एजेन्सी- उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले सन् २०२२ मा हुने विश्वकप छनोटका खेल गुमाउने भएका छन् ।
आइतबार राति भएको एथ्लेटिको मड्रिड र भिल्लारियलबीचको खेलका क्रममा चोट बोकेपछि स्वारेजले विश्वकपको दक्षिण अमेरिकी छनोट खेलहरू गुमाउने भएका हुन् । ला लिगाअन्तर्गत एथ्लेटिको मड्रिडले भिल्लारियलसँग २–२ गोलको बराबरी खेलेको थियो, जसमा स्वारेजले एक गोलसमेत गरेका थिए । तर खेलका क्रममा उनले घुँडामा चोट बोकेका थिए ।
यससँगै स्वारेज अन्तर्राष्ट्रिय विश्रामका लागि सेप्टेम्बर महिनामा स्वदेश नफर्किने भएका छन् । उनी स्पेनको राजधानीमै बसेर चोटबाट मुक्त हुने प्रयास गर्ने छन् । आगामी सेप्टेम्बरको दोस्रो सातासम्म उनले मैदान फर्किने अपेक्षा गरेका छन् ।
सेप्टेम्बर १२ मा एथ्लेटिकोले स्पान्योलसँग खेल्नेछ । एथ्लेटिकोले आइतबार विज्ञप्ति जारी गरेर स्वारेजको देब्रे खुट्टामा चोट लागेको जनाएको छ । यस्तै, उरुग्वे फुटबल महासङ्घले समते स्वारेज चोटका कारण विश्वकप छनोट खेल्ने टोलीबाट बाहिरिएको जनाएको छ । उरुग्वेले पेरु, बोलिभिया र इक्वाडरसँग छनोट खेल खेल्ने तालिका छ ।


















