तालिबानले विमानस्थलमा आक्रमण गर्न सक्ने

147

 काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् ।

विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ ।

यसअघि बेलायतले पनि यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेको थियो ।

बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ । तालिबान विद्रोहीहरुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

तालिबानबाट असुरक्षित महसुस गर्दै विदेशी नागरिक र अफगान नागरिकहरु त्यहाँबाट सुरक्षित तरिकाले बाहिरिन चाहेका छन् । तालिबानले सबै सीमा नाका बन्द गराएकाले त्यहाँबाट बाहिरिने एकमात्र उपाय भनेको हवाई उडान हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।

हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ । बीबीसीका अनुसार विगत १० दिनको अवधिमा काबुलबाट ८२ हजार मानिसलाई उद्धार गरिसकिएको छ । वितेको २४ घण्टाको अवधिमा अमेरिकी उडानबाट करिब १९ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । अझै पनि हजारौं मानिसहरु काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।

भदौ १५ गतेभित्र काबुल छाड्न चाहनेहरु सबैलाई उद्धार गरिसक्ने योजना अमेरिकाको छ । तालिबानले उनीहरुलाई फर्किन ३१ अगष्टसम्मको समयसीमा दिएको छ । तालिबान विरोधी समूहले अफगानिस्तानमा आक्रमण गर्न सक्ने भन्दै तालिबानले काबुल सहरको सुरक्षा गर्न फतेह फोर्स नामको छुट्टै सुरक्षा दस्ता खटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here