सरकारबाट संसदीय प्रणालीमाथि आक्रमण हुँदा राजनीतिक उपलब्धि संकटमा

104

काठमाडाैं । सभामुख अग्नि सापकोटाले बारबार संसद् विघटन गरी सरकारले संसदीय प्रणालीमाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्। बुधबार संसद् दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले संसदमाथि सरकारबाट पटक–पटक आक्रमण हुँदा लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा परेको बताएका हुन्।

‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ,’ सभामुख सापकोटाले भनेका छन्।

संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई बलियो पार्न सके मात्र संघीय शासन प्रणाली कार्यान्वयनमा बल पुग्ने सभामुख सापकोटाको भनाइ छ ।

‘यस वर्ष संसद् दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौँ । कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधिसभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिँदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौँ’, उनले विज्ञप्तिमा चिन्ता प्रकट गरेका छन् ।

संसद् सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैलाई संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन उनले आव्हान पनि गरे।

वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद दिवसको रुपमा मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here