धर्मनिरपेक्ष राज्य चाहन्छौं। हरेकले आफ्नो धर्म अंगीकार गर्न सक्नेछ। राज्य हरेक धर्ममा तटस्थ रहनेछ।

देशका जमिनदारप्रति तपाईंको व्यवहार कस्तो हुनेछ ?

– हामी जमिनदारबाट जमिन फिर्ता लिएर जोताहा (किसान) लाई दिनेछौं। हामी यो काम अत्यन्त शान्तिपूर्वक गर्नेछौं र पैसा नतिरी कसैको जग्गा लिने छैनौं। जमिनदारले यसमा साथ नदिएको खण्डमा भने शक्ति प्रयोग गर्न बाध्य हुनेछौं।

जमिनदारलाई तिर्ने पैसा कहाँबाट आउँछ ?

– जग्गाको स्वामित्व लिन चाहने किसानबाट संकलन गर्छौं। (आवश्यक परेको खण्डमा) सरकारी कोषबाट समेत खर्च गरिनेछ वा सरकारी स्वामित्वका उद्योगमा सेयर जारी गरेर जुटाइनेछ। आर्थिक संकट आउन नदिन किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाइनेछ।

तपाईं सामूहिकीकरणको पैरवी गर्नुहुन्छ ?

– यो अवधारणा कार्यान्वयन गर्न हामी शक्ति प्रयोग गर्ने छैनौं। तर, जनसेवाका लागि सहकारीको ढाँचालाई प्रोत्साहन गरिनेछ।

कम्युनिस्टले बहुमत ल्यायो भने नेपालमा विदेशी सहायता कटिनेमा तपाईंलाई चिन्ता छ ?

– कम्युनिस्ट शक्तिमा आउनासाथ विदेशी सहायता रोकिनुपर्ने कुनै कारणै छैन। तर, हाम्रो देशको स्वतन्त्रता, स्वाभिमान, गरिमा र सम्प्रभुता बन्दकी राख्ने सर्तमा हामी कुनै सहायता माग्दैनौं। विदेशी सहयोगभन्दा यी धेरै महत्त्वपूर्ण छन्।

भारतलाई हेर्ने विदेश नीतिमा कस्तो परिवर्तन आउनेछ ?

– विगतमा भारतसँग केही असमान र हेपाहा सन्धिहरू भएका छन्। हामी सन्धिहरूको समीक्षा र नवीकरणको पहल गर्नेछौं। हामीलाई हेपिएका र असमान रहेका प्रावधानहरू हटाउन चाहन्छौं। हामीले चाहने एउटा कुरा के हो भने– चीन र भारतसँग धेरै राम्रो सम्बन्ध स्थापित होस्। हामी न चीनतिर ढल्किनेछौं न त भारततिर।

जब नेपालका जनता राजाविरुद्ध आन्दोलनरत थिए, अरू धेरै देशका बासिन्दा तिनका कम्युनिस्ट शासकविरुद्ध उर्लिएका थिए। नेपालमा त्यस्तै भयो भने तपाईं के गर्नुहुन्छ ?

– जब हामी शक्तिमा हुनेछौं, यस्ता प्रदर्शन हुने नै छैनन्। तर, यदाकदा समाजमा गैरसामाजिक तत्त्वले व्यवधान खडा गर्ने जमर्को गर्न सक्छन्। त्यस किसिमका व्यक्तिले बाधा उत्पन्न गरे हामी राज्य शक्ति प्रयोग गर्दैनौं, जनता परिचालन गर्छौं। यदि, हामीविरुद्ध प्रदर्शन गरे भने जनतालाई हाम्रो पक्षमा प्रदर्शन गर्न भन्नेछौं। हामी त्यसमा पुलिस फोर्स प्रयोग गर्ने छैनौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here