संविधानले नै खारेज गरेपनि एसईई निरन्तरता

58

काठमाडौं ।  माध्यामिक शिक्षा परीक्षा एसईई संविधानले नै खारेज गरेपनि सरकारले निरन्तरतामा सघाइ रहेको शिक्षाविज्ञ तथा सरोकारवालाहरुले जनाएका छन् । अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्न ढिलाई गर्न नहुने उनीहरुको धारणा छ ।

शिक्षा मन्त्रालय र मन्त्रिपरिषदले केही कर्मचारीलाई जागिर खुवाउन र विद्यार्थीबाट रकम उठाउन मात्रै एसईई बाध्यकारी रुपमा सञ्चालन गरिरहेको उनीहरुको आरोप छ । साथै उनीहरुले एसईईलाई सामान्य तबरबाट सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।

शिक्षा पत्रकार समुहले सोमबार आयोजना गरेको एसईई अब के गर्ने ? विषयक शिक्षाबारको दोस्रो श्रृंखलाको भर्चुअल अन्तरक्रियामा बोल्दै शिक्षाविद डा. विद्यानाथ कोइरालाले एसईई खारेज गर्न शिक्षा मन्त्रालयले आनाकानी गरिरहेको बताए । अध्यादेश ल्याएर तत्कालै एसईई खारेज गर्नुपर्नेमा उनको जोड छ ।

अध्यादेश जारी गरेर सबैको सहमतिमा एसईईलाई स्कूलमार्फत नै गर्न दिन डा. कोइरालाले सुझाव दिए । अबको शिक्षा ऐनमा एसईई परिक्षा खारेज गर्नेबारे व्यवस्था लबिङ गर्न जरुरी भएको उनको धारणा छ ।

यस्तै अर्का शिक्षाविद् प्रेम फ्याकले एसईईको आवश्यकता नै नभएकाले यसलाई खारेज गर्नुपर्नेमा मन्त्रालयले ढिलाई गरिरहेको जनाए। उनले परीक्षा भनेको खेलाँची गर्ने कुरा नभएकाले यसको जिम्मा विद्यालयलाई दिनु पर्ने धारणा राखेका छन् ।

‘परीक्षाले गुणस्तर जाँच्न सक्छ । तर गुस्तरीयता कायम गर्दैन । विद्यार्थीको सिकाईबारे शिक्षक जानकार हुनेभएकाले यसमा सरकारले जान्ने कुरा होइन । अब कक्षाकोठाको सिकाइ कस्तो छ, यसका आधारमा मूल्याङ्कन गर्नुपर्छ । विद्यार्थीको भाषिक, गणितीय र सामाजिक सिकाइको अवस्थाको आधारमा मूल्याङ्कन हुन जरुरी छ’ फ्याकको धारणा छ ।

बुटवलको कालिका माविका पूर्व प्रधानअध्यापक घनश्याम पाठकले विगतदेखी एसईई खारेज हुनुपर्छ भन्ने मान्यता राखे पनि सरकारी तहको निर्देशन अनुसार चल्न बाध्य भएको बताए । यो परिक्षाबाट विद्यार्थीलाई तनावको स्थिति सिर्जना गर्नेमा अभिभावक र सबै सरोकारवालाले वातावरण तयार पारेको भन्दै पूर्वप्रअ पाठकले एसईईमा अंक, ग्रेड लगायतबारे चर्चा हुँदा विद्यार्थीमा थप दबाब परेकाले सृजनात्मकतामा ह्रास आएको अनुभव सुनाएका छन् ।

यसैगरी, रत्नराज्य लक्ष्मी मावि, काठमाडौंका पूर्व प्रधानाध्यापक डा. गिता खरेल शिवाकोटीले एसईईलाई बारम्बार फलामेढोका भनेर अभिभावक तथा विद्यार्थीलाई त्रासमा पार्न नहुने जनाए ।
कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले परम्परागत एसईई र गतवर्षको एसईईका विद्यार्थीको अहिलेको अवस्थाको अध्ययन गर्नुपर्ने जनाए । अहिले विद्यालयले परीक्षाको तयारी गरिरहेको बताउँदै उहाँले सामुदायिक विद्यालयले मुल्यांकनपछिको नतिजा दिँदा केही मापदण्डको ख्याल गरेको तर नीजि विद्यालयको मनोपोली समेत भएको टिप्पणी गरेका छन्  ।

कोभिड १९ का कारण यस वर्षको एसईई परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई सरकारले दिएको निर्देशन अनुसार वोर्डले कार्यविधि बनाइसकेको छ । शिक्षक, शिक्षाविद्, पत्रकार लगायत झण्डै ४५ जना शैक्षिक सरोकारवाला सहभागि भएको भर्चुअल कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार समुहका कार्यसमिती सदस्य विष्णु विश्वकर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here