आफ्नै खर्चमा कोरोनाको उपचार गरे सरकारले राहत दिने घोषणा हास्यास्पद

55

-राज्यलक्ष्मी शाक्य

सरकारले कुनै कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरि शुल्क लिनसक्ने जनाएको छ। सरकारको भनाई यस्तो आएको छ कि जस्को भाव बुझ्न पनि स्वयम सरकारलाई कठिन हुने देखिन्छ ।

गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको उपचार खर्च सामान्यको लागि ३५ सय,मध्यमको लागि ७ हजार र गम्भीरको लागि १५ हजार प्रति दिनको हिसावले सरकारले बेहोर्ने जनाएको छ।

  यस्तो राहत प्याकेज सार्वजनिक गर्नु भन्दा गर्दै नगरेको भए ठीक हुन्थ्यो भन्दै सरकारको बिरोध सुरु भएको छ । कमसेकम रबि लामिछानेले निजीस्तरमा सुरु गरेकै जत्ति सेवा सरकारले गर्न सकेको भए सरकारको प्रशंशा त पढ्न र सुन्न पाईन्थ्यो १

यद्यपि, आफ्नै खर्चमा उपचार गर्न चाहे उपचारमा तोकिएको दररेटभन्दा अधिकतम ५० प्रतिशत थप शुल्क बढी लिन पाइने भनिएको छ। यो पनि सरकार समर्थकहरुलाई पोष्ने बाहेक अरु केही हुनेवाला छैन ।

सबै सरकारी अस्पतालहरुमा तथा मन्त्रालयले सार्वजनिक गरेका सुची अनुसार सेवा सम्झौता गरेका निजि अस्पतालहरुमा निः शुल्क सेवा प्रदान हुने मन्त्रालयले जनाएको छ।

उपचारको क्रममा सरकारले तोकेको शुल्कभन्दा बढी लिएको पाइएमा स्थानीय निकाय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायहरु, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमाणसहित उजुरी दिन अनुरोध गरिएको छ। तर आम जनताले उपचार बापतमा सरकारको सुबिधामा पहुँच हुनै पनि सम्भव छैन ।

यसैबीच टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुगेको जनाईएको छ। कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थिए भने अहिले २२ वटा भेन्टिलेटर छन्। तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन्। यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन्।

अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ। तर, अहिले काठमाडौ बाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ। यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ।

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैको ज्यान गुमायौं। त्यो, महामारीको एउटा रुप नै हो। यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं

खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ। कोभिड निमोनिया भएको ६(७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ। त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन्। यो समय सबैले ध्यान दिनु जरुरी छ।तर आर्थिक रुपमा बिपन्नहरुले कसरी गर्ने ?

बिरामी बेलैमा अस्पताल पुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ। तर अभावका बीच घरै बसेर अन्तिम अवस्थामा अस्पताल पुग्दा ढिला हुन सक्छ।

सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ। तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न। दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्छ।त्यतिबेला सर्वसाधारण जनता मरेको तथ्यांक राखिने पनि छैन ! -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here