घरेलु मैदानमा नाओमीकाे स्वर्ण जित्ने चाहना

165

काठमाडौं । जापानकी टेनिस स्टार नाओमी ओसाका दुई महिनापछि मैदान फर्कदैछिन् । त्यो पनि आफ्नै भूमिमा भइरहेको ओलम्पिकबाट । ओसाकाले गत मे महिनादेखि यता कुनै पनि खेल खेलेकी छैनन् । उनले फ्रेन्च ओपनबीचमै छाडेकी थिइन् । ‘डिप्रेसन, मेन्टल हेल्थ’ लगायतका समस्याका कारण आफूलाई केही समयको विश्राम चाहिएको उनको भनाइ थियो ।

टोकियोमा ओलम्पिक सुरु हुँदै गर्दा ओसाकालाई महिला एकलतर्फको स्वर्ण दावेदार मानिएको छ । चार ग्रान्डस्लाम विजेतालाई सम्भावित च्याम्पियनका रुपमा हेरिनुका कारण छन् । एक त उनले सबै ग्रान्डस्लाम ‘हार्ड कोर्ट’मा जितेकी हुन् । ओलम्पिकमा टेनिसका खेलहरू उही ‘हार्ड कोर्ट’मा खेलाइनेछ । अनि उनलाई समर्थन गर्न घरेलु समर्थकहरू पनि हुनेछन् ।

ओलम्पिकको टेनिसतर्फक कुल ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि त्यस सूचीमा कयौँ महिला स्टार छैनन् । जस्तै, सेरेना विलियम्स, भिक्टोरिया आजारेन्का, एन्जेलिक केरबेर, सिमोना हालेप आदि । अनि पुरुषतर्फ राफाएल नाडल, रोजर फेडेरर, स्टानिसलास वारिन्का डोमोनिक थिएम लगायतका खेलाडी पनि टोकियोमा हुने छैनन् । यस्तोमा ओलम्पिकमा भाग लिन पुगेका थोरै स्टारमध्ये नाओमी पनि एक हुन् ।

पहिलो पटक ओलम्पिकमा सहभागी हुँदै गरेकी नाओमीले पहिलो खेलमा चीनकी झेङ साइसाइको सामना गर्नेछिन् । विश्व वरियतामा दोस्रो स्थानमा रहेकी नाओमी र ५२ औँ स्थानमा रहेकी झाङबीचको खेल आइतबार हुनेछ । क्वार्टरफाइनलमा नाओमी र इगा स्वाटेकबीच भिडन्त हुने सम्भावना छ । गत वर्षको फ्रेन्च ओपनकी विजेता स्वाटेक आफ्ना पहिलो खेलमा जर्मनीकी मोना बार्थलसँग आमनेसामने हुनेछिन् ।

केही महिनाको विश्रामपछि कोर्ट फर्केकी नाओमी आफू जापानलाई स्वर्ण जिताउन तयार रहेको सन्देश दिएकी छिन् । गत महिना अमेरिकी म्यागजिन टाइमसँग कुरा गर्दै नाओमीले केही समय कोर्टभन्दा बाहिर रहने आफ्नो निर्णय सही भएको पनि बताएकी थिइन् । ‘ओलम्पिक यसै पनि विशेष मन्च हो । त्यसमा पनि जापानी समर्थक अगाडि खेल्न पाउँदा मेरा लागि ओलम्पिक झनै विशेष हुनेछ,’ ओसाकाको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here